रौतहटमा थप दुई जनामा देखियाे कोरोना संक्रमण
काठमाडाैं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे हाे । टेकुस्रोतका अनुसार बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५४ पुगेकाे छ जसमा १६ जना निकाे भएर घर फर्किसकेका छन् ।
आरडिटीबाट पोजेटिभ नतिजा आउँदा पिसिआरबाट नेगेटिभ नतिजा
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित ‘मिडिया ब्रिफिङ’मा प्रदेशमा आरडिटी पद्धतिबाट सोमबारसम्म कोरोना भाइरसका शङ्कास्पद १२ हजार २८३ व्यक्तिको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा १२ हजार २७३ को नजिता नेगेटिभ आएको जानकारी दिए । परीक्षण गरिएकामध्ये १० जनाको आरडिटीबाट पोजेटिभ र पिसिआरबाट नेगेटिभ नतिजा आएको उनले बताए । पिसिआर पद्धतिबाट आजसम्म सङ्कलन गरिएको दुई हजार ७६३ को नमूनामध्ये दुई हजार ७६१ को परीक्षण भएकामा दुई हजार ७५६ को नतिजा नेगेटिभ आएको छ । यो विधिबाट गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएका पाँचमध्ये पोजेटिभ देखिएका चार जना केही दिनअघि नै निको भई डिस्चार्ज भइसक्नुभएको छ । दुई नमूना परीक्षणको क्रममा रहेको बताइएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रदेशका विभिन्न जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा सोमबारसम्म एक हजार ३०७ जना बसिरहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेसनमा रहेकामध्ये सोमबारसम्म १०९ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ । पछिल्ला दुई हप्तामा यो प्रदेशमा कोरोना सङ्क्रमणको दर स्थिर छ । रासस
कोरोना अपडेटः ९ लाख २२ हजार संक्रमित निको भए, मृतककाे संख्या २ लाख नाघ्याे
काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ६४ हजार २ सय २५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ११ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ९ लाख २२ हजार ३ सय ८७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५६ हजार ७ सय ९७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख १० हजार ३ सय ५६ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने अहिलेसम्म ९ सय ३९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५२ जना संक्रमित भएका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)