सूर्यविनायक-धुलिखेल सडक निर्माण प्रगति ५० प्रतिशत
काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ मिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिए। निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गरे। उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे । सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गरे। दुवै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
विजयपुर खोलामा ‘गिर्डर लन्चिङ’ सुरु, पृथ्वीराजमार्ग ४ घण्टा बन्द
काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने पोखराको विजयपुर खोलामाथि निर्माणाधीन पुलमा आजदेखि ‘गिर्डर लन्चिङ’ (पुललाई अड्याउन प्रयोग गरिने निदाल) सुरु भएको छ । मुग्लिन-पोखरा सडक आयोजना पश्चिम खण्डले राजमार्ग स्तरोन्नतिको काम गर्दै आएको छ । सोही आयोजनाअन्तर्गत विजयपुर खोलामा पक्की मोटरेबल पुल निर्माण भइरहेको हो । उक्त आयोजनाका प्रमुख कृष्णबहादुर कुँवरले सोमबारदेखि पुल क्षेत्र बाहिर तयार पारिएका गिर्डरलाई पुलमाथि राख्ने कार्य (गिर्डर लन्चिङ) सुरु भएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म दैनिक ४ घण्टा सडक बन्द गरेर काम भइरहेको हो । आयोजना प्रमुख कुँवरले भने, ‘पहिलो दिन एउटा गिर्डर राखिएको छ । मङ्सिर ११ गतेसम्म १५ वटा राख्ने योजना अुनसार आजदेखि काम हुनेछ । सकभर कम ट्राफिक जाम होस् भनेर दैनिक चार घण्टा सडक बाटो बन्द गरेर काम भइरहेको छ ।’ विजयपुर खोलाको पुल अबको २ महिनाभित्रमा निर्माण सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । ‘गिर्डर राखेपछि पुलको स्लाब ढलान र दुवैतिरको सडक ढलान बाँकी छ । २ महिनाभित्रमा सबै काम सकिन्छ,’ कुँवरले भने । एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-मुग्लिङ सडक आयोजनाको पश्चिम खण्डमा पोखराको सेती नदी र विजयपुर खोलामाथि कङ्क्रिट र फलाम प्रयोग गरेर पुल निर्माणको चरणमा छ । आयोजना प्रमुख कुँवरले राजमार्गमा सवारीसाधनको चापले पुलको काममा कठिनाइ हुने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । मुग्लिन-पोखरा सडक आयोजनाले दुई पाङ्ग्रे तथा साना सवारीसाधनका लागि बूढी बजारबाट बेल चौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउस चोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । उक्त आयोजनाअन्तर्गत पश्चिम खण्डको पोखराबाट तनहुँको जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको प्रमुख कुँवरले जानकारी दिए ।
सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सोलु हाइड्रोपावरले आज मंसिर ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले मंसिर २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।