तातोपानीले मात्र कोरोना जितिन्न: भाइरोलोजिष्ट सुदीप खड्का

बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेका थिए, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ ।” आइतबार दिउँसोसम्म बागलुङमा सङ्क्रमितको सङ्ख्या २८६ पुगेको छ । तीमध्ये २६१ जना आइसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोनाका कारण एक जनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो । जिल्लाका आइसोलेसन र प्रि–आइसोलेसनको तथ्याङ्कअनुसार निको भएका अधिकांशमा कोरोना सङ्क्रमणको लक्षण नै थिएन । उनीहरु कसैले पनि न त खोपको प्रयोग गरे न औषधि नै । सबैले भन्ने एउटै हो, “ढुक्कले बसेँ, समाचार पढेँ, तातोपानी खाएँ, कोरोना जितेँ ।” यद्यपि आइसोलेसनमा बसेर तातोपानी खाँदैमा वा आत्मबल बढाउँदैमा कोरोना नजितिने विशेषज्ञको धारणा छ । “निको हुन्छ, ९८ प्रतिशतमा ग्यारेन्टीका साथ निको हुन्छ त्यसमा दुईमत रहेन”, अमेरिकामा रहेका जीवाणु वैज्ञानिक (भाइरोलोजिष्ट) सुदीप खड्का भन्छन्, “कोरोनाको न त कुनै औषधि प्रमाणित छ न खोप, तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ ।” उहाँ इबोला भाइरसको सुई पत्ता लगाउने वैज्ञानिकमध्येको एक सदस्य छन् । लक्षण नदेखिएका अधिकांश बिरामी निको हुने भएकाले तातोपानी, आत्मबल र जडीबुटीको भ्रम परेको उनको जिकिर छ । “कोरोना लागे पनि तातोपानीले जितिन्छ भनेर भ्रममा नपरौँ, यो गलत हो”, खड्का भन्छन्, “लक्षण भएका र जोखिममा रहेका बिरामीलाई कठिन हुन सक्छ ।” अरु भाइरसभन्दा कोरोनाकोे फैलावट धेरै भएकाले यो रोगसँग खेलबाड गर्न नहुने उनको तर्क छ । नेपालमा पछिल्लोपटक समुदायमा फैलिएको सङ्क्रमणले थप खतराको सङ्केत गरेको भन्दै इबोलाभन्दा कम मृत्युदर भएको कोरोनाले धेरैको मृत्यु निम्त्याउने उनले बताए । “एक तिहाइ मान्छेलाई यसको लक्षण नै देखिँदैन, जुन खतरनाक हो”, खड्का भन्छन्, “अहिले हामीले सबै निको हुन्छ भनेर हेलचेक्र्याईं गर्दा दुई प्रतिशतमा पर्ने उमेर पुगेको समूहलाई निकै कठिन हुन्छ ।” उनले कोरोनाको औषधि वा खोप तयार भएर तत्काल आउने सम्भावना नरहेको समेत बताए । रासससँगको टेलिफोन संवादमा खड्काले भने, “इबोलाको खोप सबैभन्दा छोटो समयमा बनेको हो, जसका लागि दुई वर्ष लाग्यो ।” कोरोनाका तयार भएका खोप तेस्रो परीक्षणमा रहेको भए पनि त्यसको उपलब्धता अझै कठिन रहेको उनको भनाइ छ । “खोप बने पनि त्यसको उत्पादन सबैलाई पुग्ने गरी बनाउन कति समय लाग्ला ?”, प्रतिप्रश्न गर्दै उनले भने, “त्यसैले हामीले सतर्कता अपनाउनुको विकल्प नसोचौँ ।” विदेशमा जस्तो नेपालमा सङ्क्रमण फैलिँदैन भनेर चलेका हल्लासमेत भ्रम भएको भन्दै उनले आगामी दिन थप खतरनाक भएको सङ्केत गरे । अस्पताल, भेन्टिलेटर र आइसियु लक्षण भएका बिरामी र कोरोनाका कारण कठिन अवस्थामा रहेका बिरामीको लागि तयार राख्नुपर्ने खड्काको सुझाव छ । रासस

सरकारी निर्णय विपरित निदान अस्पतालमा आरडिटी परीक्षण जारी, शुल्क प्रतिव्यक्ति १७८० रुपैयाँ

