खुकुलो बन्दै लकडाउन, थपिदै कोरोना संक्रमित

काठमाडौंं । अहिले जारी लकडान खुकुलो बनिरहेको अवस्थामा कोरोना संक्रमितको संख्या भने बढेदै गएको छ । आज लकडाउनको ४९ औं दिन भइरहँदा बजारमा लकडाउन भने केही खुकुलो बन्दै गएको छ । आज मात्र कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस देखिएको छ । आजसम्म नेपालमा १ सय २० जनामा कोरोना भाइरस पोजेटिभ देखिसकेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसले पनि देशमा थप जोखिम बढ्दै गएको बुझ्न सकिन्छ । संक्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंमा कोरोनाका बिरामी छैन भनेर लकडाउनलाई खुकुलो बनाइँदै गएको छ । तर, अझै पनि चिकित्स विज्ञहरुले काठमाडौं जोखिममै रहेको बताइ रहेका छन् । सरकारले केही सिमीत सेवाहरु खोल्न निर्देशन दिएपनि धेरै व्यापार व्यवसायका पसलहरु खुला भएका छन् । लकडाउनको सुरुवाती चरणमा लकडाउन केही कडाई भएपनि आजभोलि भने लकडाउनको कुनै महसुस बजारमा हुँदैन । काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा सरकारले लकडाउन खुकुलो गरेको होकि पनि बुझ्न सकिन्छ ।

जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ

दाङ । तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहनुभएका सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा पठाइएकामा आइतबार साँझ रिपोर्ट आएको हो । यादवले शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् । ती शिशुलाई नवजात अतिसघन कक्षमा राखेर उपचार गर्नुपर्ने भएपछि प्रादेशिक अस्पतालले तुलसी बाल अस्पतालमा सिफारिस गरेको थियो । अहिले जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । यादव तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । केही दिनअघि भारत, बलरामपुरस्थित आफ्नो माइतीघरबाट पैदल हिँडेर तुलसीपुर उपमहानगरपालिका—१३ मा रहेको घरमा आएको थाहा पाएपछि स्थानीयवासीले उपमहानगरपालिकालाई खबर गरेका थिए । त्यसलगत्तै उनलाई तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा लगिएको थियो । यादवको यसअघि गरिएको र्यापिड डायग्नोष्टिक टेष्टको रिपोर्ट पनि नेगेटिभ आएको थियो । रासस

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैंकाे प्रयाेगशालामा गरिएकाे परीक्षण अनुसार १० जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमितहरू कपिलबस्तु, यशाेधरा गाँउपालिका- ५  र बुद्धभुमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २४, ३०, ३१, ३४, ३४, बर्षीष पुरुष र एक जना उमेर नखुलेको पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।