अस्पतालबाट प्रधानमन्त्रीको सन्देश- ‘अब ठीक हुँदैछु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिती  सुध्रिदै गएको बताएका छन् । साेमबार अपरान्ह अस्पतालबाटै भिडियाे शन्देस पठाउँदै उनले  आफ्नो स्थिती सुध्रिँदै गएकाेले  अब केही दिनमै  पूर्ण रुपमा स्वस्थ हुने बताएका हुन् । ‘एपेन्डिसाईटिस कसैलाई समय र सुचना दिएर आउने रोग होइन’ उनले भिडियाेमा भनेका छन्,  यो अचानक आईलाग्छ, मलाई पनि अप्रत्यासित रुपमा त्यसरी नै आईलाग्यो,  मलाई ईन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्र ईन्फेसन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्याे तर बाहिर पनि ईन्फेसन भएकोले त्यसलाई पनि हटाउनु पर्ने भयो ।’ उपचारमा अझै १५ देखी २० दिन लाग्ने  उनले बताएका  छन्। उनले भिडियाेमा भनेका छन्, मेरो स्वास्थ्य राम्ररी अगाडि बढीरहेको छ तर मेरो एउटा मेजर अप्रेसन पछि  उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने र समाचारहरु हेर्न सक्ने अवस्थामा छु।’ उनले दक्षिण एसियाली खेलकुदलाइ समेटेर समेत बाेलेका छन् ।  उनले  मैत्रिपूर्ण क्षेत्रिय  मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्कका खेलाडिहरु सबैलाई  समेत आग्रह गरेका छन् ।

विवाहित महिलाले पाठेघरको मुखको क्यान्सरबाट बच्न प्याप्समेयर टेस्ट गर्नैपर्छ: डा. सुशीला वैद्य

काठमाडौं। संसारभरमा महिलाहरुको मृत्युको सबैभन्दा ठूलो कारण मध्ये पाठेघरको मुखको क्यान्सर पनि रहेको छ। विश्वमा हेर्ने हो भने महिलामा देखापर्ने क्यान्सरमध्ये स्तन, आन्द्रा, फोक्सोपछि चौथौ नम्बरमा नै पाठेघरको क्यान्सर आउँछ तर नेपालमा रहेका क्यान्सर अस्पतालका तथ्याङ्क हेर्न हो भने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेका छ। यहि क्यान्सर विकसित मुलुकमा धेरै कम पाइनुकाे प्रमुख कारण नियमित रुपमा प्याय स्मेयर टेष्ट गराउनु रहेको डाक्टरहरु बताउँछन्। प्रजनन सक्षम कुनै पनि उमेरका महिलालाई यो रोग लाग्न सक्छ। विशेषगरि ३० वर्ष देखि ६० वर्ष सम्मको महिला जसको बिहावारी भईसकेको छ अथवा शारिरिक संम्पर्क भैसकेका महिलामा यो समस्या बढि देखिन्छ। पाठेघरको मुखको क्यान्सर यही कारणले हुन्छ भनेर किटान नभए पनि ह्युमन पापलिमो भाईरसलाई यसको मुख्य कारणको रुपमा लिईन्छ। यसबाट बच्नलाई प्रत्येक विवाहित वा यौन जिवन सक्रिय महिलाले हरेक वर्ष प्यायस्मेयर टेष्ट गराउनु पर्छ। अन्य क्यान्सर नसर्न भए पनि पाठेघरको मुखको क्यान्सर सर्न गर्दछ। यो रोग पाठेघरको मुखको क्यान्सर भएको महिलासँग यौन सम्पर्क राखेको पुरुषबाट दोस्रो महिलामा सर्नुकाे साथै एउटा महिलाले धेरैसँग यौन संम्पर्क राख्दा पनि यो सर्न गर्छ। पाठेघरको मुखको क्यान्सरको लक्षण पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा लक्षण नदेखिन पनि सक्छ । साथै यो व्यक्तिपिच्छे फरक हुनसक्छ। यद्यपी यसका लक्षण निम्नलिखित हुनसक्छन् : १. पहिलाको भन्दा अलि धेरै पानी बग्ने, पानी गन्हाउने, पटकपटक संक्रमण भइरहने, पानीमा रगत मिसिएको हुनसक्ने २. महिनावारी नभएको समयमा पनि रगत देखा पर्नु यस रोगको प्रमुख लक्षण हो। ३. पेट फुल्ने समस्या देखिन सक्छ। ४. धेरै फैलिएको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने साथै दिसापिसाबमा समस्या हुने प्यायस्मेयर टेष्ट डाक्टरले पाठेघरको मुखबाट एक थोपा पानी लिएर एक मिनेट भित्रमा गरिने टेष्टलाई प्यायस्मेयर टेष्ट भनिन्छ। यो यस्तो टेष्ट हो जसमा पाठेघरको मुखमा आएका खराबी अथवा भबिष्यमा हुन सक्ने क्यान्सर बारे जानकारी पाउन सकिन्छ। यो निकै नै सरल र सस्तो पनि रहेको छ। करिब ७ सयको वरिपरि यो टेष्ट गर्न सकिन्छ। भयानक रोग लागेर अन्तिम अवस्थामा पुग्नुभन्दा समयमा यस्ता टेष्टहरु गराएर स्वस्थ रहनुपर्छ। सम्पुर्ण सम्पती सिद्दिएर पनि निको नहुने अवस्थामा पुग्नुभन्दा अगाडी बच्नलाई सबैभन्दा उत्तम उपाय हो याे। प्याप टेष्ट गराउनुभन्दा पहिला के के कुराहरु ध्यान दिनुपर्दछ ? १. दुई दिन अगाडि देखि यौन संम्पर्क गरेको हुनुहुदैन। २. मल्हम अथवा डुसको प्रयोग गरेको हुनुहुदैन ३. यो महिनावारी भएको बेलामा गर्न मिल्देन। ४. एक हप्ता देखि एन्टिबायोटिक खाएको हुनुहुदैन। ( लेजर थेरापी विशेषज्ञ तथा महिला क्यान्सर रोग विशेषज्ञ डा. सुशिला वैद्य शाक्यसँगको कुराकानीमा आधारित )  

