पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध
लम्की । बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले ठक्कर दिएका बर्दगोरिया गाउँपालिका–१ का आठ वर्षीया अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षीय लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएपछि स्थानीयवसीले राजमार्ग अवरुद्ध पारेका हुन् । दुवै बालकको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुलाई महेन्द्रनगरबाट काठमाडौँ गइरहेको ना७ख ६०४६ नंको यात्रुबाहक बसले साँझ ५ बजे बर्दगोरिया गाउँपालिका–१ साझाचोकमा ठक्कर दिएको थियो । यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका बालकद्वयलाई बर्दगोरिया अस्पतालले थप उपचारका लागि सिफारिश गरेको थियो । उनीहरुलाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । आफन्तले सडक अवरुद्ध पारेपछि सवारीका साधन सञ्चालन ठप्प भएको छ । सवारी साधन ठप्प भएपछि यात्रुहरु अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय बौनियाँका इञ्चार्ज ध्रुव विष्टले मृतकद्वयका आफन्त विरोधमा उत्रिएको जानकारी दिएका छन् । रासस
अपर त्रिशूली १ मा ठूलो वैदेशिक लगानीका लागि आज सम्झौता हुँदै
काठमाडाैं । अपर त्रिशुली १ मा ठूलो वैदेशिक लगानीका लागि शुक्रबार नाै वटा दातृ निकाय र आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेनट कम्पनीबीच सम्झौता हुने भएको छ । २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा आयोजना कम्पनी र आठ वटा दातृबीच ४५ करोड ३० लाख डलर लगानीको सम्झौता हुने भएको हो । शुक्रबारको विनिमय दरअनुसार यो रकम ५१ अर्ब १८ करोड हुन्छ । आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी को अगुवाइमा हुनेछ । आयोजना निर्माणका लागि ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजना ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको हो । सरकारले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा आयोजनाको जिम्मा दिएको हो ।कोरिया साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डायलिम इन्डस्ट्रियल कम्पनी लिमिटेडको १६ प्रतिशत, केरयोङ कन्स्ट्रक्सन इन्डस्ट्रियल कम्पनी लिमटेडको १० प्रतिशत, आईएफसीको १२ प्रतिशत र स्थानीयको १० प्रतिशत सेयर रहने गरी आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कर्पोरेसन प्रालि स्थापना गरिएको हो । प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच आयोजनाबाट उत्पादित विद्युत् रिदबिक्रीका लागि सम्झौता भइसकेको छ । उक्त सम्झौताअनुसार ३१ मार्च २०२४ सम्ममा आयोजनाले व्यावसायिक उत्पादन थालिसक्नुपर्ने हुन्छ । आयोजना निर्माणका लागि करिब ५ वर्ष लाग्ने अनुमान छ । आयोजनासँग प्राधिकरणले डलरमा भुक्तानी गर्ने गरी पीपीए गरेको हो । उक्त पीपीएअनुसार उत्पादन भएको मितिले १० वर्ष वा ऋण नतिरुन्जेलसम्म जुन चाँडो हुन्छ सोही मितिसम्म प्राधिकरणले डलरमा भुक्तानी दिनेछ भने त्यसपछि नेपाली रुपैयाँमै भुक्तानी हुनेछ । आयोजनामा आईएफसीको अगुवाइमा एसियाली विकास बैंक ९एडीबी०, एसिायली पूर्वाधार लगानी बैंक ९एआईआईबी०, कोरियाली एक्जिम बैंक, कोरियाली डेभलपमेन्ट बैंक (केडीबी), बेलायतको सीडीसी ग्रुप, नेदरल्यान्डको बैंक एफएमओ, फ्रान्सको लगानी संस्था प्रोपार्को, फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट ९ओएफआईडी० ले ऋण दिन लागेका हुन् । आयोजनाका लागि मुख्य संरचनाका लागि आवश्यक जग्गा अधिग्रहण भइसकेको प्रवर्द्धक कम्पनीले जनाएको छ । ७६ हेक्टर सरकारी जग्गा, १५ हेक्टर विभिन्न ट्रस्टको स्वामित्वमा रहेको जग्गा, ७ रोपनी निजी जग्गा गरी १ सय ५ हेक्टर जग्गा अधिग्रहण गरिएको कम्पनीले जनाएको छ । आयोजनाको प्रसारण लाइन र टावर राख्ने जग्गा अधिग्रहण बाँकी छ । सन् २०२० को अप्रिलबाट आयोजनाको निर्माण सुरु हुन्छ भने २०२४ मा निर्माण पूरा हुन्छ । निर्माण अवधिसहित कम्पनीले ३५ वर्षपछि आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
मदन भण्डारी लोकमार्गकाे ८० प्रतिशत निर्माण कार्य सम्पन्न
गाईघाट । पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेर्टौडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ । चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशत कार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताएका छन् । एकसय त्रिचालिस किलोमिटर सडकमध्ये ५० किलोमिटर सडक पूर्णरुपमा कालोपत्र भइसकेको र ८० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य अन्तिमचरणमा पुगेको र बाँकीको पनि कालोपत्र हुन लागेको उनको भनाइ थियो । उक्त सडक खण्डको ४३ पक्की पुलमध्ये ३३ पक्की पुल निर्माण भइसकेको र बाँकी १० पुलको निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्ममा सम्पन्न हुने प्रमुख खनालले बताए । सो सडक सम्पन्न गर्ने समयावधि आगामी कात्तिक महिनासम्म रहे पनि जेठ भित्रै सम्पूर्ण कार्य सम्पन्न हुने अवस्थामा पुगेको पनि उनले जानकारी दिएका छन् ।सो पूर्वी खण्डको सडक निर्माण र पुल निर्माणका लागि रु छ अर्ब बजेट उपलब्ध भएकामा रु चार अर्ब ५० करोड सडक निर्माण, कालोपत्र र नाला निर्माणका लागि तथा रु एक अर्ब ५० करोड ४३ वटा पुल निर्माणका लागि छुट्याइएको थियो । यस्तै उक्त लोकमार्गको पूर्वी क्षेत्र बाहेक सिन्धुलीको भिमान हुँदै हेटौंडासम्मको पश्चिमी क्षेत्रको सडक खण्डमा पनि अहिले ५० प्रतिशत कार्य भइसकेको सो लोकमार्गका योजना प्रमुख राजेश पौडेलले बताएका छन् । रासस