भक्तजनका लागि मुक्तिनाथमा पदमार्ग निर्माण तीव्र, एक करोडभन्दा बढी बजेट खर्च
मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो । आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथधामको दुई स्थानमा अलगअलग पदमार्गको ठेक्का सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए। यसका लागि मुक्तिनाथ रानीपौवा बजारमा रु एक करोड र मुक्तिनाथ ज्वालामाई गुम्बा जाने पदमार्गमा रु एक करोड बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको असारभित्रै सम्पन्न गर्नेगरी मुक्तिनाथ रानीपौवा बजार क्षेत्रमा नाली तथा फुटपाथ निर्माण गरेर छप्पनी ढुङ्गा बिच्छ्याउने गरी पदमार्ग निर्माण गर्न दुईभाइ निर्माण सेवा काठमाडौँले ठेक्का सम्झौता गरेको थियो । मुक्तिनाथ बसपार्क नजिकैबाट मुक्तिनाथ जाने रानीपौवा बजार क्षेत्रमा दुई सय मिटर दूरीमा छप्पनी ढुङ्गा बिछ्याउने काम भइरहेको इन्जिनियर भण्डारीले उल्लेख गरे । भक्तजनको सहजता र रानीपौवा बजारको सौन्र्दयीकरणका लागि नाली र फुटपाथसहित आठ मिटर चौडा पदमार्ग निर्माण भइरहेको इन्जिनियर भण्डारीले बताए । रानीपौवा बजार क्षेत्रमा चार मिटर चौडामा छप्पनी ढुङ्गा बिछ्याएर पदमार्ग स्तरोन्नति गरिने बताए । रानीपौवामा छप्पनी ढुङ्गा बिछ्याएर पदमार्ग निर्माणको पछिल्लो भौतिक प्रगति ४५ प्रतिशत पुगेको उनले जनाए । यसैगरी मुक्तिनाथधामको मुख्य प्रवेशद्वारबाट ज्वालामाईसम्म रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माणको जिम्मा पिके कन्ट्रक्सनले लिएको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ । त्यहाँ तीन सय ५० मिटर दूरीमा दुई दशमलव एक मिटर चौडा रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माण भइरहेको छ । ज्वालामाईसम्मको रेलिङसहितको सिँढी बाटो पदमार्गको पछिल्लो भौतिक प्रगति ८० प्रतिशत पुगेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ । रासस
राजस्व नबुझाएर बन्द गरिएका तामाखानी उत्खननको पुनः तयारी
बागलुङ । नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्याएको छ । तामा निकाल्ने धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय यस्तो देख्न पाइएको छैन । जैमिनी–१०, राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकैको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको जानकारी दिए । 'बाजेले तामाको धाउ निकालेर बिक्री गरेर जीविकोपार्जन गर्नुभएको थियो, पछि तामाको धाउमा कर बढी लगाएपछि खानी बन्द भएको हो', स्थानीय वृद्ध श्रीसले भने, 'पाखैभरि तामा खनेका डोबहरू छन्, चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन्, हामी सुरुङमा हिँडेका छौँ । तर, कतिपय सुरुङ मेटिन थालेका छन्, पहिराले पुरिएको अवस्था छ, उत्खननमा सरकारले जोड दिन आवश्यक छ ।' बागलुङको राङ्खानी क्षेत्रमा तामाखानीका थुप्रै सुरुङका प्वाल छन् । जसमध्ये केही सुरुङका प्वाल मेटिन थालेका छन् । राङ्खानीको डाँडाखानीलगायत क्षेत्रमा एक सय २० वर्षभन्दा अघिसम्म उत्खनन गरिएका तामाखानी यतिबेला पुरिने अवस्थामा पुगेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण उत्खनन बन्द भएका तामाखानी अझै सञ्चालनमा आउन सकेको छैन । तामाखानीबाट राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको स्थानीय बमबहादुर श्रीसले जानकारी दिए । स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको उनले बताए । अहिले पनि तामाका अवशेष रहेकाले सम्भाव्यता अध्ययन गरेर खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयले खानी सञ्चालनमा ल्याउँदा स्थानीय सरकार र स्थानीयको आयआर्जन बढ्ने बताएका छन् । खानीबाट स्थानीयवासीले आफ्नै सीप र प्रविधिको प्रयोगबाट सानो मात्रामा तामा निकाल्ने गरेकोमा पछिल्लो प्रविधिको विकासले