पञ्चकन्या ग्रुपको वार्षिकोत्सवमा ४५ जनाले गरे रक्तदान
काठमाडौँ । पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव मनाउने सिलसिलामा मंगलबार गु्रपको केन्द्रीय कार्यालय कृष्णगल्ली, ललितपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्ध शुभचिन्तकहरु ४५ जनाले रक्तदान गरेका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
तीन हप्तादेखि शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित
काभ्रेपलाञ्चोक । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, “आन्दोलनको बीचमा भएको वार्तामा हाम्राबारे केही सुनुवाइ नभएकाले आजदेखि कडा आन्दोलनमा उत्रिएका छौँ ।” अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुपर्ने, बिरामीको सेवासुविधा बढाउनुपर्नेलगायत माग राख्दै पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका थिए । “हाम्रो माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्नेछौँ”, श्रेष्ठले भने । उनले श्रम अदालतबाट अनुमोदित कर्मचारी युनियनलाई अस्पताल प्रशासनले अवमूल्यन गरेको र प्रशासनमा धार्मिक (क्रिश्चियानीटी) गुटबन्दी आरोप लगाए । यसअघि अस्पतालका कर्मचारीमध्ये ५० प्रतिशतले आलोपालो आन्दोलनमा सहभागी हुँदै आएकामा आजदेखि सबै कर्मचारी आन्दोलनमा उत्रिएका श्रेष्ठले बताएका हुन् । उनले भने, “आजबाट सबै कर्मचारीको सहभागितामा प्रशासन घेराउ गरेका छौँ ।” अस्पतालस्थित युनियनमा २०० कर्मचारी आवद्ध छन् । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सूर्यप्रभा शाक्यले आन्दोलनरत पक्षसँग थप छलफलमा जाने वातावरण तयार भइरहेको जानकारी दिए । अस्पताल प्रशासनले कर्मचारीले आन्दोलन थालेकै दिन अस्पताल हाताभित्र सूचना टाँस गर्दै युनियनले लगाएको आरोप झुठा भएकाले त्यसका पछि नलाग्न अन्य कर्मचारीसँग आग्रह गरेको थियो । गत वर्ष असोजमा पनि यस्तै माग राखेर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला अस्पताल प्रशासनबाट युनियनको माग सम्बोधन गर्दै जाने आश्वासनसहितको सहमतिपछि आन्दोलन स्थगित गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । विसं २०१८ देखि सञ्चालनमा आएको उक्त अस्पताल ‘सेभेन्थे–डे एडभेन्टिष्ट अस्पताल’को नामले समेत परिचित छ । रासस
कार्यालय सहयोगीका भरमा फार्मेसी सञ्चालन
पर्शुरामधाम । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा कार्यालय सहयोगीलाई फार्मेसीमा औषधि बिक्री वितरण गर्न लगाइएको छ । अस्पतालले सञ्चालन गरेको उक्त फार्मेसीमा कार्यालय सहयोगीले औषधि बिक्री गरिरहेका छन् । दक्ष प्राविधिक कर्मचारीले मात्रै फार्मेसीबाट औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि यहाँका कर्मचारीको लापर्वाहीले फार्मेसीमा कार्यालय सहयोगीले औषधि दिइरहेका छन् । मानवको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई नबुझी अस्पतालले कार्यालय सहयोगीको भरमा फार्मेसीबाट औषधि बिक्री वितरण गर्नु गैरजिम्मेवारी भएको स्थानीय रामदत्त जोशीले बताएका छन् । नेपाल सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि उपलब्ध गराउने भए पनि यहाँको अस्पतालमा भने सेवाग्राहीले निःशुल्क पाउने औषधिसमेत नपाएको गुनासो गरेका छन् । औषधि निःशुल्क पाइने आशले सेवाग्राही आउने गरेका र अस्पतालमा पुगेपछि निःशुल्क औषधि नपाएर अन्य फार्मेसीबाट किन्नुपर्ने भएपछि सेवाग्राही मर्कामा पर्ने गरेको जोशीले जानकारी दिए । अस्पतालले निःशुल्क औषधि दिनुपर्नेमा अहिलेसम्म उपलब्ध नगराएको र अस्पतालकै फार्मेसीबाट किनेको औषधिको बिलसमेत नदिने गरेको सेवाग्राही बताउँछन् । अस्पतालको फार्मेसीबाट औषधि किन्ने कसैलाई पनि बिल नदिइने र फार्मेसीमा राखिएको रजिस्टरमा टिप्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालले आकस्मिक सेवाका लागि रु ५० को टिकट दिने गरेको भए पनि फार्मेसीले भने औषधि किनेको बिल नदिएको अर्का सेवाग्राही मोहन भाट बताउँछन् । यसरी दैनिक रूपमा औषधिको बिल नदिई बिक्री गर्नुले फार्मेसीको आर्थिक अपारदर्शिता झल्किएकोसमेत सेवाग्राहीको आरोप छ । जोगबुडा अस्पतालमा पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रलगायतका सेवाग्राही आउने गर्दछन् । नेपाल सरकारले जोगबुडा अस्पताललाई १५ श्ययाको अनुमति दिएको भए पनि यसैअनुरुप सेवासुविधा प्रदान गर्न नसकेको आम सर्वसाधारणको गुनासो छ । अस्पतालमा कर्मचारी अभावसँगै आवश्यक उपकरणसमेत नहुँदा समस्या हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । जोगबुडा अस्पतालका मेडिकल अधिकृत डा. करुणा बज्राचार्यले फार्मेसीमा कार्यरत कर्मचारी बिदामा गएकाले कर्मचारी अभावका कारण कार्यालय सहयोगीलाई नै सहयोग गर्न भनेको बताए । समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी सुधारका लागि प्रयास भइरहेको अस्पतालका मेडिकल अधिकृत डा. बज्राचार्यले जानकारी दिएका छन् । रासस