पच्चीस जिल्ला अनुगमनमा मात्र तीन निरीक्षक
बाँके । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन् । विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि रहेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा उपचारका क्रममा दुईको मृत्यु भएपछि विभागसहित पुगेको प्रशासनको टोलीले छापा मार्दा नेपालमा दर्ता नभएका औषधि बिक्री भएको खुलेको थियो । त्यहाँ न त मेडिकल दर्ता थियो, न विभागमा दर्ता भएका औषधि नै । “उजुरी र गुनासो आएका ठाउँमा अनुगमनमा प्राथमिकता दिने गरेका छौँ । कार्यक्षेत्र ठूलो र जनशक्ति कम हुँदा सबै ठाउँमा अनुगमन गर्न सकिरहेका छैनौँ । जनशक्तिले भ्याएसम्म फार्मेसी तथा मेडिकलको अनुगमन गरिरहेको छौँ ।” औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका प्रमुख नीनु श्रेष्ठले भने । अनुगमन नै नहुने भएपछि मेडिकल तथा फार्मेसी मापदण्डबमोजिम छन् वा छैनन् भन्ने यकिन गर्न सकिने अवस्था छैन । जिल्ला–जिल्लामा संयुक्त बजार अनुगमन समिति छन् । गाउँ नपुगे पनि सदमुकाममा हुने अनुगमनका क्रममा पसल दर्ता छन् वा छैनन् समितिले हेरे पनि विभागमा दर्ता भएका औषधिबाहेकका औषधि बिक्रीमा छन् वा छैनन् ठम्याउन सक्ने अवस्था छैन । शाखामा मात्रै २५ जिल्लाका चार हजार बढी औषधि बिक्रेता दर्ता छन् । गाउँसम्म अनुगमन पुग्न विभागसँग जनशक्ति छैन । “नरैनापुरका प्रत्येक वडामा औषधि बिक्रेता छन्”, नरैनापुरका विनय दीक्षित भन्छन्, “अनुगमन नहुँदा उनीहरु कानूनी हुन् वा होइनन् स्थानीयवासीले कसरी ठम्याउने ?” “दर्ता पसलमा बिक्रीका लागि राखिएको औषधि जाँच मात्रै गर्नका लागि पुग्ने जनशक्ति छैन”, शाखा प्रमुख श्रेष्ठ भन्छन्, “तीन जना निरीक्षक सबै ठाउँ पुग्न सम्भव छैन ।” मेडिकल दर्ताको जिम्मेवारी पनि शाखा कार्यालमै रहेको छ । विभिन्न जिल्लाबाट आउने सेवाग्राहीलाई सेवा दिन कम्तीमा चार जना कर्मचारी कार्यालयमै रहनुपर्ने बाध्यता समेत रही आएको छ । “विभागले हेरेन भन्ने गुनासो आउँछ, हाम्रो जिम्मेवारी पनि हो, तर जनशक्ति कम हुँदा सबै ठाउँ पुग्न नसकेका हौँ”, शाखा प्रमुख श्रेष्ठले भने । सङ्घीयतापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा पनि छ । तर, सबै स्थानीय तहले अनुगमन समिति बनाएका छैनन् । बनाएका स्थानीय तहसँग पनि सबै क्षेत्रका विज्ञ उपलब्ध हुने अवस्था छैन । “स्थानीय तहले पनि फार्मेसी निरीक्षकसहितको अनुगमनको व्यवस्था गर्नुपर्छ”, उनले भने, “स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय निकायमा छ, कम्तीमा फार्मेशी निरीक्षकको व्यवस्था हुने हो भने बेथिति छ÷छैन अनुगमन र भए नियन्त्रण गर्न सहज हुन्थ्यो ।” यस वर्ष विभागले गरेको अनुगमनमा चार मुद्दा दर्ता भइसकेका छन् । रासस
लामो समय एकै ठाउँमा बस्नु धूम्रपान गर्ने जतिकै खतरनाक, लाग्न सक्छ यी राेग
काठमाडौं। हामी मध्ये धैरै जना व्यक्ति दिनहुँ आफ्नो कार्यालयमा करिब ८ देखि १० घण्टा बिताउने गछौं। कार्यालयमा मात्र नभएर घरमै बस्ने मानिसहरुको पनि सामान्य दैनिकी यहि हो। तर के तपाईलाई थाहा छ यसले कति ठूलो रोग निम्ताउन सक्छ ? लामो समयसम्म एकै ठाउँमा बस्दा यसले मोटोपनाको समस्या निम्त्याउँछ । यति मात्र नभएर यसले मुटुरोग, मधुमेह, डिप्रेशन, क्लोन क्यान्सर जस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । विज्ञहरूले त लामो समयसम्म एकै ठाउँमा बस्नेलाई ’नयाँ धूम्रपान’ भनेर सम्बाेधन गर्न थालेका छन्। विश्व स्वास्थ्य संगठनले शारीरिक निष्क्रियतालाई मानिसको मृत्यु हुने चौथो सबैभन्दा ठूलो कारण रहेको पहिचान गरिसकेको छ। उदाहरणको लागि सामान्यता