उपचारको भौतिक पूर्वाधार तयार, रोग लाग्न नदिने उपायका विषयमा गम्भीर : मन्त्री घिमिरे

  काठमाडौं । राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको भन्दै प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले जनाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि हट्दै जाने बताएका छन् । मन्त्री घिमिरेले देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार तयार गरेको तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ भन्दै अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबै सक्रिय हुनु आवश्यक रहेको जानकारी दिएका छन् । सङ्घीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ । आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या न्यूनीकरणमा सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने छ । मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका छन् । रासस

दैनिक खानेकुरामा अलि मात्र पनि ध्यान दिने हो भने हामी सजिलै स्वस्थ रहन सक्छौं

काठमाडौं। हरेक मानिस स्वस्थ हुन चाहान्छन्, तर खाने तरिका नमिलेको कारण उनिहरु त्यसमा सफल हुँदैनन्। रोग लागेपछि स्वस्थ बन्न ठूलो आर्थिक र मानसिक क्षतीपछि मात्रै संभव छ । हामीले हाम्रो दैनिक खानेकुरामा थोरै मात्र पनि ध्यान दिने हो भने हामी सजिलै स्वस्थ बन्न सक्छौं। चिल्लो पदार्थको प्रयोग ठिक्क मात्रामा गर्ने उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा राम्रो हुन्छ । नुनको प्रयोग सिमित गर्नुपर्छ र आयोडिनयुक्त नुन मात्रा प्रयोग गर्नुपर्छ। नून थपेर खाने बानी छोड्नुपर्छ । फलफुल र सागपात प्रशस्त मात्रामा खानुपर्छ । दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ । बेलुकीको खाना जहिले पनि हलुका खाने गर्नुपर्छ। दुध र दुधबाट बनेको परिकार दैनिक रुपमा प्रयोग  गर्नुपर्छ। सधैं सुरक्षित खाना र पानीको प्रयोग गर्नुपर्छ। जहिले पनि भात मात्र खानु हुँदैन। हरेक दिन बिभिन्न प्रकारको खाना खाने गर्नुपर्छ। पायो भन्दैमा जति पनि खानु हुँदैन। बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । शाकाहारी हुनु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा त्यसले स्वास्थ्यलाई असर गर्दैन। रातो मासुले कोलेस्टेरोल धेरै बढाउँछ त्यसैले सकेसम्म खसी, राँगोको मासु नखाँदा राम्रो हुन्छ। तुलनात्मक रुपमा माछा र कुखुराको मासु खाँदा राम्रो हुन्छ। खोस्टा सहितको खाधान्न खाने गर्नुपर्छ। उच्च फाइवरयुक्त खानाले मुटुलाई धेरै फाइदा गर्छ । फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् । खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ । एकैचोटी धेरै खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । त्यसैले २-३ घण्टाको अन्तरालमा केही न केही खाईराख्नुपर्छ र आहार व्यवस्थापन गर्नुपर्छ ।  चिनी, मिठाई र गुलियो पेय पदार्थको उपभोगलाई घटाउन पर्छ । मधुमेह भएकाहरूले गुलियो खानु हुँदैन । डाइबेटीक डाइट चार्ट अनुसार क्यालोरी हिसाब गरेर खानुपर्छ ।

