‘भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं’
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच ट्रान्समिसन लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयासहरू सकारात्मक रहेको बताउँदै यसबाट भारतले थप बिजुली लैजान खोजेको बताएका छन् । भारत सरकारले नेपालसँग प्रशारण सञ्जाल विस्तार गर्न चासो देखाउनु, भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेतका रुपमा उनले अथ्र्याएका छन् । भारतले दीर्घकालिन रुपमा आफूलाई चाहिने बिजुली व्यवस्थापन गर्न लागेको बताउँदै उनले नेपालले पनि बिजुली उत्पादनमा अब अलमल गर्न नहुने बताए । कार्कीकाअनुसार भारतलाई नेपालको बिजुली चाहिन्छ भन्ने बुझाइ बनेको छ । ५–१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ र त्यो नेपालबाट नै ल्याउनुपर्छ भन्ने अवस्था भारतले देखेको छ । नत्र भने उसले यति ठूलो लगानी गरेर ट्रान्समिशन लाइन बनाउनुपर्ने कुनै कारण नरहेको कार्कीको बुझाइ छ । कार्कीकाअनुसार भारत बिजुली खरिदका लागि पूर्वतयारी गरिरहेको छ । तर नेपालले विद्युत उत्पादन बढाउन सकेको छैन् । अब भारत बिजुली खरिदमा तयार हुँदै गर्दा नेपाल बिजुली उत्पादनका हिसावले तयार भएर सोही अनुसारको वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ । राजधानीमा आयोजित एक कार्यक्रममा इप्पान अध्यक्ष कार्की भने–‘नेपाल सरकारले भारत सरकारसँग ट्रासमिसन लाइन बनाउने कुरा आयो । मलाइ के लाग्छ भने भारत सरकारलाई कहिन कहिँ नेपालको बिजुली चाहिन्छ है भनेर किन्न तयार हुन खोजेको देखियो । ५–१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ, र त्यो नेपालबाट नै आयात गर्नुपर्छ भन्ने भारतलाई परेको छ । तर त्यो सँगसँगै हामी नेपाली बिजुली उत्पादनका लागि तयार छौं छैनौँ, त्यसले अर्थराख्छ । त्यो तयार हुनुका लागि हामीले पनि त्यही अनुसारको तयारी गरेर बिजुली उत्पादन सुरु गर्नुपर्ने हो ।’ कार्कीले एमसीसी परियोजनाको प्रशारण लाइन र अन्य ट्रान्समिशन लाइनहरू निर्माणको चरणमा छन् । यी सञ्जालहरू बनेपछि अझ बढी बिजुलीको माग बढ्नेछ । कार्कीका अनुसार अब सरकारले जलविद्युत्को क्षेत्रमा स्पष्ट नीति ल्याउनुपर्छ होइन भने उर्जा उत्पादकलाई सरकारले भारत र बंगलादेशलाई बिजुली चाहियो भने उनीहरूले आफैं लगानी गरेर बनाएर लैजाने बताइदिनुपर्छ । कार्कीकाअनुसार नेपालले प्रसारणमा प्रगति गरेपनि विद्युत् उत्पादन नबढाए भविष्यमा ठूलो अवसर गुमाउने जोखिम छ । हाल नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत भारतमा निर्यात अनुमति पाएको छ । नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई भारतीय पक्षले नविकरण गरिदिएको छ । विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विक्री गरिरहेको छ । भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात भइरहेको छ । अघिल्लो साता भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत विक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको थियो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा विक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात करिव एक वर्षका लागि नवीकरण स्वीकृति भएसँगै आगामी दिनमा समेत भारतमा बिजुली विक्री गर्न सहज भएको छ । त्यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिव १८० विद्युत विक्री भइरहेको छ ।
कालीगण्डकी कोरिडोर: लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै
काठमाडौं । कालीगण्डकी कोरिडोर अन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ । ‘१३ किलोमिटर लामो मालढुङ्गा-बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा २ किलोमिटर ढलान भइसकेको छ,’ उनले भने । यसअघि मालढुङ्गा-बेनी सडक अन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो । मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
सौर्य ऊर्जाबाट चम्कियो पियोर इनर्जी, पहिलो त्रैमासमा ९० लाख नाफा
काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो । पियोरले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै वर्षको सुरुवातमै नाफा कमाउन सफल भएको हो । २०७८ मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरी २०८० वैशाखदेखि व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जीका बाँकेमा १०/१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालनमा रहेका छन् । कम्पनीले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । ‘यस कम्पनीले पीपीए अनुसार नेपाल विद्युत प्राधिकरणलाई निरन्तर र कुनै अवरोधबिना बिजुली आपूर्ति गर्दै आएको छ,’ पियोरले सार्वजनिक गरेको वित्तीय विवरणमा भनिएको छ, ‘यस त्रैमासिकमा कम्पनीको खातामा नियमित विद्युत बिक्रीबाट रकम भुक्तानी प्राप्त भएको छ । आगामी अवधिमा पनि यस कम्पनीको आयोजनाको व्यवस्थापनको विश्लेषण गर्दै व्यावसायिक रूपले सक्षम तरिकाबाट सञ्चालन गरी अधिकाधिक विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई उपलब्ध गराउने योजना छ ।’ कम्पनीले हालसम्म बैंकबाट लिएको ऋणको साँवा तथा ब्याजको भुक्तानी नेपाल राष्ट्र बैंकद्वारा समय–समयमा गर्दै निर्धारित समयमा भुक्तानी गरिरहेको पनि जनाएको छ । गोल्याण ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । गत वैशाखमा आईपीओ निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष सोही अवधिको तुलनामा प्रतिसेयर आम्दानी पनि बढेको छ । २०८१/८२ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ रहेकोमा पछिल्लो समीक्षा अवधिमा ४.५० पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९७.२७ रुपैयाँ रहेको थियो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १०१.६१ रुपैयाँ पुगेको छ । निरन्तर नाफामा गइरहेको पियोर इनर्जीले सोल पावरमा २६ प्रतिशत सेयर लगानी गरेको छ । पियोर इनर्जीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको २०८१/८२ को वित्तीय विवरणअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका २ लाख ६० हजार कित्ता खरिद गरिएको छ । सोल पावरले पाँचवटा सोलार परियोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदन २०२४/२५ अनुसार सोल पावर अन्तर्गतका पाँचवटै परियोजनाको गत जेठ २९ गते विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएको छ ।