ठूलो मात्रमा तामाखानी निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताए । खानीमा अन्य जिल्लाका मजदुरसमेत आएर काम गर्ने गरेकाले ठूलो मात्रमा तामा रहेको अनुमान गरिएको छ । खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारलाई नभएकाले संघीय सरकारले पहलकदमी गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताए । दमेक र राङ्खानी क्षेत्रमा खानीको जैमिनी नगरपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए । तामा उत्पादनका लागि निकालिएको धाउलाई स्थानीय भाषामा राङ भन्ने चलन भएकाले राङको खानी भएकाले तत्कालीन राजा रजौटाले यस ठाउँको नाम नै राङ्खानी राखिएको भन्ने चलन छ । तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रको खानी उत्खननका लागि सम्भाव्यता अध्ययन गर्न खानी तथा भूगर्भ विभागबाट अनुमतिप्राप्त भए पनि एकिन तथ्याङ्क आउन सकेको छैन । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुङ्गाखानी पनि छन् । ढुङ्गाखानी केही स्थानमा उत्खनन हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन हुन सकेका छैनन् । रासस
चाँगुनारायण नगरपालिकाले आफ्नै स्रोतबाट स्तरोन्नति गर्दै भक्तपुर-नगरकोट सडक
काठमाडौं । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर-नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी भक्तपुर-नगरकोट सडक स्तरोन्नति कार्य सुरु गरेको हो । नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडक खण्ड स्तरोन्नति आफ्नै आन्तरिक स्रोतबाट गर्ने गरी बोलपत्र आह्वान गर्दै १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी स्तरोन्नति एवं पुनर्निर्माण सुरु गरेको हो । एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको ११ वर्षमा १०औँ पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड रुपैयाँ पुर्याउँदा पनि विभिन्न बाहान गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । नगर प्रमुख खत्रीले भने, ‘चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्र नभई सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनु हुँदैन । मैले जनतासँग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पूरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता गरी अब आसप्लान्ट पिच (कालोपत्र) गर्न बेस बिछाउने काम सुरु गरेका छौँ ।’ सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पूरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भाेगेकाले यो सडकलाई पूरा गर्न भक्तपुर-नगरकोट सडकको स्तरोन्नति आवश्यक रहेको उनले बताए । केन्द्रीय सरकारले यो सडक पुनः स्तरोन्नति गर्न यस वर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्नै लामो समय लाग्ने मन्त्रालयले जनाएपछि नगरपालिका आफैंले कालोपत्र गर्न लागेको नगर प्रमुख खत्रीले बताए । उनले भने, ‘सम्बन्धित मन्त्रालयसँग र सडक विभागसँग छलफल गरेरै काम थालनी गरेका हौँ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरी खाल्डो पुर्ने र सडकको स्तरोन्नति गरेर कालोपत्र गर्छौँ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्ने गरी छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का सम्झौता गरेका हौं ।’ शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा नगरपालिकाले नगरकोटबाट सडकको लेबल मिलाएर ग्राभेल हाल्दै बेस मिलाउने काम सुरु भइसकेको र त्यसमाथि आसप्लान्ट कालोपत्र गरिने बताए । एक महिनाभित्र सडकका सबै निर्माण सम्पन्न गरिने उनको भनाइ छ । त्यसैगरी बागमती प्रदेश सरकारको ५९ करोड रुपैयाँको लागतमा भक्तपुर नगरपालिकाको डेकाचादेखि चाँगुनारायण हुँदै काठमाडौंको साँखु ९ किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।