‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’, आजबाट ग्लाेबल आइएमई नेपालकाे सबैभन्दा ठूलाे बैंक
काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार शुरु सँगै बैंकले नयाँ इतिहास र नयाँ उचाइ प्राप्त गरेकाे हाे । कमलादीस्थित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यी सबै परिसूचकमा नेपालका अरु बैंकहरु भन्दा ग्लोबल आईएमई अगाडि छ । ‘केही वर्षअघि मात्र राष्ट्रिय वाणिज्य बैंकले १०० अर्ब निक्षेप पुर्याएको दिन मैले गभर्नरको हैसियतमा राष्ट्रिय वाणिज्य बैंक नेतृत्वलाई बधाई दिएको थिए । नेपालका बैंक पनि ठूलो भए भन्ने लागेको थियो’ अर्थमन्त्री युवराज खतिवडाले भने-‘अहिले ग्लोबल आइएमई बैंकको निक्षेप २१३ अर्ब भयो, कर्जा लगानी २०० अर्ब नजिक पुग्यो । प्राथमिक पुँजी २४ अर्ब पुग्यो भन्दा मलाई निकै खुशी लागेको छ ।’ मर्जसँगै शाखा तथा सेवा केन्द्रको आधारमा पनि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । ७७ वटै जिल्लामा सेवा दिन सक्ने ग्लोबल आइएमई बैंक नेपालको एक मात्र बैंक भएको मर्जपछि ग्लोबल आईएमई बैंकको सञ्चालक रहेका केशवबहादुर रायमाझिले बताए । कर्मचारीको संख्या, ग्राहक संख्या र सरकारलाई राजश्वमा बढी योगदान गर्ने बैंक पनि ग्लोबल आईएमई बैंक हुने अध्यक्ष ढकालले बताए । ‘बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् । गत वर्ष दुई बैंकले सरकारलाई ३ अर्बभन्दा बढी राजश्व तिरेको छ । यी आधारमा हामी अग्रणी बैंक भएको छौं’ ढकालले भने । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार शुरु गरेको २०६३ साल पुस १८ गते देखि हो । यो १९ औं वाणिज्य बैंक हो । त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो । यो २७ औं वाणिज्य बैंक हो । कुनै बेला ३२ वटा वाणिज्य बैंक रहेकोमा यो मर्जसँग वाणिज्य बैंकको संख्या २७ वटा भएको छ । ३ वटा स्वस्थ्य अवस्थाका वाणिज्य बैंकसहित १८ वटा बैंक वित्तीय संस्था मर्जपछि बनेकाे याे संस्थाले मर्जकाे मामिलामा पनि इतिहास नै बनाएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक ठूलाे भएसँगै जिम्मेवारी पनि ठूलाे भएकाे बताए ।
राष्ट्रिय निर्माण दिवस शुक्रबारः ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण हुँदै
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको जानकारी दिएकाे हो । महासंघकाे आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण व्यवसाय प्रबर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य रिद्धी सिद्धी सिमेन्ट (शंकर ग्रुप)को मुख्य आयोजनामा कार्यक्रम हुन लागेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरुलाई अवार्ड कार्यक्रम मार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । अवार्डमा जगदम्बा स्टिल्स् र केस कन्स्ट्रक्शन इक्विप्मेन्ट पाउरड बाई विधामा रहेका छन् । मंसिर २० गते (शुक्रबार) हुने साे कार्यक्रममा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सहभागी हुनुका साथै नेपाल सरकारका अन्य मन्त्रीहरु, सचिवहरु, विभिन्न विभागका महानिर्देशकहरु सहित देशभरबाट आएका निर्माण व्यवसायीहरुको पनि कार्यक्रममा उपस्थिति रहने अध्यक्ष सिंहले जानकारी दिए । अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा “पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति” गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिएका छन् । उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । साथै, प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म /कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुने भएका छन् । विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ । त्यस्तै नेपाल भरका निर्माण व्यवसायीका छोराछोरी मध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिने भएको छ । निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माण मैत्री ईन्जिनियर पनि उक्त अवसरमा सम्मानित हुने महासंघले जानकारी दिएको छ । निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई पनि अर्वाड प्रदान गरिने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैवर्ष देखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माण सरोकार सम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गर्न लागिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिएका छन् । यसैबीच महासंघले मंसिर २२ गते आइतबार बिहान १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरि सहित दिउँसो महासंघ सचिवालयमा रक्तदान कार्यक्रम गर्ने भएको छ । प्रभात फेरि कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्री मोहमद इस्तियाक राई रहने महासंघले जनाएको छ । साथै, सो कार्यक्रममा महासंघको मुखपत्र निर्माण समाचारको लोकार्पण गरिने भएको छ । प्रदेश महासंघ तथा सम्पूर्ण जिल्ला संघहरुमा समेत आइतबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिने महासंघले बताएको छ ।
संख्या र आकारको रेस सकियो, ग्लोबल आईएमईलाई अब गुणात्मक सुधारको चुनौती
काठमाडौं । १३ वर्षे केटो, १० वर्षे केटी । मंसिरको महिना, अभिभावकको ‘कहर’ मा इन्गेजमेन्टदेखि बिहेसम्म । सामान्य रुपमा हेर्ने हो भने अनौठो लाग्न सक्छ । अझ नयाँ देवानी संहिता लागु भएपछि त यसलाई एउटा सामाजिक अपराध कै रुपमा व्याख्या समेत गरिएको छ । तर, मंसिरको बिहेको शुभ मुहुर्तकै दिन एउटा यस्तै परम्परागत ‘एरेन्ज म्यारिज’ हुँदैछ, ठूलो घर र सुखी समृद्ध परिवार बनाउने लक्ष्यसहित । यो विवाहमा कुनै न त बेहुला बेहुलीको उमेरसँग सम्बन्ध छ न त कानूनी भय । राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालको अभिभावकीय इच्छाअनुसार हुन लागेको ग्लोबल आईएमई बैंक र जनता बैंकबीचकोे बिग मर्जको ‘लगन गाँठो’को कुरा हो यो । ती बैंकहरू शुक्रबारदेखि एक हुँदैछन् जसका लागि आज दुबै बैंकको सम्पूर्ण कारोबारहरू बन्द गरिएको छ । ग्लोबल आईएमई र जनता दुवै ‘युवा’ बैंक हुन् । नेपालको ८३ वर्षे बैंकिङ इतिहासमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पहिलो चरणमा स्थापना भएका बैंक हुन् । जुन शुरुमा पूर्ण सरकारी स्वामित्वमा थिए । वित्तीय क्षेत्रको दोस्रो सुधार कार्यक्रम अन्तर्गत दुईओटा बैंकहरूलाई आंशिक रुपमा निजीकरण गरियो भने राष्ट्रिय वाणिज्य बैंक अझै पनि पूर्ण सरकारी स्वामित्वमै सञ्चालित छ भलै एनआईडीसी डेभलपमेन्ट बैंकको केही हजार कित्ता शेयर त्यहाँ अझै सर्वसाधारणको नाममा छ । विश्वमा चलेको उदारीकरणको हावासँगै १९८० को दशकमा खुलेका अहिलेका नेपाल अरब बैंक, नेपाल इन्डोसिज बैंक र ग्रिनलेज बैंक जसलाई अहिले नबिल बैंक, इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक भनेर चिनिन्छ, ती बैंकहरूले पनि ३०/३५ वर्षको इतिहास बनाइसके । ती बाहेक २०औं शताब्दीमै खुलेका हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, लुम्बिनी बैंक र एनआईशी एशिया बैंकले कारोबार शुरु गरेको पनि २० वर्ष नाघिसकेको छ । तीमध्ये अहिले लुम्बिनी बैंक अस्तित्वमा छैन भने अरु बैंकहरू भने सञ्चालनमै छन् । यो बैंक पनि आफूभन्दा ३ वर्ष जेठो बैंक अफ काठमाण्डूसँग यसअघि मर्जरमा गइसकेको छ । ३२ ओटा वाणिज्य बैंकमध्ये १८ बैंकहरू भने २१ औं शताब्दीपछि नै खुलेका हुन् । सन् २००० को दशकपछि खुलेका बैंकहरुलाई भने अघिल्लो शताब्दीमा खुलेका बैंकहरूलाई जस्तो सजिलो थिएन । देशमा व्याप्त द्वन्द्वका कारण गाउँगाउँमा पुग्ने सक्ने अवस्था भएन । शहरका ‘क्रिम कस्टमर’हरू पूराना बैंकहरूले कारोबार गरिरहेको अवस्था र त्यससँगै शहरी क्षेत्रमा सुरु भएको आन्दोलन र राजनीतिक संक्रमणका कारण बैंकहरुलाई एकदमै सकसपूर्ण अवस्था थियो । तर त्यति हुँदै गर्दा पनि करिब ११ वर्षको अवधिमा राष्ट्र बैंकले १७ ओटा वाणिज्य बैंकसहित एक सयभन्दा बढी वित्तीय संस्थालाई लाइसेन्स बाँडेको थियो । सानिमा बैंकलाई भने विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति गरिएको हो । राष्ट्र बैंकले धमाधम लाइसेन्स बाँड्दै गर्दा स्थापना भएका १७ वाणिज्य बैंकमध्येकै बैंक हुन् ग्लोबल आईएमई बैंक र जनता बैंक । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार सुरु गरेको २०६३ साल पुस १८ गते देखि हो । यो १९ औं वाणिज्य बैंक हो । त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो । यो २७ औं वाणिज्य बैंक हो । यहाँ बैंकिङ लाइसेन्सको इतिहास केलाउनुुको अर्थ के हो भने अहिले राम्रा र समृद्ध भनिएका बैंकहरु ‘राम्रा र समृद्ध’ हुनुको पछाडि उनीहरूको मिहिनेत मात्रै पर्याप्त थिएन । उनीहरू त्यति नै ‘भाग्यशाली’ पनि थिए जसले नेपाली वित्तीय बजारमा अनुकुल समयमा प्रवेश पाए । उनीहरूको मिहिनेतलाई नजरअन्दाज नै चाहिँ गर्न मिल्दैन । यदि टाइम फ्याक्टर नै सबै कुरा हुन्थ्यो भने आज नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक जस्ता बैंकहरूलाई भेट्ने अर्को कुनै संस्था नै हुने थिएनन् होला । त्यति भन्दै गर्दा नयाँ बैंकहरू पुराना बैंकहरूसँग प्रतिस्पर्धामा पछि पर्नुको मुख्य कारण चाहिँ फेरि पनि यही नै हो । उनीहरुको बजार प्रवेश गर्ने समय अनुकुल थिएन । शहरमा जति थिए, ती नै काफी थिए, गाउँमा जानसक्ने स्थिति नै थिएन । ग्लोबल आईएमई र जनता दुवै बैंकले स्थापनाकालदेखि नै एउटा योगदान गर्दै आए । राष्ट्र बैंकको अन्धाधुन्द लाइसेन्स पोलिसीबाट ‘ओभर पपुलेटेड’ भएका बैंक तथा वित्तीय संस्थाहरूलाई एकत्रित गर्दै आफूमा समाहित गराउँदै बलियो हुँदै गए । आज ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर कुनै दुई बैंकबीचको मर्जर मात्रै होइन यो एउटा दुई ठूला परिवारहरूको मिलन हो । अहिले ग्लोबल आईएमई बैंकभित्र १२ ओटा संस्थाहरु विलय भएका छन् । त्यस्तै जनता बैंकभित्र ५ ओटा बैंकहरु समाहित छन् । ग्लोबल आईएमई बैंकअन्तर्गत रहेका बैंकहरू ग्लोबल बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्सिच्युसन, प्यासिफिक डेभलपमेन्ट बैंक, लर्ड बुद्ध फाइनान्स, सोसल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक रहेका छन् । रिलायबल फाइनान्स, लोटस फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल कन्जुमर डेभलपमेन्ट बैंक र हाथवे फाइनान्स (अरुण फाइनान्स) हुन् भने जनता बैंक बैंकभित्र जनता बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, नेपाल आवास फाइनान्स र एकता विकास बैंक छन् । पछिल्लो दुई दशकमा सुरु भएर पनि पुराना बैंकहरूलाई प्रतिस्पर्धामा हाँक दिन कोशिस गरिरहेको बैंक चाहिँ ग्लोबल आईएमई बैंक नै हो । अहिले एनआईशी एशिया बैंकले आक्रामक शाखा विस्तार गरेझैं तात्कालिन किष्ट बैंकले गरेको कार्यदिशा विस्तारको नीतिलाई ग्लोबल आईएमई बैंकले मर्जरमार्फत् पच्छ्याएको थियो । मर्जरमार्फत् भएको शाखा विस्तारले शाखालाई सञ्चालन मुनाफामा लैजाने चुनौती कम हुन्थ्यो, त्यो प्रतिस्पर्धात्मक लाभलाई ग्लोबल आईएमईले