नेपालीहरुले औषत ९ घण्टा बसेर मात्र बिताउँछन्। यो कार्यालयमा मात्र नभएर टीभी हेर्दा, गाडीमा वा अन्य कुनै पनि ठाउँमा हुन सक्छ। यसमा थप सात घण्टा सुत्ने समय जोड्नुहोस्। यसको मतलब नेपालीहरु औषतमा १६ घण्टा निष्क्रिय बस्छन्। हामी सबैलाई थाहा छ कि एक निष्क्रिय जीवनशैली हाम्रो लागि खराब हो । हामी यो कति खराब छ भन्ने मात्र पनि महसुस गर्दैनौं। थाेरै समय मात्र निष्क्रिय बसेर वास्तवमै हामीहरुले आयु लम्बाउन सक्छौं तर मानिसहरुलाई याे विश्वास गर्न गाह्रो हुन्छ र उनीहरु यसलाई त्यति वास्ता पनि गर्दैनन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई भन्छन्, जब मानिस केही नगरी बस्न थाल्छ तब उसको शरीरमा क्यालाेरी जम्मा भई उसलाई मुटुरोग लाग्ने सम्भावना बढेर जान्छ। हिँडडुल गर्दा मानिसहरुमा तनाव कम हुने र त्यो एक प्रकारको व्यायाम पनि हुने भएकोले उसलाई केही नगरी बस्ने व्यक्तिको दाँजोमा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ। यस्तै विभिन्न अध्ययनहरुले निष्क्रिय भएर बस्नाले शरीरमा क्यान्सर हुने सम्भावना १० प्रतिशतले बढाउने बताएको छ। राष्ट्रिय क्यान्सर संस्थानको जर्नलमा प्रकाशित एउटा अध्ययनमा आसीन व्यवहारले कोलन क्यान्सर हुने जोखिम २४ प्रतिशत, एन्डोमेट्रियल क्यान्सर हुने जोखिम ३२ प्रतिशत र फोक्सोको क्यान्सर हुने जोखिम २१% प्रतिशतले वृद्धि हुने देखाएको छ। कसले कति व्यायाम गर्ने ? विश्व स्वास्थ्य संगठनले १९ वर्षभन्दा माथिका व्यक्तिले हप्तामा कम्तिमा १५० मिनेट सामान्य व्यायाम गर्नुपर्ने बताएको छ। यसको मतलब १९ वर्षभन्दा माथिका व्यक्तिले हरेक दिन कम्तिमा पनि ३० मिनेट व्यायाम गर्नुपर्छ। यति समय व्यायामबाट उपलब्ध हुने फाइदा हाँसिल गर्न पर्याप्त हुन्छ। यद्यपि तपाई नियमित व्यायम गर्नुहुन्छ तर धेरै समय निष्क्रिय बस्नुहुन्छ भने यसले तपाईलाई व्यायामले केही पनि फाइदा गर्दैन। तपाई बसिरहेको बेला तपाईको शरीरलाई के हुन्छ ? धेरै लामो समयसम्म बस्नाले तपाईको शरीरको पाचन शक्ति कम हुनुको साथै अर्कोतर्फ रगतमा ग्लुकोजको स्तर र रक्तचाप दुबै वृद्धि हुन्छ। नियमित सानो गतिविधि जस्तै केहीबेर घुम्ने उभिने कृयाकलापहरुले हाम्रो शरीरको स्फुर्ती बढाउँछ। नियमित केही समयका यस्ता सानातिना गतिविधिहरु निकै नै प्रभावकारी हुने गरेको वैज्ञानिकहरु बताउँछन्। यस्ता गतिविधि बिना रगतमा चिनीको स्तर र रक्तचाप बढ्दै जान्छ, धमनीहरूमा क्षति पुर्याउँदै मधुमेह, हृदय रोग र स्ट्रोकको जोखिम बढाउँदछ। त्यसैले हरेक दिन सकृय रहिरहनु यस्ता घातक रोगबाट बच्नको लागि सबैभन्दा उत्तम उपाय हो। सन् १९५० को दशकमा ट्रान्सपोर्ट फर लन्डनले बस चालकहरू र कन्डक्टरहरूमा गरेका अध्ययनले धेरै समय बस्दाको खतराहरूको प्रमाण देखाएको थियो। यस अध्ययनले आफ्नो धेरै समय बसिरहने ड्राइभर र कण्डकटरहरुको दाँजोमा समयसमयमा उभिरहनेहरुमा मुटु रोग लाग्ने सम्भावना कम देखिएकाे थियाे।
लुम्बिनी प्रादेशिक अस्पतालको सेवाप्रति ९७ प्रतिशत बिरामी असन्तुष्ट
रुपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन्। अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन्। प्रदेश नं ५ को सरकारले अस्पतालले दिने सेवा सम्बन्धमा गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाबाट असन्तुष्टि व्यक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं टेकनारायण पाण्डेले बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षणअनुसार अस्पताल आउने बिरामीमध्ये ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको बताएका थिए। बाँकी तीन प्रतिशत बिरामीले मात्रै