थप १० जनामा काेराेना संक्रमण भएकाे पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे

काठमाडौं । नेपालमा एकै दिन थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टी भएको छ । वीरगञ्ज र नेपालगञ्जमा गरी थप १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. विकास देवकोटाले १० जनामा व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए। वीरगञ्जमा १ जना र नेपाल गञ्जमा ९ जनामा कोरोना संक्रमण भएको हो। यो सँगै जम्मा ६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आइतबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप १० जनामा संक्रमण पुष्टी भएको जानकारी दिइयो । यसअघि नेपालमा ५९ जनामा संक्रमण पुष्टी भएको थियो भने १६ जना उपचारपछि घर फर्किसकेका छन् । आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसोलेसनमा रहेको समेत डा. देवकोटाले बताए। हाल सबैभन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जना संक्रमितको उपचार भइरहेको छ।  

६ महिना भित्र कोरोना भाइरसको औषधि तयार हुन्छः प्राध्यापक डा. दास

काठमाडौं । कोरोना भाइरसको औषधी ६ महिना भित्र तयार हुन बताएका छन् ।  यसअघि पनि जडीबुटीबाट नै हर्वल सेनेटाइजर बनाएको जानकारी दिदै कोरोना भाइरस रोक्न विश्वभर औषधिको खोजी भइरहेको थियो । नेपालमा पनि केहि गर्नुपर्छ भन्ने सोच सहित अभियानमा लागेको र अब ६ महिना भित्र कोरोना नियन्त्रणको औषधी तयार गर्ने प्राध्यापक एवंम बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत रहेका डा. दासले जानकारी दिएका छन् । उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गरेका थिए । विभिन्न जडीबुटी खोजि गरेर संस्थानको प्रयोगशालामा औषधी बनाउने काम भैरहेको दासले बताए । विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि विभिन्न जडीबुटीहरुको प्रयोग गरेर औषधी बनाउने काम भइरहेको छ । औषधि निर्माण गर्न सरोकारवालाहरुसँग समेत कुराकानी गरेर विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेकोले ६ महिना भित्र सफल हुने दासले विश्वास व्यक्त गरे ।

कोरोना संक्रमण भएर निको भएका युवक फेरि अस्पताल भर्ना

काठमाडौं। कोरोना भाइरस संक्रमण भएर निको भएका युवक फेरि अस्पताल भर्ना भएका छन् । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवक काेराेना संक्रमणमुक्त भएको भन्दै एकसाता अघि डिस्चार्ज गरिएकोमा उनमा थप शंकाष्पद लक्षणहरू देखिएपछि फेरी अस्पताल भर्ना गरिएको छ। शंकाष्पद लक्षण देखिएपछि उनलाई पुन: नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ। ती युवकलाई २० वैशाख साँझ घरबाट नारायणी अस्पताल ल्याइएको हो। अस्पतालमा उपचाररत अर्का एक जना भारतीय व्यक्तिसँगै संक्रमणमुक्त भएको भन्दै उनीहरू दुवै जनालाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। १ वैशाखमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलसन वार्डमा उपचाररत रहेका ती व्यक्तिमा १० र १३ वैशाखका परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी आफन्तसँग बस्दै आएका थिए ।