ललितपुर। सरकारी निर्णय विपरित निजी क्षेत्रका हस्पतालहरुको आरडिटी विधिबाट कोरोना परीक्षणलाई जारी राखेका छन् । आरडिटी विधिबाट कोभिड–१९ रोगको परीक्षण गर्दा त्यसको नतिजा विश्वासिलो नभएको भन्दै सरकारले एन्टिबडिमा आधारित आरडिटी परीक्षणमा रोक लगाएको थियो । तर निजी क्षेत्रका अस्पतालहरुले सर्वसाधारणसँग महँगो शुल्क लिएर सोही विधिबाट कोरोना जाँच गरिरहेका छन् । ललितपुर जिल्लाको पुल्चोकस्थित निदान अस्पतालले कोरोना परीक्षणको नाममा आरडिटी परीक्षण गराउँदै आएको र उपभोक्तासँग प्रतिव्यक्ति १ हजार ७ सय ८० रुपैयाँ शुल्क लिने गरेको पाइएको छ । गत शुक्रबार मात्र होटल भिभान्तामा कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण आरडिटी विधिबाट गरेको पाइएको छ । ग्रुपमा आएका कर्मचारीको गर्दा प्रतिव्यक्ति १ हजार ३ सय ४० लिएको छ । अस्पतालले शुक्रबार नै व्यक्तिगत तवरले चेक जाँच गर्दा १ हजार ७ सय ८० रुपैयाँ लिइको कागजपत्र विकासन्युजले प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले एन्टिबडिमा आधारित आरडिटीबाट कोभिड–१९ जाँच बन्द गरिएको बताए । ‘विरामीको जाँच गर्न आरडिटी विधि प्रयोग गर्न पाइदैन । अनुसन्धानको लागि मात्र प्रयोग गर्न पाउने नियम रहेको छ’ उनले भने । यदि कुनै पनि स्वास्थ्य संस्थाले अहिले पनि कोभिड–१९ पत्ता लगाउनको लागि एन्टिबडिमा आधारित आरडिटी परीक्षण गराइरहेको छ भने त्यसलाई नियम अनुसार कारवाही हुने उनले बताए । तर निधान हस्पिटलका प्रमुख कार्यकारी अधिकृत विपिन प्रधानले सरकारी निर्णयबारे अनविज्ञता व्यक्त गरे । ‘आरडिटी विधिबाट जाँच बन्द गर्ने सरकारको निर्णयबारे हामीले औपचारिक पत्र पाएका छैनौं । सार्वजनिक सूचना आएको भए हाम्रो जानकारीमा छैन’ उनले विकासन्युजसँग भने । कोडिभ १९ शंका लागेको विरामीको ल्याव टेष्टका लागि आवश्यक नमूना पीसीआर गराउनु पर्दा टेकु वा पाटन अस्पताल पठाउने गरेको र विशेष रिक्वष्ट आएको अवस्थामा आरडिटी गराउने गरेको पनि उनले बताए । आरडिटी किट पहिला सरकारले आरडिटी टेष्टलाई मान्यता दिएकोले त्यतिबेला नै किनिएको किटहरुको प्रयोग गरी आरडिटी टेष्ट गरेको तर नयाँ परीक्षण सामाग्री खरिद नगरेको पनि उनले बताए । उनको यो भनाईले आरडिटी परीक्षणमा सरकारले लगाएको बन्देज जानकारी भएको तर पहिले नै किनिएका किटको उपयोगका लागि आरडिटी परिक्षण जारी राखेको प्रष्ट भएको छ । के हो एन्टिबडिमा आधारित आरडिटी परीक्षण ? सरुवा रोग विशेषज्ञ डा अनुपा बास्तोलाको अनुसार शरीरमा कोरोना भाईरसले प्रवेश गरिसकेपछि शरीरले त्यस विरुद्ध लड्ने एन्टिबडि उत्पादन गर्दछ ।  त्यही एन्टिबडि छ कि छैन भनेर पत्ता लगाउने विधिलाई एन्टिबडिमा आधारित आरडिटी परीक्षण भनिन्छ । कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि आईजीएम र आईजीजी हुन् ।  आईजीएम एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो कहिले उत्पादन हुन्छ भन्ने पनि व्यक्ति पिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ । त्यस्तै, आईजीजी एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ । सुरुमा रोग लागि सकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । यस विधिमा धेरै प्रश्न उठेपछि सरकारले केही महिना अघि यस परीक्षणलाई रोक लगाएको छ । यसलाई अनुसन्धानको लागि प्रयोग गर्न पाउने नियम रहेको छ । के हो एन्टिजेन्टमा आधारित आरडिटी परीक्षण ? एन्टिजेन्टमा आधारित आरडिटी परीक्षणले कोरोनाभाईरसको प्रोटिणको कणलाई पत्ता लगाउने गर्दछ । यसलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको लागि मान्यत दिएको छ ।

उपत्यकाका स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा शुरु, कुन रुटमा कति बजे चल्छन् ? (भिडियाेसहित)

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ । कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै पहिलो पंक्तिमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा सुरु गरिएको हो । भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयुक्त बैठकले उपत्यकामा निशेषधाज्ञा जारी गरेसँगै स्वास्थ्यकर्मीलाई अस्पताल जान समस्या परेपछि निःशुल्क बससेवा सुरु गरिएको नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले बताए । सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधा नहोस् भनेर निःशुल्क बससेवा सुरु गरिएको उनले बताए । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरेको हो । सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने नेपाल मेडिकल एशोसियशनका केन्द्रीय सदस्य डा रितेश थापाले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको सिफ्टअनुसार दुई समयमा गाडी सञ्चालन हुने उनले बताए । अत्यावश्यक सेवाका लागि एउटा गाडी २४ घण्टा नै सञ्चालन गर्ने गरि तयारी गरिएको पनि उनले बताए । यी रुटमा चल्नेछन् स्वास्थ्यकर्मीका लागि निःशुल्क बस यी रुटमा चल्नेछन् स्वास्थ्यकर्मीका लागि निःशुल्क बस –बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । Gepostet von Bikashnews.com am Sonntag, 30. August 2020   बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । सेवा नै धर्म हो भन्ने भावना बोेकेको रोटरी क्लबले समेत स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानका लागि सहयोग गरेको रोटरी क्बल अफ काठमाडौै हेल्थ प्रोफेसनल्सका अध्यक्ष कविता रेग्मीले बताए ।