म्याग्दीस्थित मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइका लागि भवन निर्माण

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि भवन निर्माण हुने भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहजरुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार तयार पारिएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम र सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बुलका बासिन्दाले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । कदम म्याग्दीमार्फत प्राप्त नौ लाख ३३ हजार र स्थानीयवासीको एक लाख ४७ हजार बराबरको श्रमदानमा एक कोठे पक्की भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुक्जालीको भनाई रहेको छ । भवन तयार भएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकामा माग गर्दै आएको एकाइ सञ्चालन भएमा बुल र मलम्बार गाउँका १५० घरधुरी लाभान्वित हुने जनाइएको छ । बुल र मलम्पारका बासिन्दा सामान्य बिरामी पर्दासमेत दुई घण्टाभन्दा बढी समय लगाएर मराङ र मल्कवाङस्थित स्वास्थ्य संस्थामा पुग्न बाध्य छन् । ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र गर्भवती महिलालाई स्वास्थ्य संस्था टाढा हुँदा सहजरुपमा आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य संस्थामा उपचारका लागि जाँदा कतिपयलाई पूरै दिन लाग्ने गरेको छ । भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्दा जोखिम रहेको बुलकी महिला स्वास्थ्य स्वमसेविका लक्ष्मी केसीले बताए । बुल र मलम्पराका बासिन्दालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि पहल गरिएको धवलागिरि गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक वडा नं ६ का अध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् । रासस

स्वास्थ्य क्षेत्रको उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित

काठमाडौं। सरकारले गत आर्थिक वर्ष (आव) २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन्। आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। सोही मेसोमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो। आव ०७३/७४ मा स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले तिरेको छ। आर्थिक बर्ष २०७३/०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो। सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे। कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो। २०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको सञ्चालक डा.सुनिल शर्माले बताए।

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा प्रस्तुुत गर्ने

काठमाडौँ । पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि उक्त विधेयक प्रस्तुत गर्ने भएको छ । उपसमितिको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्य सम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले बताएका छन् । उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्न व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ । बैठकले न्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सरकारसँग प्रतिवेदन माग्ने निर्णय पनि गरेको छ । रासस