मिस नेपाल श्रृंखलाको सपना पूरा, मकवानपुरमा बन्याे ङिकाे स्वास्थ्य चौकी

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाको सपना पूरा भएको छ । आफ्नो गृह जिल्ला मकवानपुरको स्वास्थ्य चौकी निर्माण गर्ने उनको इच्छाले साकार रुप लिएको हो । मिस नेपाल खतिवडाको अगुवाईमा प्रदेश नं ३ मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ ताम्लाङमा ङिकाे स्वास्थ्य चौकी भवन निर्माण पूरा भएको हो । इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको सहयोगमा भवन निर्माण पूरा भएको हो । इको प्यानलले भवन निर्माणका लागि आवश्यक इको प्यानल सहयोग गरेको हो । स्वास्थ्य चौकी भवनको उद्घाटन एक समारोहबीच संघीय साँंसद विरोध खतिवडाले गरे । कार्यक्रममा मिस नेपाल श्रंखलासहित प्रदेश सभा सदस्य ओमबहादुर घलान, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भवतती पुडासैनी, हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा लगायतले खुशी व्यक्त गरेका थिए ।

चितवन मेडिकल कलेज तथा अस्पताल परिसरमा गोलीसहित पेस्तोल भेटियो

काठमाडौं । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको  चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ । भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा दिउँसो बेवारिसे पेस्तोल भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो । त्यससँगै थ्रि नट थ्रिको सात राउण्ड खाली खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाइन एमएमको गोली बरामत गरिएको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार दिउँसो ३ः३० बजे पेस्तोलसहित गोली भेटाएको हो । कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको थियो । प्रहरी उपरीक्षक मल्लले पेस्तोल र गोलीका विषयमा अध्ययन शुरु गरिएको बताए । कलेजले शुल्क बढी लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले मागसँगै आन्दोलन गरेपछि भदौ ५ गतेबाट कलेजको पठनपाठन प्रभावित भएको छ । दशैंपछि एक साता पढाइ भए पनि सो पश्चात शैक्षिक कार्यक्रम ठप्प रहेको छ । कलेज परिसरमै रहेको आवास नजिकै पेस्तोल र गोली फेला परेको हो । आवासमा २०० विद्यार्थी बसोबास गर्छन् । रासस

हृदयरोग विशेषज्ञ डा. कपुरले नेपालका १५० व्यक्तिलाई हृदयरोग अधिवक्ताको तालिम दिने

काठमाडौं। एकजना व्यक्ति हृदयरोगको बारेमा जानकारी भए उनले ५ अन्य व्यक्तिलाई यसबारे बताउन सक्छ। यसरी जब एकले अर्का व्यक्तिलाई हृदयरोगको बारेमा जागरुक बनाउँछ तब यसले रोग ५ देखि ६ प्रतिशतले घटाएको विभिन्न अध्यनहरुले देखाएको गुरुग्राम भारतका मेदान्त अस्पतालका उपाध्यक्ष हृदयरोग विशेषज्ञ डा. रजनिश कपुरले बताए। शुक्रबार एक समारोह बिच बोल्दै डा. रजनिश कपुरले यस्तो बताएका हुन्। यहि उदेश्यको साथ मेडिसिटि अस्पतालको संयोजकतामा डा. कपुरले १ सय ५० व्यक्तिलाई मुटुको अधिवक्ताको लागि तालिम दिने भएका छन् । डा. कपुरले भने, ‘यस अभियानका माध्यमबाट नेपालमा भएका व्यक्तिहरुले छिटो र कुनै लागत बिना नयाँ जानकारी, स्वास्थ्य सेवा राणनितिहरु र कार्यक्रमहरुमा पहुँच पाउनेछन्।’ कपुरको अनुसार नयाँ उपचार विकल्पहरुको जनचेतनाले बिरामीहरुलाई बचाउन सकिन्छ। हृदयरोग सम्बन्धी ज्ञान नहुँदा मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन्। नेपालमा हुने १८ प्रतिशत मृत्यु मुटुरोगको कारण हुने गर्दछ । अस्वस्थ जिवनशैलीको कारण मानिसहरु मुटुरोगको शिकार हुने गरेका छन् । खानपानमा गुलियो, पिरो, नुनिलो कम गर्न, नियमित व्ययाम गर्न, तनाव कम गर्न, धुम्रपान मध्यपान नगर्न जस्ता जिवनशैली अप्नाएर मुटुरोगको शिकार हुनबाट जोगिन सक्छौं। विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा ३१ प्रतिशत मृत्युको कारण हृदयरोगको कारण हुने गरेको छ। व्यस्त जीवनशैलीमा कामको तनाव, एउटै ठाउँमा लामो समय सम्मा बस्ने व्यक्तिलाई हृदयरोग हुने सम्भावन हुन्छ। यस्ता परिवारमा कसैलाई हेदयरोग भएको अवस्थामा दोस्रो व्यक्तिलाई हृदयरोग हुने सम्भावना ५० प्रतिशत बढि हुन्छ। मुटुरोगको कुनै पनि लक्षण देखिएको अवस्थामा ईसिजी गर्नु एकदमै आवश्यक हुन्छ र पहिलो ईसिजी सामान्य आएको अवस्थामा पनि दुई पटक सम्म ईसिजी गर्न डाक्टरहरु सुझाव दिन्छन् किनभने कतिपय अवस्थामा पहिलो ईसिजीको नतिजा ठीक नआउन सक्छ।