आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग
काठमाडौं। नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ । आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम चेतना भएकाले त्यहाँ सेवा लिन जाने बिरामीको चाप उल्लेख्य रूपमा बढ्न सकेको छैन ।नेपाल आयुर्वेद चिकित्सक सङघले बिहीबार प्रेश विज्ञप्ति प्रकाशित गर्दै आयुर्वेद चिकित्सा उपचारको पुरानो चिकित्सालयको रूपमा रहेको यस चिकित्सालयलाई यस क्षेत्रको केन्द्रीय चिकित्सालय बनाउन माग गरेको हो । सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले नेपालको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म पु¥याउन आवश्यक रहेकामा जोड दिनुभयो । आयुर्वेद चिकित्सा पद्धतिबाट प्राय सबै रोगको उपचार हुने चिकित्सालयको जिकीर छ । विशेषगरी कामला (हेपाटाइटिस, जन्डिस), अम्लपित्त, पक्षघात (प्यारालाइसिस), पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गर्ने उक्त चिकित्सालयले जनाएको छ । पञ्चकर्म, क्षारसूत्र, अक्युपञ्चर, फिजियोथेरापीलगायत सेवा पनि त्यत्तिकै लोकप्रिय रहे पनि विशेषज्ञस्तरका विविध सेवामा दरबन्दी थप नहुनु, सरकारको उच्च प्राथमितामा आयुर्वेद चिकित्सा नपर्नु, अध्ययन अनुसन्धानमा बजेट कम हुनुलगायत कारणले उक्त चिकित्सालयको खासै प्रवद्र्धन हुनसकेको छैन । यसैबीच आयुर्वेद चिकित्साकलय नरदेवीको शतवार्षिकी कार्यक्रम साताव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । चिकित्सालयका प्रमुख डा बैकुण्ठरमण सुवेदीले चिकित्सालयलाई उत्कृष्ट सेवा केन्द्र बनाउन प्राथमिकता दिएको जानकारी दिँदै यसका लागि स्वास्थ्य मन्त्रालयले थप रकम विनियोजन गर्नुपर्नेमा जोड दिए। रासस
पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु
काठमाडौं। पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए। क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिको समेत विकास भएको चर्चा गर्दै उनले यसविरुद्धको खोप शुरु गर्न लागिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालय, नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाइटी अफ क्लिनिकल ओक्कोलोजीको संयुक्त आयोजनामा शुरु भएको गोष्ठीमा क्यान्सर विशेषज्ञले नेपालका विभिन्न अस्पतालका करीब २५० चिकित्सक र स्वास्थ्यकर्मीलाई पाठेघर मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण गराउने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा डा ऋषिकेश नारायण श्रेष्ठले बताए। गोष्ठीमा अमेरिकाका पाँच, भारतका पाँच, चीनका तीन र नेपालका २६ गरी ३९ क्यान्सर विशेषज्ञले प्रशिक्षण एवं क्यान्सरको अवस्था, चुनौती र समाधानबारे जानकारी गराउने उनले जानकारी दिए। कात्तिक १७ गतेसम्म सञ्चालन हुने गोष्ठीमा नेपालमा महिलामा हुने पाठेघर मुखको क्यान्सरको न्यूनीकरण र उपचार पद्वतिका बारेमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षणसमेत दिइने अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए। रासस
नेपाल क्यान्सर अस्पतालकाे तेस्रो ‘क्यान्सर सर्भाइभर मिट’
काठमाडौं। नेपाल क्यान्सर अस्पतालले तेस्रो ‘क्यान्सर सर्भाइभर मिट’ गरेको छ। मंगलबार अस्पतालमा कार्यक्रम गरी स्तन क्यान्सर भएका बिरामीसँग अन्तरक्रिया गएिको हो। कार्यक्रममा स्तन क्यान्सर सर्भाइभर वन्दना शर्माले आफ्नो अनुभव सुनाइन्। ‘रोगले भन्दा बढी डरले गाल्ने रहेछ’, उनले भनिन्’, त्यसैले क्यान्सर राेगीले उपचारसँगै आत्मबल पनि बलियो बनाउनुपर्छ।’ कार्यक्रममा हेल्थ ह्यापिनेस ट्रेनर सिमन न्यौपानेले कारणविनै खुशी हुने अभ्यास गरे शरीरको रोग प्रतिरोधात्मक शक्ति बढ्ने तर्क गरे। ‘जो हाँस्न जान्दैन, त्यो बाँच्न पनि जान्दैन’, उनले भने, ‘जब रोगले च्याप्दै जान्छ तब स्वास्थ्य ठूलो भन्ने थाहा हुन्छ।’ कार्यक्रममा ६० भन्दा बढी क्यान्सर सर्भाइभर रोगी सहभागी भएको अस्पतालले जनाएको छ। सुदीप्त (जीवनको नयाँ बिहानी) नेपाल क्यान्सर सहयोग समूहको इकाइ र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा कार्यक्रम गरिहेको हो। अक्टुबर महिनाभर स्तन क्यान्सरसम्बन्धी विभिन्न कार्यक्रम गरेको अस्पतालले जनाएको छ। अस्पतालले भदौदेखि क्यान्सर सर्भाइभर मिट गर्दै आएको छ।