मन्त्री घिसिङले गरे बागमती करिडोर निरीक्षण, ढल व्यवस्थापन र सडक सुधारमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् ।  शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाललगायत सम्बन्धित निकायका टोलीसहितको टोलीले गुह्येश्वरीबाट सुन्दरीजल क्षेत्रम्मको नदी कारिडोर र सडक स्तरोन्नति बारे जानकारी लिएको थियो । टोलीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्म क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवम् स्तरोन्नतिलगायतका विषयमा स्थलगत जानकारी लिएको थियो ।  मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए । उनले काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिरकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण निर्माण तथा मर्मत सम्भार देखिएको समन्वययको समस्यालाई छिटै समाधान गरिने प्रतिबद्धता जनाए ।  ‘काठमाडौं उपत्यकाका नदीलाई सफा बनाएमा मात्र शहर सफा हुने भएकाले अल्पकालीन र दीर्घकालीन रुपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौं, ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रुपमा गरिरहेका छौं, नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्नेलगायतकालाई उच्च प्राथमिकता राखी कार्य अगाडि बढाइरहेको छ, यसका लागि  स्थानीय पालिकासँग समन्वयकासाथ काम गरिरहेका छौं, सडक किनारमा बेवारिसे अवस्थामा छाडिएका गाडी हटाउन उपकरण उउपकरण उपलब्ध गराउँछौं, त्यस्ता गाडीहरु तत्काल हटाउनुहोला,’उनले भने, ‘गोकर्णेश्वर मन्दिर नजिक बागमती नदी बायाँ किनारको करिब एक सय मिटर सडकलाई फराकिलो बनाउन सकिएमा माकलबारीबाट सिधै गोकर्णेश्वर मन्दिरतर्फ सवारी गाडी पास गराउन सक्ने अवस्था रहेछ, सडक फराकिलो बनाउन नेपाल ट्रष्टको कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गरिने छ ।’ चावहिल—सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरे । 

नारायणघाट–बुटवल सडक विस्तार राति मात्र, १० दिनभित्र कालोपत्र सकिने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।  नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए ।  ‘दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो’, उनले भने, ‘रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रूपमा सडक विस्तार भइरहेको छ ।’ दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उनले बताए । कार्यतालिका बमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा यस सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले बताए । गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ । चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ ।  ‘दाउन्नेमा तीन किमी सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमी ढलानको काम भइरहेको छ’, उनले भने, ‘दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदैछ ।’  यस सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले जानकारी दिए । उनका अनुसार नारायणघाट–बुटवल खण्डको ११४ किमीमध्ये पूर्वी खण्डमा ६५ किमी र पश्चिम खण्डमा ४९ किमी पर्दछ । सडक विस्तारका क्रममा यस खण्डको १०० किमी चार लेनमा तथा दाउन्नेको १४ किमी सडक तीन लेनमा विस्तार हुँदैछ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताए । उनका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ । रासस

७० करोडको परियोजना आठ वर्षदेखि रोक्का : कोबाङ-जोमसोम सडक अलपत्र

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो । मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको चार खण्ड आर्थिक वर्ष २०७३-७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो । पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले ११ मिटर चौडा सडक निर्माणसहित कालोपत्र गर्न रु ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुआती चरणमा उक्त खण्डमा निर्माण कम्पनीले काममा तीव्रता दिए पनि केही समयपछि ढिलासुस्ती गरेपछि काम रोकिएको थियो । लामो समयसम्म काम नगरेपछि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको थियो । आयोजनाको पटकपटकको ताकेता र कारबाहीको प्रक्रिया अघि बढाइपछि जेभीको मुख्य कम्पनी गौरी–पार्वतीले उक्त खण्डको जिम्मा लिएको थियो । गौरी पार्वती निर्माणमा फर्किए पनि आंशिक रूपमा मात्र काम भएको छ । निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण कामले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि कम्पनीलाई कूल ठेक्का सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ । सुरुआती ठेक्का सम्झौता भएको कोबाङ–जोमसोम सडकको हालसम्म सातौँ चरणमा म्याद थपको प्रक्रिया अघि बढेको आयोजनाका सूचना अधिकारी इञ्जिनीयर बाबुसाहेव बैठाले जानकारी दिए । उनका अनुसार हाल उक्त सडकको भौतिक प्रगति ९० प्रतिशत र वित्तिय प्रगति ८० प्रतिशत छ । कोबाङ–जोमसोम सडकअन्तर्गत थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी प्रविधिको सडक विस्तार गर्ने काम बाँकी रहेको गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीले बताए । यस क्षेत्रमा कालोपत्र र आरसिसी प्रविधिको ‘ड्रेन’ र ‘स्टक्चर’को काम सकिएको छ । साथै सोहीखण्डको मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब एक हजार २०० सय मिटर कालोपत्र गर्न बाँकी रहेको अधिकारीले जानकारी दिए । जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र गर्न बाँकी रहेको उनले बताए । कम्पनीका प्रतिनिधि अधिकारीले कोबाङ–जोमसोम सडकको सम्पूर्ण काम मङ्सिर मसान्तसम्म सम्पन्न हुने दाबी गरे । 'हामीले जिम्मा लिएपछि कामलाई तीव्रता दिएका हौँ, सोहीअनुसार काम पनि भइरहेको छ', उनले भने, 'अहिले कामदार धान काट्न घर गएकाले काम रोकिएको हो, अब एक हप्ताभित्रै कामले निरन्तरता पाउने छ ।' राष्ट्रिय गौरवको बेनी–जोमसोमअन्तर्गतको चौथो खण्ड कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ । कोबाङ–जोमसोम सडक पूरा भएमा मुस्ताङ र म्याग्दीको सिमाना घाँसाबाट कागबेनी–मुक्तिनाथसम्मको आवागमन सहज हुनेछ । रासस