धौलागिरि अस्पताल १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति

काठमाडौं । बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पतालका रूपमा ५० शय्यामा सञ्चालित उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति गरेको हो । जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले स्तरोन्नतिसँगै विशिष्टिकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । ५० श्ययाको अस्पतालबाट स्तरोन्नति नहुँदा अहिलेसम्म दरबन्दी थपिन नसकेको उनको भनाइ छ । गत वर्ष नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भए पनि अस्पताल स्तरोन्नति नहुँदा पठनपाठनमा समस्या भएको बताउँदै स्तरोन्नत्तिपश्चात् नर्सिङ पढाउन बाटो खुलेको डा तिवारीले जानकारी दिए ।  ‘अहिले पनि एक सय २६ शय्यामा बिरामीको उपचार गरिरहेका छौँ, तर नीतिगत रूपमा ५० शय्याको मात्रै हुँदा समस्या थियो, दरबन्दी बढ्दा सेवामा सहजता आउँछ,’ उनले भने, ‘एक सय शय्यामा स्तरवृद्धि गरेपछि अस्पतालमा दरबन्दी थपिनेछ भने स्वास्थ्य क्षेत्रमा गुणस्तर थपिनेछ, नर्सिङ पढाउन सहज हुनेछ ।’ तिवारीका अनुसार अहिले अस्पतालमा २२ विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत छन् । विसं २०१५ मा धौलागिरि अस्पताल डिस्पेन्सरीका रूपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालका रूपमा सेवा सञ्चालन गरेको थियो । अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगामी वर्षमा बजेट व्यवस्थापन गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले नौ अस्पतालको एकमुस्ट स्तरोन्नति गर्ने निर्णयअनुसार धौलागिरि अस्पताल स्तरोन्नति गरिएको हो । गण्डकी प्रदेशको यही जेठ १२ गते बसेको बैठकले नौ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । सरकारले अस्पतालको कर्मचारी संरचना र शय्या सङ्ख्या निर्धारण गरेको छ । धौलागिरि अस्पतालमा कर्मचारी दरबन्दी ९९ पुगेको छ । यसअघि बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । धौलागिरि आयुर्वेद अस्पताल स्तरोन्नतिपछिको सेवा दिने तयारीमा रहेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । 

मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए । पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले बताए । यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनको भनाइ छ । तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनले बताए । उक्त पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उनको भनाइ छ ।  विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो । पूर्वीखण्ड अन्तरगत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम ८५ प्रतिशत सकिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्र करिब सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यो खण्ड अन्तर्गत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्र गर्न बाँकी छ । दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ । यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताए । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ । 

हिमालयन हाइड्रोको ९० लाख २१ हजार कित्ता सेयरको लकइन सकिँदै

काठमाडौं । हिमालयन हाइड्रोपावरको संस्थापक सेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि असार २७ गते सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ८७ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको स्वामित्वमा रहेको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको ३९ हजार ३६५ कित्ता गरी कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि सर्वसाधारण सेयर सरह उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिई कम्पनीले सार्वजनिक निस्काशनपश्चात् विसं २०७९ असार २८ गते सेयर बाँडफाँट गरेको थियो । सेयर बाँडफाँटपछि ३ वर्षको लागि कारोवार रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार कम्पनीको सेयर लकइन सकिन लागेको हो ।