५ महिनामा ९ प्रतिशतमात्र पुँजीगत खर्च, लक्षित उपलब्धि हासिल गर्न प्रतिदिन १ अर्ब ८६ करोड खर्चिनु पर्ने
काठमाडौं । विगत वर्षमा जस्तै पुँजीगत खर्च सुस्त हुने समस्या यो वर्ष पनि दोहोरिएको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म ३६ अर्ब ५३ करोड रुपैयाँ अर्थात ८.९४ प्रतिशतमात्र खर्च गरेको छ । पुँजीगत खर्चमा कम भएसँगै विकासे मन्त्रालयलाई लक्षित पुँजीगत खर्च गर्न चुनौती थपिएको छ । आर्थिक वर्षको पहिलो ५ महिनामा न्यूनतम २० प्रतिशत पुँजीगत खर्च गरीसक्नु पर्ने थियो । तर, अहिलेसम्म सो अनुपातमा खर्च हुन सकिरहेको छैन । सरकारले भने जस्तै आवको दोस्रो चौमाससम्म ५० प्रतिशत खर्च गर्नलाई अबको वाँकी ३ महिनामा एक खर्ब ६७ अर्ब ४६ करोड रुपैयाँ खर्च गरिसक्नु पर्नेछ । सरकारले भने जस्तै वा अर्थ मन्त्रालयले निर्देशन गरेजस्तै लक्षित खर्च गर्न अबको वाँकी एक अर्ब ८६ करोड सात लाख खर्च गर्नुपर्ने देखिएको छ । सरकारले यस वर्षको लागि चार खर्ब ८ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । पुँजीगत खर्च कम भएपछि पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले समेत सबै विकासे मन्त्रालयहरूलाई पत्र पठाएर दोस्रो चौमासिक (फागुन मसान्त) भित्र ५० प्रतिशत बजेट खर्च गरिसक्न निर्देशन गरेको छ । सरकारी निकायबीच समन्वय नहुँदा पनि पुँजीगत खर्चमा वाधा पुगेको हो । हचुवामा योजना निर्माण गरेर बजेटमा समावेश गर्नु, परियोजना पिच्छेनै कमिशनतन्त्र, ठूला ठेकेदारलाई राजनीतिक संरक्षणलगायतका धेरै कारण छन् । जबसम्म यसलाई छिचोलेर अघि बढ्न सकिदैन तबसम्म असारे विकासले प्रशय पाइनै रहन्छ । पैसा सक्नका लागि गरिने खर्चले विकासमा दिगोपना ल्याउन सक्दैन र अर्थतन्त्र निर्माणमा खासै उपलब्धि हासिल हुँदैन । कुल गार्हस्थ्य उत्पादन बढाउने मुख्य स्रोत रुपमा पुँजीगत खर्चलाई लिइन्छ । अर्थतन्त्र निर्माणमा यसको महत्वपूर्ण भुमिका रहन्छ । पुँजीगत खर्च नहुनु भनेको विकास निर्माणका क्रियाकलापले गति नलिनु हो । विकास निर्माणमा सुस्तता आउनु हो । पछिल्लो समय ठूला पूर्वाधार निर्माणले गति लिन सकेको छैन सो कारणले खर्च नभएको हो । पहिलो चौमास टेण्डर प्रक्रिया र परियोजना तयारीमै बित्ने भएकोले पुँजीगत खर्चले गति लिन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.पुष्पराज कँडेलले बताए । खर्च बढाउन सरकारले बजेट प्रस्तुती पश्यातनै विभिन्न निर्देशन दिएपनि लक्षित खर्च भने हुन सकेको देखिदैन । प्रधानमन्त्रीको कार्यालय र अर्थ मन्त्रालयले खर्च बढाउन ठूला÷साना आयोजना सबैको मासिक प्रगति विवरण प्रत्येक महिनाको ७ गते अगावै लिने तालिका बनाएपनि खर्चमा भने सुधार हुन सकेको छैन । पुँजीगत खर्च नहुनु अहिले समस्या नभइ पुरानै समस्या भएकाले खर्च गर्ने योजनासहित कार्यान्वयनस्तरसम्म निगरानी बढाएर राम्रो गर्नेलाई पुरस्कृत र ढिला सुस्ती गर्नेलाई दण्ड सजायको व्यवस्था गर्नुपर्ने पूर्व अर्थ सचिव डा.शान्तराज सुवेदीले बताए । सरकारले चालु आर्थिक वर्षको लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने ४ अर्ब ८ करोड पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि लक्षित विनियोजित बजेट हो ।
दुई दिन परेको पानीले १३ करोडको इँटा नोक्सान, मूल्य बढ्न सक्ने
