प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा
काठमाडाैं । प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि बिहिबार अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस सुरु भएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरेपछि ओलीको नियमित डायलासिस सेन्टरमा भइरहेको छ । प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।
कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
काठमाडौं । प्रभु बैंकले मोरङ्गस्थित कोशी अस्पतालमा सोमबारदेखि कोशी अस्पताल एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनीले गरेका हुन् । कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।
नगरपालिकाद्वारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने
मङ्गलबारे । इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने ६० देखि ७० वर्षका ज्येष्ठ दलित नागरिकको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो । आगामी पुस १ गतेदेखि लागू गरी पारिवारिक स्वास्थ्य बीमा गरिदिने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिएका छन् । स्वास्थ्य उपचारमा सहज होस् भनेर नगरपालिका आफैँले स्वास्थ्य बीमा गरिदिने भएको उनले बताए । रकम अभाव भएर उपचारमा जान नसक्ने, गएर पनि उपचार गराउन नसक्नेलाई यो कार्यक्रमले लाभ मिल्ने नगरपालिकाले अपेक्षा गरेको छ । इलाम नगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख पदबहाल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिकाभित्र एक दिन शोक बिदा दिइने भएको छ । नगर कार्यपालिकाको बैठकले बहाल रहेकै अवस्थामा मृत्यु भएमा नगरपालिकाअन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थामा एक दिन शोक बिदा दिने निर्णय भएको हो । बैठकले नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्य तथा वडा सदस्यको पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालयमा रहेको शैक्षिक संस्थामा एक दिन शोक बिदा दिने भएको हो । बहालवाला पदाधिकारीको स्वभाविक मृत्यु भएमा मात्र उक्त शोक बिदा दिने व्यवस्था रहेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । नगरपालिकाले कार्यविधि बिदा व्यवस्थित गर्ने, कार्यविधि स्वीकृत गरी बढीमा छ दिन स्थानीय सार्वजनिक बिदा दिने भएको छ । “इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत गरी बिदा दिने निर्णय गरेको हो । त्यस्तै, सङ्घीय तथा प्रदेश सरकारले घोषणा गरेको बिदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा एक वर्षमा छ दिन भन्दा नबढाई कार्यपालिकाबाट निर्णय गरी बिदा दिने कार्यविधिमा उल्लेख छ । नगरपालिकाले आगामी पुस २ गते इलाम नगरपालिका–१० गोदकस्थित लेप्चा जातिको बसोवास रहेको क्षेत्रमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्ने भएको छ । आगामी ६ देखि १७ पुससम्म जनताको घरदैलोमा पुगेर जनताका गुनासो सङ्कलन गर्न ‘जनतासँग मेयर कार्यक्रम’ इलाम १२ वटै वडामा सञ्चालन गर्ने भएको छ । भ्रमण वर्ष २०२० का क्रियाकलाप प्रवद्र्धन र आवश्यक प्रचारप्रसारका लागि इलाम नगरपालिकामा नगर प्रमुख महेश बस्नेतको संयोजकत्वमा समितिको गठन गरेको छ । रासस