दाङकाे अस्पतालमा दक्ष जनशक्ति र उपकरण अभाव, बिरामी भारी कष्टमा

काठमाडौं । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो गरिरहेका छन् । सोमबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आएका तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी ४५ वर्षीया राधा पाण्डेयलाई चिकित्सकले इन्डोस्कोपी गराउनुपर्ने र सो सेवा उक्त अस्पतालमा हुन नसक्ने भएकाले घोराही जान सल्लाह दिएका छन् । अस्पताल छ चिकित्सक, उपकरण छैनन्, कति दिनसम्म नाम मात्रको अस्पतालबाट सेवा लिनुपर्ने भएको छ । टाउकोमा चोट लागेर अस्पताल आउनुभएका दङ्शीशरण गाउँपालिका–३ का ४८ वर्षीय हरिहर अधिकारीलाई पनि अस्पतालले सिटीस्क्यान उपकरण नभएकाले घोराही जान सल्लाह दिएका छन् । सो अस्पतालमा उपचार गराउन आउने धेरै नागरिकको एउटै गुनासो छ कि उपकरण र चिकित्सकका साथै उपचारका लागि धेरै दुःख र खर्च हुने गरी अन्यत्र जान नपरोस् भन्ने रहेको छ । कूल १६ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा अहिले छ चिकित्सकमात्र रहेको अस्पताल प्रशासनले बताएका छन् । अस्पतालका प्रशासन अधिकृत नीमबहादुर केसीले भौतिक पूर्वाधार, उपकरण तथा दक्ष जनशक्तिको अभावका कारण सघन उपचार कक्ष र अति सघन उपचार कक्ष सेवा सञ्चालन गर्न नसकेको जनाएका छन् । उहाँका अनुसार अस्पतालमा हाल कुल ७४ कर्मचारीको दरबन्दी रहेता पनि ५६ मात्र कार्यरत छन् । सर्पदंशका बिरामी उपचार गर्न आउँदा समस्या हुने गरेको पनि अधिकृत केसीले बताएका छन् । बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने हुन्छ तर अस्पतालमा भेन्टिलेटर छैन, अन्यत्र सिफारिश गरेर पठायो केहीको ज्यान बाटोमा नै जानसक्ने समस्या रहेको छ । अस्पतालमा बेहोस गराउने चिकित्सक नहुँदा पनि समस्या हुने गरेको छ । गत वर्ष सघन उपचार कक्ष अति सघन उपचार कक्ष सञ्चालनका लागि केही सामग्री आएकोमा त्यो पनि पूरा नभएको जनाएका छन् । दक्ष जनशक्ति नहुँदा उक्त सामग्री त्यतिकै थन्किएको अस्पतालको भनाई रहेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) सर्वे शर्माले पर्याप्त जनशक्ति, उपकरण, बजेट अभाव तथा भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । अस्पतालमा आवश्यक पर्ने सिटीस्क्यान, इन्डोस्कोपीलगायतका उपकरण, आवश्यक पर्ने चिकित्सकसहितका अन्य जनशक्ति नभए पनि सेवा व्यवस्थित गर्न गम्भीर भएर लागि रहेको शर्माले बताएका छन् । आफूले मेसुको जिम्मेवारी पाएको तीन महीना भएको बताउँदै अस्पतालको सेवालाई प्रभावकारी बनाउने विषयमा यहाँका सरोकारवाला निकाय, नागरिक अगुवा, बुद्धिजीवी, व्यापारी, समाजसेवी, स्थानीय सरकार तथा प्रदेश सरकारकासँग छलफल तथा समन्वय भएको छ । त्यस्तै अस्पताललाई आवश्यक पर्ने उपकरणलगायतका लागि प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयमा कार्यक्रम पेश गरिएको छ बताएका छन् । अस्पतालले पछिल्लोपटक मिर्गौलाको डायलायसिस सेवा पनि शुरु गरेको छ । सो सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो छ तर उपकरण अभावका कारण सेवा दिन सकिएको छैन । अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष विमल रिजालले अस्पतालको सेवालाई प्रवाभकारी गराउन माग गरेका छन् । नागरिकको अथक मेहनत र आर्थिक सहयोगबाट स्थापना गरिएको अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा पाउन नसक्नु दुःखद् भएको भन्दै सेवालाई प्रभावकारी गराउन सरकारसँग माग गरेका छन् । नागरिकको व्यापक दबाबपछि सरकारले विसं २०६५ मा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र तुलसीपुरको स्तरवृद्धि गरेर राप्ती अञ्चल अस्पतालको स्थापना गरिएको थियो । यस क्षेत्रका नागरिकले महापुराण लगाएर सङ्कलन गरेको दुई करोड र पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको थियो । रासस