घोराही । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात करोड ७७ लाख क्षति भएको हो । दाङ देउखुरी इँटा व्यवसायी सङ्घका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इँटा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इँटाको मूल्य रु साढे तीन प्रतिगोटा रहेको र त्यसअनुसार रु सात करोड ७७ लाखको नोक्सानी भएको अध्यक्ष वलीले जानकारी दिएका छन् । घोराही क्षेत्रमा १४ तथा तुलसीपुर क्षेत्र र लमही क्षेत्रमा नौ÷नौवटा इँटा उद्योग रहेका छन् । इँटा ओताउने तयारीसमेत गर्न नभ्याएका कारण एक्कासी पानी परेकाले विगतका वर्षमा भन्दा धेरै नोक्सान भएको अध्यक्ष वलीको भनाइ छ । इँटा पार्ने साँचोबाट इँटा झरेपछि लगानीकर्ताको हुने भएका कारण मजदुरभन्दा उद्योगी मारमा परेको व्यवसायीहरु बताउँछन् । यसैबीच ठूलो मात्रामा इँटा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले रु १३ प्रतिगोटा पाकेको इँटाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इँटाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाइ छ । नवलपुरमा पाँच करोडको इँटा क्षति कावासोती– शुक्रबारदेखि परेको वर्षाका कारण नवलपुरका इँटा उद्योगमा रु पाँच करोड बराबरको क्षति भएको छ । अकस्मात भएको वर्षाका कारण नवलपरासी पूर्व नवलपुरमा रहेका इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा पानीले क्षति पुर्याएको हो । वर्षाका कारण जिल्लाका नौ इँटा उद्योगमा भट्टीमा पकाउनुपूर्व (मोडलिङ गरेर राखिएको) तयारी अवस्थामा राखिएको काँचो इँटामा क्षति पुगेको हो । यहाँ रहेका नौ उद्योगमा गरेर एक करोड काँचो इँटामा क्षति पुगेको नवलपुर इँटा उद्योग सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिए । एक करोड इँटाको लागतअनुसार करिब रु पाँच करोड बराबरको क्षति भएको सचिव गौतमले बताए । नवलपरासी पूर्व नवलपुरमा रहेका रहेका नारायणी इँटा उद्योग कुजौली, पशुपति इँटा उद्योग दुम्कौली, माता मनकामना इँटा उद्योग केउरेनी, केसी इँटा उद्योग मगरकोट, नेपाल इँटा उद्योग मगरकोट, कावासोती इँटा उद्योग हेगौली, देवचुली इँटा उद्योग ढोकी, मनकामना इँटा उद्योग मध्यविन्दु मदनपुर र ट्रावा इँटा उद्योग मदनपुर मध्यविन्दुको इँटा उद्योग गरी नौवटा इँटा उद्योगमा क्षति भएको छ । रासस
द्रुतमार्ग निर्माण द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना, भौतिक प्रगति ८० प्रतिशत
काठमाडौं । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको छ । सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो द्रुत मार्ग निर्माणलाई प्रत्यक्ष रुपमा नेतृत्वसमेत गरेको छ । निर्माणको गति र भइरहेको कामको प्रगतिका आधारमा चालु आवको अन्त्यसम्म सेनाले सडकतर्फको सबै काम सम्पन्न हुनेछ । कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न ३० प्याकेजमा काम भइरहेको छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्ने क्रममा रहेसँगै सेनाले सुरुङ र पुल निर्माणका लागिसमेत प्रक्रिया शुरु गरिसकेको छ । द्र्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यस्तै धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ । सुरुङ मार्ग निर्माणका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भइसकेको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरका कूल छ वटा संस्थाले आशयपत्र पेश गरेका छन् । परामर्शदाता छनोटसँगै सुरुङ र पुल निर्माणको प्राविधिक तयारीले पूर्णता पाउनेछ । आगामी फागुनसम्म सो कार्य सम्पन्न गरी पुल र सुरुङका लागि निर्माण व्यवसायी छनोट गर्ने प्रक्रिया अगाडि बढ्नेछ । कालोपत्र गर्ने तहको सडक निर्माण सम्पन्न भएसँगै सुरुङ र पुल निर्माणका लागि निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य सेनाले राखेको छ । कूल ७२.