बुर्तिबाङलाई नयाँ सहर बनाउने घोषणा अलपत्र, आयोजानाका लागि १ अर्ब विनियोजन भएन
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा १० नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो । आयोजनाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत रूपमा काम हुन सकेको छैन । २०६९ साल अगाडि नै बुर्तिबाङमा बजारको रूपमा स्थापित थियो । त्यसलाई थप व्यवस्थित गर्दै जाने भनिए पनि पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको देखिन्छ । विसं २०६९ देखि २०९० सम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य थियो । आयोजान सुरु भएदेखि हालसम्म ७८ करोड रुपैयाँ बढी रकम सरकारले विनियोजन गरेको छ । त्यसमध्ये ५० करोड रुपैयाँ मात्र खर्च भएको छ । नयाँ सहर आयोजनाले अझै थुप्रै पूर्वाधारका क्षेत्रमा काम गर्न बाँकी नै छ । आयोजनाले हालसम्म १६.३ किलोमिटर सडक ढलान, छ १०.३ किलोमिटर नाला निर्माण, ५ किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, एउटा सभाहल, कुतथ्याप्लामा एकीकृत भवन, मनोरञ्जन पार्क निर्माण, २७२ स्थानमा सौर्यबत्ती जडान, ५६ रोपनी जग्गा खरिद गरेको आयोजना कार्यालय सूचना अधिकारी कोमल शाहले जानकारी दिए। अहिले बसपार्क र टर्मिनल भवन निर्माणको भइरहेको उनको भनाइ छ । विनियोजित रकम खर्चका आधारमा पाँच प्रतिशतमात्र काम भएको उहाँले बताए । हाल तारीखेतबाट कुत्थ्याप्ला पहुँचमार्ग, पार्क निर्माण, कर्वडहलबाट दुलेसम्मको सडक र भब्रेटामा खेलकुद मैदान निर्माण भइरहेको छ । बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र र नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार हो । बजार क्षेत्रमा सवारी चाप बढ्दै गए पनि सडकको अवस्था पुरानै छ । नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत पूर्वधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सूचना अधिकारी शाह बताउँछन् । यो आयोजानाका लागि १ अर्ब रुपैयाँ समेत विनियोजन भएको छैन । सरकारले हालसम्म आव २०७२/७३ मा ४ करोड ४७ लाख रुपैयाँ, आव २०७३/७४ मा ८ करोड २२ लाख रुपैयाँ, आव २०७४/७५ मा १६ करोड ४० लाख रुपैयाँ, आव २०७५/७६ मा १३ करोड ६ हजार रुपैयाँ, आव २०७६/७७ मा ७ करोड ५७ लाख रुपैयाँ, आव २०७७/७८ मा ६ करोड ७३ लाख रुपैयाँ, आव २०७८/७९ मा १२ करोड ६ लाख रुपैयाँ, आव २०७९/८० मा १८ करोड ३३ लाख रुपैयाँ, आव २०८०/८१ मा ७ करोड ३३ लाख रुपैयाँ तथा चालु आवमा ९ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको थियो । हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्यअनुसार काम गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । बर्सेनि करोडौँको बजेट नयाँ सहरका लागि आए पनि सोचेअनुसारको काम नभएको स्थानीय कुलमबहादुर घर्तीले बताए । आयोजना कार्यालयले फाट्टफुट्ट कम गरे पनि देखिने गरी नभएको उनको भनाइ छ । आम नागरिकले बढी प्रयोग गर्ने सडक, खानेपानी र बसपार्क भएको भन्दै ती कुनै पनि पूर्वाधार व्यवस्थित नभएको घर्तीले सुनाए । ‘१०/१२ वर्ष भयो यो नयाँ सहरको काम सुरु भएको तर अहिलेसम्म गतिलो संरचना बनेको देखिँदैन, बुर्तिबाङ बजारमा अहिले पनि पहिलेकै साँघुरो सडक छ, ओहोरदोहोर गर्न गाह्रो छ, साँघुरो सडकमा जोखिम मोलेर यात्री हिँड्छन्, फोहर व्यवस्थापन पनि हुनसकेको छैन, काम गरेपछि त केही फरकपन हुनुपर्ने हो, तर खासै केही परिवर्तन भएको छैन,’ उनले भने । अझै चुरेलावासमा पुल, खेलमैदान, सडक, हाटबजार, शीतभण्डार निर्माणलगायतका संरचना निर्माण गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ ।
माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना निर्माण धमाधम, सुरुङ खन्न सुरु
काठमाडौं । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत् गृह रहने मालिका गाउँपालिका-७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको काम सम्पन्न गर्न आग्रह गरे । योसँगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ । यसअघि आयोजनाको बाँध स्थल धवलागिरि गाउँपालिका-४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भइरहेको छ । अडिटतर्फबाट निर्माण भइरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ १ किलोमिटर ८६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । उनका अनुसार, यस आयोजनामा बाँधबाट विद्युत् गृहसम्म ५ किलोमिटर ७ सय मिटर सुरुङ निर्माण हुनेछ । म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले धवलागिरि-४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा पर्याप्त मात्रामा जनशक्ति निर्माण सामग्री र उपकरणको बन्दोबस्त मिलाएको आयोजना प्रमुख केसीले जानकारी दिए । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत् गृह निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । छहरीको १९८.९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६.५४ मिटर लामो सुरुङ र अडिटबाट थप एक किलोमिटर २७०.६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको छ । सानिमा बैंकको नेतृत्वमा छवटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख रुपैयाँ लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका-७ भारवाङमा रहनेछ । भारवाङबाट १.५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सबस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिने छ ।
शुभकालिकामा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन, ६ करोडको लगानीको आयोजना अन्तिम चरणमा
कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ । चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा १०० किलोवाटको सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको हो । सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेको त्यसैअनुसार निजी क्षेत्रको साझेदारीमा शुभकालिका नीति तथा सरकारी क्षेत्रको लगानीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत प्रालिको रु एक करोड ३० लाख र ऊर्जा प्रवर्द्धन केन्द्रको रु दुई करोड ९२ लाख रकम र गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले बताए । ‘परियोजनामा जम्मा रु छ करोड २५ लाख खर्च भएको छ’, उनले भने, ‘खम्बा गाड्नेलगायत अन्य परियोजनामा काममा नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले सहयोग गरेको छ ।’ गाउँपालिकालाई विद्युतीकरण गर्नका लागि सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए। ‘गाउँपालिका पूर्णरुपमा विद्युतीकरण हुन सकेको छैन’, उनले भने, ‘यहाँ उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ ।’ सौर्य ऊर्जाबाट यही जेठको अन्तिममा वा असारको पहिलो साताबाट विद्युत् उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए। ‘यहाँ उत्पादन भएको विद्युत् प्राधिकरण कालिकोट वितरण शाखाको सहजीकरणका वितरण गरिनेछ’, उनले भने, ‘यस उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ ।' रासस