बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना
म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सात वटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प भएको छ । बजेट अभावका कारण गत चैत महिनादेखि सडक निर्माण ठप्प भएको हो । गत वर्ष म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । अर्थ मन्त्रालयले एक अर्ब २० करोड बजेटको स्रोत सुनश्चितता गरेको थियो । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत वर्ष ठेक्का सम्झौता भएका तीन आयोजनामा यस वर्ष एक करोड ५० लाख देखि दुई करोड मात्र बजेट बिनियोजन भएको थियो । सरकारले स्रोत सहमति र सुनश्चितता गरेर बहुवर्षीय ठेक्का सम्झौता भइसकेका योजनाका लागि पर्याप्त बजेट व्यवस्थापन नगरेका कारण निर्माण प्रभावित भएका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताए । 'बिनियोजन भएको बजेट हिउँद सकिएपनि सबैजसो निर्माण कम्पनीले चैतसम्म काम गरिरहेका थिए', उनले भने, 'सरकारले रकमान्तर अथवा अन्य स्रोत व्यवस्थापनमा ढिलाइ गर्दा रोकिएको निर्माण नयाँ आर्थिक वर्ष नलाएसम्म सञ्चालन हुने देखिएन् ।' विषयगत मन्त्रालयका सचिव, मन्त्रि र मुख्यमन्त्रीलाई काम भइरहेका तथा सम्पन्न हुने चरणका योजनामा बजेट अभाव हुन नदिन आग्रह गरेपनि वेवास्ता गरेका जुग्जालीले गुनासो गरे । बेनी–पाखापानी, बेनी–दरवाङ, धारापानी–ताकम–शिवाङ, अदिभारा–डाडागाउँ, पखेर–बङ्जा, बगरफाँट–भकिम्ली सडक आयोजना पूर्ण रुपमा ठप्प छन् । खारा–बिम सडक र शिवरात्रिखोला मोटरेबल पुलका ठेकेदारले कामको गति घटाएका छन् । चित्रे–घोडेपानी सडक र दरखोला मोटरेबल पुल योजनाका ठेकेदारले निर्माण सुरु नै गरेका छैनन् । पूर्वाधार विकास कार्यालय म्याग्दीले चैतमा बहुवर्षीय योजनाहरुका लागि मन्त्रालयमा १३ करोड ९० लाख थप बजेट प्रस्ताव गरेको थियो । बेनी–दरवाङ सडकको तेस्रो खण्डका ठेकेदार बिरुवा–क्याराभानलाई मात्र आन्तरिक रकमान्तर मार्फत एक करोड भुक्तानी भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले बिनियोजित बजेट भुक्तानी भइसकेको र रकमान्तर अथवा थप बजेट व्यवस्थापन नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको बताए । अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गत असारमै लक्ष्यभन्दा एक वर्ष अघिनै काम सकेपनि अझै भुक्तानी पाएका छैनन् । अदिभारा मोटरेबल पुलका ठेकेदारले भने बजेट सकिएपनि निर्माणलाई पूर्णता दिने उद्देश्यले काम गरिरहेका छन् । पखेर–बरङ्जा सडक योजनाका निर्माण व्यवसायी जीवन रोकायाले सरकारले बजेट व्यवस्थापन गर्न नसकेपछि निर्माण स्थगित गरेको बताए । रासस
सगरमाथा जलविद्युतलाई १ सय प्रतिशत हकप्रद सेयर जारी गर्न आयोगको सहमति
काठमाडौं । विद्युत नियमन आयोगले सगरमाथा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि सहमति प्रदान गरेको छ । नियमन आयोगको जेठ ११ गतेको बैठकले कम्पनीलाई चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो । विद्युत नियमन आयोग नियमावली २०७५ को नियम ४५, विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ५, ६ र ७ बमोजिम सहमति प्रदान गरेको आयोगका शाखा अधिकृत विकास डंगोलले जानकारी दिए । आयोगको विसं २०८१ साउन ८ गतेको बैठकबाट तत्काल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृति प्राप्त गरेको थियो । विसं २०८१ चैत ४ मा हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृतिको लागि निवेदन पेश गरेको थियो । सगरमाथा जलविद्युत कम्पनी ९.६ मेगावाट क्षमताको सुपर माइ–ए जलविद्युत आयोजनाको प्रवद्र्धक हो ।
हुम्लामा २ वटा सबस्टेसन निर्माण हुँदै, दसैँमा विद्युत् बाल्ने
काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिका-१ कुम्णामा ३३ केभी प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३/३३ केभी क्षमताका सबस्टेसन बनिरहेका छन् । सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्माणाधीन छन् । यी दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताए । ‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ,’ उनले भने । जिल्ला सदरमुकाम स्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् पहुँच पुर्याए पनि अन्य गाउँपालिकामा अझै लघु जलविद्युतको भरमा गाउँले छन् । जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत उत्पादन गरी विद्युत् वितरण गरेको छ भने अदानचुलीमा हाल स्थानीयस्तरमै उत्पादन भएका १०० किलोवाटका २ वटा विद्युत् आयोजना भएपनि पटकपटक बिग्रने गरेको छ । हाल कुकुर फाल्ना लघु जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ । तर, सो विद्युत् सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छ भने वडा नम्बर १, २ र ३ का लागि बनेको छहरा खेत जलविद्युत्को पावर हाउस गत वर्ष पहिरोले बगाउँदा पुनः निर्माण हुन सकेको छैन । ती प्रसारण लाइनबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभी प्रसारण लाइनका सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए । यतिबेला ३३ केभि सबस्टेसन बन्न सुरु गरेको छ भने यता सुदूरपश्चिम हुँदै ११ केभीको एलटी लाइन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङले बताए । उनका अनुसार बाजुराको मार्तडी सब स्टेसनबाट, कोल्टी, खत्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजार वटा पोल गाड्ने काम भइरहेको र सकेसम्म दसैँमा विद्युत् बाल्ने तयारी छ । हुम्लाको विद्युत् आपूर्तिलाई भर पर्दो र गुणस्तरीय बनाउन सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाह बताउँछन् । हुम्ला र मुगुका चार सब स्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएर काम गरिरहेको तुम्च सबस्टेसन कुम्णामा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिए । उनका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेसन निर्माण भइरहेको छ । हाल ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताए । राष्ट्रिय प्रसारण लाइन जोडिँदै विसं २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगे सँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको थियो । मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो । हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई हाल सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सब स्टेसन निर्माण भइरहेको छ ।