आठ वर्षको अवधिमा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घट्याे

काठमाडौं । नेपालमा करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१०को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घटेको छ । पछिल्लो समय नेपालमा कूल २९ हजार ९४४ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । केन्द्रका निर्देशक डा.अनुज भट्टचनले तीमध्ये पुरुष १७ हजार ७३२ र महिला १२ हजार २१२ जना रहेको बताउँदै विश्वभर तीन करोड ७९ लाख जना एचआइभी सङ्क्रमण भएको जानकारी दिए । भट्टचनका अनुसार नेपालका वयस्क (१५ देखि ४९ वर्ष) उमेर समूहको जनसङ्ख्यामध्ये ०.१४ प्रतिशत एचआइभीबाट सङ्क्रमित भएक छन् भने ७१ प्रतिशतले बालबालिकमा हुने नयाँ सङ्क्रमणमा कमी आएको छ । केन्द्रका निर्देशक भट्टचनले एड्सको कारणले मृत्यु हुने सङ्ख्यामा पनि ३८ प्रतिशतले घटेको छ । ७६ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेशिने र जैलका कैदी रहेका छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च रहेको छ । हेरचाह र सहयोगलगायत एआरभी औषधि उपचार समेतमा पहुँच बढ्दै गएको हुनाले एड्सको कारणबाट मृत्यु हुनेको सङ्ख्यामा कमि आएको उनले जानकारी दिए । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०१९ जुलाईसम्म नेपालको कुल एचआइभी सङ्क्रमितमध्ये ६० प्रतिशत (१७ हजार ९८७ जना)ले एआरभी उपचारमा रहेका देखिएको छ । सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआइभी तथा एड्ससम्बन्धि कार्यक्रम सञ्चालनसमेत गरेको छ । निर्देशक भट्टचनले सोही कार्यक्रम सञ्चालन भएकोले एचआइभी सङ्क्रमण र एड्सबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए । विश्वमा भने सन् २०१० देखि २०१८ सम्ममा विश्वव्यापीरुपमा १६ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको छ । भने ४१ प्रतिशत बालबालिकामा हुने सङ्क्रमण घटेको पाइएको छ । सन् २००४ मा सबभन्दा बढी मानिस एड्सबाट ज्यान गएको थियो । अहिले २०१८ सम्म आइपुग्दा एड्सबाट ज्यान जानेको सङ्ख्यामा पनि ५६ प्रतिशतले घटेको छ । विश्वमा सन् २०१८ सम्ममा कुल एचआइभी सङ्क्रमितमध्ये ६२ प्रतिशत ९दुई करोड ३३ लाख०ले मात्र एआरभी उपचार गराइरहेका छन् । एचआइभी र एड्ससम्बन्धि प्रभावकारी रोकथाम, हेरचार, सहयोग तथा उपचार सेवाका लागि विश्वको ध्यानाकर्षण गराउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा एड्स दिवस मनाइन्छ । यसपटक एचआइभी सङ्क्रमलाई अझै घटाउदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ समुदायको भूमिकालाई पहिचान गरी उनीहरुको भूमिका अझ प्रभावकारी बनाई एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धि कार्यक्रमलाई तीव्रता दिनका लागि यस वर्ष ‘एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले ६० जिल्लामा एचआइभी रोग नियन्त्रण गर्न उपचार केन्द्र स्थापना गरिएको जानकारी दिँदै प्रदेश र स्थानीय तहको समन्वयमा एचआइभीको उपचारलाई प्रभावकारी बनाइने बताए । यौनरोग विशेषज्ञ डा अनुप वास्तोलाले एचआइभी सङ्क्रमणलाई अझ घटाउन सुरक्षित कार्यक्रम सञ्चालन गर्ने जनाउँदै मधुमेह र उच्च रक्तचाप जस्तै एचआइभी सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने जानकारी दिए । रासस