मंसिरमा ७ अर्बमात्रै कर्जा प्रवाह, ७७ प्रतिशतले घट्यो कर्जा, किन हुन सकेन लगानी ?
काठमाडौं । पछिल्लो समय कर्जाको माग घट्दै गएको छ । वाणिज्य बैंकहरूले मंसिर महिनामा ७ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् । गत आवको यो महिनामा ‘क’ वर्गका वाणिज्य बैंकहरूले ३१ अर्ब कर्जा प्रवाह गरेका थिए । यस आवको मंसिरको तुलनामा चालु आवको मंसिरमा ७७ प्रतिशतले कर्जा प्रवाह घटेको छ । चालु आवको साउनमा वाणिज्य बैंकहरूले ९ अर्ब कर्जा प्रवाह गरेका थिए । भदौमा सो लगानी बढेर ५५ अर्ब पुग्यो । असोजमा अझ लगानी वृद्धि भएर ६८ अर्ब पुगेपछि बैंकर्सहरूले फेरि लगानी योग्य पुँजी अभाव हुने भन्दै चिन्तित देखिएका थिए । तर, त्यसो भएन मंसिरमा कर्जाको माग एक्कासी घट्यो । चालु आवमा निर्माण सम्बन्धि कार्य धेरै नहुँदा बैंकको कर्जा घट्न गएको हो । पछिल्लो समय कर्जा प्रवाह त्यति बढ्न सकेको छैन,’ नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष भुवन दाहालले भने ‘निर्माण व्यवसायले गति नलिदा यसको असर कर्जा प्रवाहमा देखिएको हो ।’ निर्माणमा मात्रै होइन समग्र कर्जा प्रवाहमानै सुस्तता आएको छ । एसोसिएशनका अनुसार निर्माण सामग्री समेत बिक्री नभएर थन्किएकोे अवस्था भएकोले पनि कर्जामा उत्सुकता नदेखिएको हो । राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय निर्माण क्षेत्रमा लगानी घट्दै गएको देखाएको छ । कार्तिक महिनामा वाणिज्य बैंकहरूबाट २ अर्ब १२ करोडमात्रै लगानी भएको छ । यो अवधिमा कर्जा प्रवाहकमा विकास बैंक र फाइनान्स कम्पनीको हिस्सा बढी रहेको छ । सात अर्बको कर्जा लगानीमा वाँकी कर्जाको हिस्सा भने ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीको रहेकोे छ । चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरूले २ खर्ब ६८ अर्ब ४७ करोड कर्जा प्रवाह गरेका छन् । असोजसम्म निर्माण क्षेत्रमा २ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरिएको थियो । चालु आवको कार्तिकसम्म २७ वटा वाणिज्य बैंकले कुल १८ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले साढे ३० खर्ब कर्जा प्रवाह गरेका छन् । सो कर्जामध्ये निर्माण क्षेत्रमा साढे १० प्रतिशत अर्थात तीन खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका छन् ।
नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु, साढे ३ वर्षमा सक्न विभागको निर्देशन
काठमाडौं । काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताएका छन् । उनका अनुसार कम्पनीले झण्डै २० प्राविधिक जनशक्ति जापानबाट ल्याइसकेको छ भने थप ल्याउने क्रममा छ । सो आयोजनामा नेपाली र विदेशी दुवै जनशक्ति प्रयोग गर्ने कम्पनीको योजना रहेको उनले बताए । उनले भने, “दक्ष जनशक्ति नेपाली र जापानी दुवै हुनेछन् ।” प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण शुरु भएको हो । कम्पनीले गरिरहेको तयारीका कामसमेत गरी ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने विभागले जनाएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सुरुङमार्गको निर्माण अघि बढेको छ । सो परियोजनाअन्तर्गत नै दुई सुरुङ र दुई ‘फ्लाई ओभर’ निर्माण हुँदैछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर सुरुङको निर्माण हुनेछ । दुई ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । रासस
अपी पावरले ७ अर्ब ४० करोडकाे लगानीमा माथिल्लो चमेलिया आयोजना बनाउने
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने भएकाे छ । मंगलबार एक कार्यक्रमकाे आयोजना गर्दै कम्पनीले उक्त जलविद्युत आयोजना निर्माण गर्ने बताएकाे हाे । सुदूरपश्चिमकाे दार्चुलामा पर्ने साे आयोजना निर्माण गर्नका लागि ७ अर्ब ४० कराेड लगानी आवश्यक रहेकाे कम्पनीले जनाएकाे छ । आयोजना आउँदो बैशाखदेखि सुरु गरी २०७९ मा सम्पन्न गर्ने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । साे आयोजनामा २ अर्ब २२ करोड रुपैयाँ सेयर लगानी र बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने छ । आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुने न्याैपानेले बताए । आयोजनाबाट हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुने उनकाे भनाइ छ । माथिल्लाे चमेलिया निर्माण गर्नका लागि कम्पनीले विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र लिइसकेकाे जनाएकाे छ । अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता पनि गरिसकेको छ । कम्पनीले ८.५ मेगावाटको माथिल्लो नौगाड र ८ मेगावाटको नौगाड आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ । माथिल्लाे नाैगाडकाे गत कार्तिकमा सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जाेडेकाे थियाे भने नाैगाडले विगत दुई वर्षदेखि विद्युत उत्पादन गर्दै आएकाे छ ।