५ किलोमिटर लामो द्रुतमार्गमा पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत डिपिआरमा ८६ पुल निर्माण हुने उल्लेख छ । चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ छ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ । सेनाले जटिल मानिएका ठूला १६ पुलको निर्माण आगामी २०७७ सालको पुसमा शुरु गर्नेछ भने ती बाहेकका अरू पुलको निर्माण आगामी भदौदेखि शुरु गर्ने बताइएको छ । नेपाली सेनाको द्रुत मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले भने, “राष्ट्रिय गौरवको त्यसमाथि हालसम्मकै ठूलो आयोजना निर्माण प्रक्रिया द्रुत रुपमा नै अगाडि बढेको छ । हाल आयोजनाको सडक खण्डमा पर्ने क्षेत्रमा कटान तथा माटो भर्ने काम भइरहेको छ । यो काम आगामी असार मसान्तभित्रै सम्पन्न हुँदैछ ।” आयोजनामा पुल र सुरुङ बाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ । त्यसमध्ये कूल ३१ किलोमिटरको काम करीब सम्पन्न भएको छ । द्रर्त मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख पहाडीका अनुसार बाँकी सडकको ‘ट्र्याक’ खोल्ने काम पनि ८० प्रतिशत सकिएको छ । पहाडीले भने, “हाल सडकका लागि खन्ने, सम्याउने काम भइरहेको छ । यस्तै कतिपय स्थानमा सेना आफैँले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गरी ‘ब्लास्टिङ’ गर्ने, पर्खाल लगाउने लगायत काम पनि भइरहेको छ । आयोजनाको पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा हुने प्रमुख सेनानी पहाडीको भनाइ छ । उनका अनुसार हालसम्म कूल एक करोड ३५ लाख घनमिटर माटो ‘कटिङ’ भएको छ भने भने १५ लाख घनमिटर ‘फिलिङ’ गरिएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजनाको महत्वलाई आत्मसात् गर्दै पारदर्शी एवम् निष्ठापूर्वक काम गर्न आफूहरुलाई दिएको निर्देशनअनुसार नै आफूहरु पूर्णरुपमा कटिबद्ध भई परिचालित भएको प्रमुख सेनानी पहाडीको भनाइ छ । सेनाले राष्ट्रिय निर्माण व्यवसायीलाई जिम्मा दिएको खण्डमध्ये अधिकांश स्थानमा दिनरात नभनी काम भइरहेको छ । असारसम्म सडकको काम सक्ने लक्ष्यका साथ दिनरातै काम भइरहेको निर्माण व्यवसायीको भनाइ छ । कालिका, दिवा गीताञ्जली जेभीका कर्मचारी अञ्जन केसीले रातको समयमा समेत काम भइरहेको बताउनुभयो । डोजर र एक्साभेटरले दिनरात सडक खन्ने, सम्याउने, काट्ने काम गरिरहेका छन् । दिनमा हुने काम दिनमा र रातको समयमा समेत गर्न मिल्ने काम राति भइरहेको नेपाली सेनाको महादेवटार बेसक्याम्पका प्रमुख एवम् प्राविधिक सेनानी निरोज केसीले जानकारी दिए । यस्तै सिस्नेरी बेस क्याम्पका प्रमुख एवम् प्राविधिक सेनानी राजेशकुमार देवका अनुसार आयोजनालाई गति दिने लक्ष्यका साथ ब्लास्टिङ लगायतको काम द्रुतत्तर गतिमा अगाडि बढिरहेको बताए । “कठिन पहाडमा सडकको ‘एलाइनमेन्ट’ मिलाउनका लागि ‘ब्लास्टिङ’ गरिएको छ । सेनाको आफ्नै उत्पादनमा तयार पारेको विस्फोटक पदार्थ प्रयोग गरिएको छ”, प्रमुख देवले भने । आयोजनाको कूल खण्डमध्ये ललितपुरमा ७.९ किलोमिटर, काठमाडौँमा चार किलोमिटर, मकवानपुरमा ५३ किलोमिटर र बारामा ७.६ किलोमिटर पर्दछ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ वैशाख १२ गते आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही वर्षको जेठ १४ गते निजगढमा आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्रीले गरेका थिए । रासस