एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस, विद्यालय तहकाे नतिजा बैशाख २५ भित्रै
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा जेठ अन्तिममा गर्न सिफारिस गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । परीक्षाा असार १५ सम्म सक्न सिफारिस गरिएकाे छ । साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न पनि सिफारिस गरेको छ । यस्तै, परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ । कार्यदलकाअनुसार कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुन्छ । त्यस्तै, कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने चैत २५ गतेभित्र प्रकाशित हुने भएको छ । शिक्षा मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयहरुका साथै निजी विद्यालयहरुको छाता संगठनहरुलाई पनि सकेसम्म चाँडो नतिजा प्रकाशित गर्न आग्रह गरेको छ । त्यही अुनसार साे परीक्षाकाे नतिजा निकाल्ने तयारी भइरहेकाे छ ।
सुर्खेतमा कोरोना परीक्षण पुनःसञ्चालन
सुर्खेत। ठूलो क्षमताको रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी पिसीआर) मेसिन जडान भएपछि एक सातादेखि अवरुद्ध कोरोना परीक्षण पुनः सञ्चालन भएको छ । कर्णालीमा प्रदेशमा कोभिड–१९ को परीक्षण दायरा तीव्र पार्न ठूला क्षमताको पिसीआर मेसिन जडान गरेपछि परीक्षण सञ्चालन गरिएको हो । प्रयोगशालामा कार्यरत प्राविधिकहरु मेसिन जडानमा व्यस्त भएपछि यही वैशाख १० देखि पिसीआर विधिबाट कोरोना परीक्षण रोकिएको थियो । मेसिन जडान गर्न ५ दिन लागेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले ठूलो क्षमताको पिसीआर मेसिन सञ्चालनमा आएपछि स्वाबको पुनः परीक्षणका लागि धनगढी तथा काठमाडौँ पठाउनुपर्ने बाध्यता हटेको बताए । यसअघि सुर्खेतमा रहेको पिसीआर मेसिनबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भए पनि अन्तिम टुङ्गो लगाउन (क्रस भेरिफिकेशन) भन्दै सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको स्वाब काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । “अब क्रस भेरिफिकेशनको काम यहीँबाट हुन्छ, ढुक्क हुनलाई प्रदेशबाहिर नै पठाउनुपर्दैन”, प्रयोगशाला संयोजक आचार्यले भने । पछिल्लोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयमा रहेको ठूलो क्षमताको आरटी पिसीआर मेसिन कर्णाली प्रदेशलाई उपलब्ध गराएको थियो । मन्त्रालयले परीक्षणमा सहयोग गर्नका लागि त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका प्रमुखसहित चार कर्मचारीलाई खटाएको थियो । उक्त मेसिन इत्रामस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जडान गरिएको छ । प्रयोगशालाका अनुसार यो मेसिनले एकैपटक ९६ जनाको परीक्षण गर्न सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलोपटक पठाएको सानो क्षमताको पिसीआर मेसिनबाट भने दैनिक १० देखि १५ वटा स्वाबको परीक्षण हुँदै आएको थियो । कर्णाली प्रदेशमा हालसम्म २३२ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यस्तै पाँच हजार १७९ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) विधिबाट परीक्षण गरिएको छ । कर्णालीमा हाल एउटा सानो तथा दुई ठूला गरी तीनवटा पिसीआर मेसिन छन्
क्वारेन्टिनमा बसेका महिलाले स्तनपान गराउन मिल्छ कि मिल्दैन ?
काठमाडौं । २ वर्षसम्मका शिशुलाई पुर्णरुपमा स्तनपान गराउनुपर्ने स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन् । हाल कोरोनाभाईरास कारण क्वारेन्टिनमा बसेका महिलाहरुले स्तनपान गराउन मिल्छ कि मिल्दैन भन्ने एउटा ठुलो प्रश्न रहेको छ । तर हालसम्म स्तनपान गराउँदा कोरोनाभाईरस सर्ने कुनै पनि अध्यनले नदेखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् । उनी भन्छन्, हालसम्म स्तनपान गराउँदा कोरोना सर्छ भन्ने कुनै प्रमाण भेटिएको छैन । तर कोरोनाभाईरसका कुनै पनि लक्ष्ण देखाएका महिलाहरुले स्तनपान गराउँदा ध्यान धने दिनपर्छ । ’ कोरोनाभाईरसका लक्ष्ण देखाएका महिलाहरुले स्तनपान गराउनुभन्दा अगाडि साबुनपानीले मिचि मिचि २० मिनेटसम्म हात धुने, स्तनपान गर्दा मास्क लगाउने जस्ता उपायहरु अपनाउन सक्ने देवकोटा बताउँछन् । यस्तै गम्भिर अवस्था भएका महिलाहरुको हकमा भने उनको दुध निकालेर बच्चालाई चम्चाले खुवाउन सक्ने देवकोटाले बताए ।