अस्पतालको सेवा राम्रो भएको प्रतिक्रिया दिएका थिए। बिरामीले अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारसमेत सही नभएको बताएका थिए। अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६९ प्रतिशतले चिकित्सकको व्यवहार ठीकठीकै लागेको प्रतिक्रिया दिएका थिए। अस्पताल आउने सात प्रतिशत बिरामीले मात्रै नर्सको व्यवहार राम्रो लागेको बताएको अध्ययनले देखाएको थियो। अस्पतालमा उपचारका लागि आउने बिरामीले प्रश्न गर्दा चिकितसक र नर्सहरुले उत्तर दिन झर्को मान्ने, बिरामीसँग राम्रो व्यवहार नगर्ने गुनासो यसअघि पनि गर्दै आएका थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अस्पतालको उपचार सेवा, सरसफाइ, खानेपानी र फार्मेसी सेवाका विषयमा समेत अधिकांश बिरामीले गुनासो गरेका छन्। अस्पतालको फार्मेसीमा औषधि नभएका कारण ७५ प्रतिशत बिरामीले अस्पतालबाहिर निजी क्लिनिकबाट औषधि किन्ने गरेको बताएका थिए। अस्पतालमा आएका बिरामीमध्ये ल्याब जाँच गर्नुपर्ने बिरामीहरु चिकित्सक र नर्सको सिफारिसमै निजी क्लिनिकमा जाने गरेका छन्। अस्पतालमा ल्याब परीक्षण गराउँदा सस्तो पर्ने भए पनि आफूलाई आउने कमिशनका कारण चिकित्सक र नर्सले निजी क्लिनिकमा ल्याब परीक्षण गर्न पठाउने गरेका छन्। त्यसरी चिकित्सक र नर्सको सिफारिसमै ल्याब जाँच गर्न बाहिर जाने बिरामी ३२ प्रतिशत रहेका छन्। अस्पतालको सरसफाइमा सुधार हुन नसक्दा बिरामीका गुनासा पुरानै छन्। बिरामीहरुले प्रयोग गर्ने अस्पतालको शौचालयसमेत प्रयोग गर्न लायक छैन। शौचालयको दुर्गन्धका कारण अस्पतालमा बस्नसमेत समस्या भएको बिरामीको गुनासो छ । अस्पताल आउने ७७ प्रतिशत बिरामीले अस्पतालको सरसफाइ राम्रो नभएको बताउँछन्। अस्पतालको सेवा सुधार गरी बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले अस्पतालमा आन्तरिक सर्वेक्षण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ज्ञानहरी घिमिरेले बताए। उनले सर्वेक्षणको प्रतिवेदन सम्बन्धित मन्त्रालय र कार्यालयलाई प्रदान गरी सेवासुधारका लागि समय दिने बताए। ‘अस्पतालको सेवाप्रति बिरामीको धेरै गुनासो छ, अब सरोकारवालासँग बसेर कसरी अगाडि जाने भन्नेबारे छलफल गर्छाैं’, उनले भने । विसं १९६७ फागुन १५ गते जितगढीमा स्थापना भएको अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो। २०७५ माघमा प्रदेश मातहत आएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालका रुपमा सञ्चालित छ। प्रदेशका सबैजस्तो जिल्लाबाट बिरामीहरु उपचारका लागि यहाँ आउँछन्। अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञहरु छन्। तर अस्पतालका जागिरे चिकित्सकले अस्पतालभित्र भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिएपछि समयमा सेवा पाउन नसकेको बिरामीको गुनासो छ। प्रदेश सरकारले अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ। प्रदेशको गौरवको आयोजनाका रुपमा लिएर प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास र विस्तार गर्नका लागि प्रक्रिया अघि बढाइएको हो। अस्पतालमा भवन अभावका कारण बिरामीलाई सेवा दिन समस्या भएपछि डाइग्नोष्टिक भवन बनाउन शुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीतिअनुरुप काम अगाडि बढाएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए। अस्पतालको सेवा सुधारका लागि इमर्जेन्सी र प्रसूति सेवालाई प्राथमिकतामा राखेर काम अघि बढाएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए। ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन र व्यवहारलाई विशेष ध्यान दिएका छौँ’, उनले भने। रासस