‘डाइभर्सन’ बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनले बताए । डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ । यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ । असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ ।
४० लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए । मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् । ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए। डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।
दोर्दी खोलाको कटअफ मूल्य साधारणको २७० रुपैयाँ र संस्थापकको २६५ रुपैयाँ
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको सेयरको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको संस्थापक समूहको (लकइनमा रहेको) सेयरको कटअफ मूल्य २६५ रुपैयाँ कायम भएको छ । यस्तै, सर्वसाधारण समूहको (लकइनमा रहेको) सेयरकाे कटअफ मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँ दरका संस्थापक समूहको (लकइनमा रहेको) १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको (लकइनमा रहेको) १ लाख ६५ हजार ९५६ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९५ हजार ६७९ कित्ता (लकईनमा नरहेको) गरी कुल १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित सेयर जेठ ११ गतेदेखि जेठ २० गतेसम्म बिक्री खुला गरेको थियो । कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले जेठ २८ गते बाँडफाँड गरिएको जनाएको छ । कटअफ मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको तथा सर्वसाधारण समूहको (लकइनमा नरहेको) हकमा माग भन्दा कम सेयर खरिदको लागि आवेदन प्राप्त भएकोले रितपुर्वक आवेदन पेश गर्नेहरूलाई माग बमोजिम बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । बाँडफाँटकाे विवरण बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ । बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी जेठ ३० गते शुक्रबारदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता सेयरको लागि आवेदन नपरेकाले पुनः लिलाम बिक्री गरिने कम्पनीले जनाएको छ ।