सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै, मङ्गलबार ग्वान्जाओ जाँदै दुई बाइडबडी जहाज
काठमाडाैं । नेपाली सेनाले कोभिड-१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट ती सामग्री खरिदका लागि सरकार-सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउने जानकारी दिए । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई मार्ग र अन्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरिएको जनाइएको छ । चीनमा मजदुर दिवसलगायतका सार्वजनिक बिदा भएकाले मङ्गलबार मात्रै निगमको जहाज पठाउने तयारी भएको हो । ‘हामीले बिदा भए पनि आवश्यक प्रक्रिया मिलाएर सामान ल्याउने वातावरण बनाइदिन आग्रह गरेका छौँ’, उनले भने । हवाईमार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल–चीन सिमाना तातोपानी ल्याइनेछ । ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भइ रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टङ्गो लगाएको थियो । सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत आवश्यक रकम चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ । चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो । दुई देशबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिएको छ । यस्तै भन्सार जाँच प्रक्रियाका लागि पनि सहज गरिदिन सेनाले चिनियाँ पक्षलाई आग्रह गरेको छ । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल भइरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ । चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने बचनबद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो । व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरिएको छ । रासस
काे हुन् आज भेटिएका बाँके र रुपन्देहीका काेराेना संक्रमित ?
काठमाडौं । आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेको बताएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीको संक्रमित र भेरी अस्पतालमा बाँकेको संक्रमितको कोरोना पुष्टि भएको हो । बाँकेका ६० वर्षिय पुरुषलाई बाँकेको शुशिल कोईराला क्यानसर प्रखर अस्पतालमा ल्याउँदै गरेको देवकोटाले बताए । रुपन्देहीका २५ वर्षिय युवा बैशाख ५ गते भारतबाट आएका थिए । उनलाई बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ जसमा १६ जना निकाे भएर घर गईसकेका छन् । संक्रमितमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् । हालसम्म पिसिआर विद्यिबाट १२ हजार ५ सय ७७ वटा र आरडिटी विद्यिबाट ४७ हजार ७ सय ९७ वटा परीक्षण भएकाे छ । यस्तै नेपालभर २४ हजार ९ सय ७ जना क्वारेनि्टनमा र ९५ जना अाईसाेलेसन छन् ।
भरतपुर मेडिकल कलेजले प्रहरी कार्यालयलाई दियाे कोरोना सुरक्षा सामाग्री
चितवन । कलेज अफ मेडिकल साइन्स भरतपुर (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ । मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले शुक्रबार प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार प्रहरीलाई ४ हजार ४ सय थान ग्लोब्स, दुईसय थान सर्जिकल मास्क प्रदान गरिएको हो । आगामी दिनमा पनि मेडिकल कलेजले आवश्यकता अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराउने उनले बताए । यस्तै महालक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३ सय थान कपडाको मास्क प्रदान गरेको थियो ।