विगतदेखि नै मानेर अघि बढ्यो । जनता बैंकसँगको मर्जरपछि अहिले १५० रहेको ग्लोबल बैंकको शाखा एकैपटक २९२ ओटा पुग्नेछन् । यसले पछिल्लो समय आक्रामक शाखा विस्तार गरेको एनआईशी एशिया बैंककै हाहाहारीमा शाखा सञ्जाल पुग्छ । २९२ शाखामध्ये दुई बैंकका एकै ठाउँमा रहेका शाखालाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको बताइएको छ । यो स्थानान्तरणलाई क्षेत्रीय रुपमा सन्तुलित बनाएर मिलाउने सुविधा नयाँ बैंकलाई छ । यसले गर्दा बैंकलाई कर्मचारी व्यवस्थापन, शाखाको विजनेस विस्तार र सञ्चालनमा ब्रेकइभन कायम गर्ने चुनौती फेरि हुने छैन । त्यसबाहेक ३० भन्दा बढी एक्सटेन्सन काउन्टर र करिब २५० ओटा शाखारहित बैंकिङमार्फत् समेत सम्बन्धित शाखाहरूले उल्लेख्य लाभ लिनसक्ने छुट हुन्छ । मर्जरपछिको बैंकको आकार संख्यात्मक आकारको रुपमा दुई बैंकको मर्जरपछि बैंक धेरै सूचकाकहरूमा सबैभन्दा ठूलो बैंक बन्छ । बैंकको कोर बिजनेसको रुपमा रहेको निक्षेप संकलन र कर्जा लगानीको आकारमा यो बैंक सबैभन्दा ठूलो बैंक बन्नेछ । अहिलेसम्म कुनैपनि वाणिज्य बैंकहरुले २०० अर्ब भन्दा बढी निक्षेप संकलन गर्न सकेको इतिहास छैन जसलाई ‘ब्रेक’ गर्ने काम मर्जरपछिको यो बैंकले गर्नेछ । अर्को भनेको बैंकको चुक्ता पुँजी हो । मर्जरपछिको बैंक चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो बैंक बन्नेछ । ६ प्रतिशत बोनस शेयरपछि ६ अर्बको अग्राधिकार शेयरसहित कृषि विकास बैंकको पुँजी करिब १५ अर्ब ३० करोड रुपैंया पुग्नेछ भने १०.५ प्रतिशत बोनसपछि नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी यो वर्षको बोनसपछि करिब १४ अर्ब २२ करोड रुपैंया पुग्नेछ । अहिले इन्फास्ट्रक्टर बैंकले आफ्नो २० अर्बको जारी पुँजी कायम गरेको छ यद्यपि सो बैंकको चुक्ता पुँजी भने अहिले १२ अर्ब मात्रै छ । १५ अर्ब चुक्ता पुँजी भएको नेपाल टेलिकम र २५ अर्ब चुक्ता पुँजी भएको माथिल्लो अरुण अहिले नेपालका पुँजीका आधारमा ठूला कम्पनी हुन् । त्यति हुँदा हुँदै पनि शाखा संख्या र नाफामा भने सो बैंकभन्दा अरु बैंक नै माथि हुनेछन् । मर्जरपछिको ग्लोबल आईएमई बैंक संख्यात्मक रुपमा जति सबल छ गुणात्मक रुपमा त्यति छैन । बैंकिङ पर्फमेन्सको सबैभन्दा महत्वपूर्ण औजार भनेको आधार ब्याजदर, कस्ट अफ फण्ड आदि हुन् । ग्लोबल आईएमई बैंकले अघिल्लो वर्षभन्दा बेसरेटमा निकै सुधार गरे पनि यो करिब ९.५ प्रतिशत भन्दा अझै माथि छ । जबकि राष्ट्रिय वाणिज्य बैंकको यो दर निकै बढ्दा पनि ६.५ प्रतिशतको हाराहारीमा मात्रै छ । जनता बैंकको त झन् यो दर १० प्रतिशत भन्दा पनि माथि छ । दुई बैंकको मर्जपछिको यो दर १० प्रतिशत भन्दा केही कममात्रै हुन सक्छ जसमा सुधार गर्नु सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । त्यस्तै पुँजीकोषमा आधारित आम्दानी ग्लोबल आईएमई बैंकको साढे १८ प्रतिशतको हाराहारीमा हुँदा जनता बैंकको यस्तो आम्दानी १४ प्रतिशत भन्दा कममा सीमित छ । जब कि सबैभन्दा धेरै आरओई भएको एनआईशी एशिया बैंकको यो आकार २९ प्रतिशत भन्दा माथि छ । आरओई, बेसरेट, कस्ट अफ फण्ड जस्ता सबै पक्षहरु एक अर्काका परिपूरक हुन् । यी सबैले व्यवस्थापन कति प्रभावकारी छ भनेर देखाउने मात्रै हुन् । यो अवस्थाले बैंकिङ बजारमा बैंकले गुणात्मक रुपमा अझै ठूलो सुधार देखाउनु जरुरी छ । निक्षेपकर्ताको उच्च ब्याजको अपेक्षा, ऋणीको सस्तो ऋणको अपेक्षा, कर्मचारीहरुको उच्च सेवा सुविधाको अपेक्षा र लगानीकर्ताको उच्च प्रतिफलको अपेक्षालाई प्रभावकारितासँग समायोजन गर्दै जाने हो भने ८० को दशकका बैंकहरूको पनि ‘आइडल’ बैंक बन्नसक्ने अवसर नयाँ ग्लोबल आईएमई बैंकलाई छ ।