बबरमहलकाे सफ्टवेयर कम्पनीबाट ६३ कार्टुन पिपिई खरिद

काठमाडौं । काठमाडौंको बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेटमा लुकाएर राखेको ६३ कार्टुन पिपिई भेटिएको छ । करीब १० लाख रुपैयाँ बराबरको उक्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको सामान आँखु इन्टरप्राईजेज बालाजुको रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद गरेको जनाएको छ। पञ्जा, चस्माका सामाग्रीमा लुकाएर राखिएका सो पिपिईको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान रहेको विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्र बताए । उजुरी आएपछि विभागले आँखु इन्टरप्राइजेजले चीनबाट ल्याएको ती सामानको तातोपानी नाकाबाटै ट्रयाकिङ थालेको थियो। ‘तातोपानीबाट सामान ल्याएर सप्लायरले कहाँ राखेको छ ? कसलाई बेच्दैछ भनेर अनुसन्धान गर्दै जाँदा लुकाएर राखेको अवस्थामा भेटिएको हो,’ निर्देशक मिश्रले भने। अनसन्धानका क्रममा पिपिई सामग्री लुकाई भण्डारण गरी बिक्री वितरण गरेको भेटिएपछि ती सामाग्रीहरु सोही ठाउँमा सिलबन्दी गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको हो। लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका विभागले जनाएको छ ।

नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालगञ्जमा थप सात जना कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ को रहेको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् । भेरी अस्पताल, नेपालगञ्ज प्रयाेगशालामा भएकाे परीगक्षणमा सात जनामध्ये चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हाे । 

कोरोना संक्रमितको संख्या ३६ लाख ४१ हजार, निकाे भए ११ लाख ९२ हजार बढी

काठमाडौं । अहिले विहान सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख ४१ हजार ५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ५१ हजार ९ सय ३० जनाको मृत्यु भइसकेको छ भने ११ लाख ९२ हजार ९ सय २६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६९ हजार ७ सय ३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ११ हजार ७ सय ४५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ भने अहिलेसम्म १ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७५ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)