स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ। गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। उनलाई सरुवा गरिएको निर्णय अझै सार्वजनिक भने गरिएको छैन। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए। स्वास्थ्य मन्त्रालयमा हाल निमित्त सचिवको जिम्मेवारी १२ औं तहका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुलेरले सम्हालिरहेका छन्। सरकारको यो निर्णयसँगै स्वास्थ्यमा पुन प्रशासन समूहका सचिवले नेतृत्व सम्हाल्नेछन्। स्वास्थ्यमा डाक्टर सचिव रहने व्यवस्था छ। सरकारले गत असोज २८ मा डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसको विरोधमा सचिव चौधरीले सरकारविरुद्ध मुद्दा दायर गरेकी थिइन्। सर्वोच्चले उनको सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। सरकारले उक्त आदेशको खारेजीको माग गर्दै अदालतमा निवेदन दर्ता गराएको छ। अदालतले यो विषयमा छलफल गर्न सचिव चौधरीलाई अदालतमा बोलाएको छ।

लाइसेन्सिङ परीक्षामा आधाभन्दा बढी डाक्टर विद्यार्थी फेल

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन्। काउन्सिलले शनिबार लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका एक हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका १८६ मध्ये ६९ मात्र उत्तीर्ण भएको हो । विश्वविद्यालयबाट एमबिबिएस र बिडिएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिन अनिवार्य रुपमा काउन्सिलले लिने परीक्षा उत्तीर्ण हुनुपर्छ। रासस

२२ करोड लागतमा पाल्पामा सुविधा सम्पन्न सरकारी अस्पताल बन्दै

बेझाङ। पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ । यहाँ सञ्चालन हँुदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो । हाल १५ शय्याको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित क्षमता बढाएर ५० शय्याको सुविधासम्पन्न भवन निर्माणका लागि रु २२ करोड २२ लाख पाँच हजार ३८३ को बजेट टुछ्याइएकामा रविना कन्स्ट्रक्सन प्रालि काठमाडौँले करीब रु १८ करोड ५० लाखमा सम्झौता गरी सो भवन निर्माण थालेको हो । आर्थिक वर्ष २०७२÷७३ को पुसदेखि निर्माण शुरु भएको उक्त भवनको हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको कम्पनीका इञ्जिनीयर जितेन्द्र चौधरीले बताए। विसं २०७५ कात्तिक १६ गते निर्माण सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमै काम सम्पन्न हुन नसकेपछि पुनः डेढ वर्षका लागि म्याद थप गरिएको इञ्जिनीयर चौधरीले बताए। विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा गरिएकामा २०६७ मा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको थियो । निर्माणकार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्टलगायत अत्याधुनिक सेवा सुविधा उपलब्ध गराइने अस्पतालका मेसु डा बिनेश झाले बताए ।उक्त अस्पतालबाट पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका गण्डकीबेँसी क्षेत्रका पाँच लाखभन्दा बढी जनता लाभान्वित हुनेछन्। रासस