व्यस्त सडक नै बन्याे तेलका ट्याङ्करको पार्किङस्थल, जाेखिममा स्थानीयबासी

भद्रपुर । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडक नै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट आउने सवारीसाधन चारआलीको सोही सडक हुँदै चन्द्रगढी जाने गर्छन् तर बाटोभरि ट्याङ्करको अव्यवस्थित पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ । निगमको कार्यालय परिसर छ बिघाको मात्र छ । साँघुरो परिसर भएकाले निगमभित्रै खाली ट्याङ्करलाई पार्किङको व्यवस्था मिलाउन नसकिएको कार्यालयका सूचना अधिकारी लोकमणि पौडेलले बताएका छन् । तेल अनलोड गरिसकेपछि ट्याङ्करलाई व्यस्त सडक र बस्तीमा पार्किङ गर्न दिन नहुने स्थानीयवासीको माग छ । दिनरात पार्किङ गरिँदा ट्याङ्करबाट निस्कने प्रदूषणयुक्त धुँवाले वातावरण बिग्रिएको, आगलागी र दुर्घटनाको उच्च जोखिम भएको र गाडीका स्टाफले अश्लिल कुरा बोल्ने गरेकाले बालबालिकामा नकारात्मक असर परेको स्थानीय सर्पदंश टोल विकास संस्थाका सचिव हेमराज भट्टराई बताउँछन् । सडकबाट पार्किङ हटाउन पटकपटक माग गर्दा प्रहरी प्रशासनले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । केही वर्ष अघि यसरी नै पार्किङ गरिएको ट्याङ्करमा आगलागी हुँदा त्रास फैलिएको थियो । त्यसबेला बेलैमा आगो निभाइएका कारण धेरै क्षति हुन पाएको थिएन । चारआली–चन्द्रगढी सडकखण्ड झापाको व्यस्त सडकमध्येमा पर्दछ । यही बाटो भएर चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालमा सर्वसाधारण यात्रा गर्छन् । ट्याङ्कर पार्किङ हुँदै आएको यही सडक क्षेत्रमा नेपाली सेनाको चारआली गण र सर्पदंश उपचार केन्द्रसमेत रहेको छ । साँघुरो सडकका दुवै किनारमा लस्करै राखिएका ट्याङ्करका कारण जोखिम मोलेर सवारी चलाउनु परिरहेको सो सडकमा मिनी बस चलाउँदै आएका सवारी चालक कनक राजवंशी बताउँछन् । अधिकांश ट्याङ्करका चालकले सडक आसपासका घरमा नै डेरा लिएर बसेका छन् । निगमले उचित पार्किङ स्थानको व्यवस्था गरिदिए सडकमा यसरी अस्तव्यस्तता सिर्जना हुने गरी पार्किङ नगरिने ट्याङ्कर चालकहरु बताउँछन् । रासस

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुरु गर्यो लगानी, करुवा सेती हाइड्रोपावरमा ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह

काठमाडौँ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट लगानी शुरु गरेको छ । बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सहअगुवाई र सानिमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको शुरुवात गरेको हो । कुल परियोजना लागत रु. ५ अर्व ८० करोड रुपैयाँ रहेको उक्त परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी रु. ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुनेछ । देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवम् आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने बैंकले जनाएको छ ।

मकवानपुरगढीको विकास निर्माणमा प्रदेश ३ सरकारको पाँच करोड

हेटौंडा । गत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रदेश नं ३ सरकारमार्फत रु पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेशसरकारले मकवानपुरगढी गाउँपालिकालाई रु पाँच करोड ३७ लाख उपलब्ध गराएको थियो । उक्त रकममध्ये ऋषेश्वर गुफा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माणमा रु एक करोड, शहीद रुद्र स्मृति उद्यान निर्माणमा रु ८० लाख, मकवानपुरगढी दरबार क्षेत्रमा गोलघर निर्माणमा रु ५० लाख, मकवानपुरगढी दरबार जाने बाटो निर्माणमा रु ३० लाख, दरबार जीर्णोद्वार तथा पुनःनिर्माणमा रु ४० लाख, पिप्ले–गढी मोटरबाटो निर्माणमा रु ५० लाख विनियोजन गरिएको थियो । यसैगरी, खानेपानी आयोजनामा रु ५० लाख, सामारी पुल–रानीशेरा पर्यटकीयमार्ग निर्माणमा रु ३० लाख, शहीद बासुदेवमार्ग निर्माणमा रु ५० लाख उपलब्ध गराइएको थियो । त्यसैगरी, पाँच वर्षमुनिका बालबालिकाको पोषण सुधार तथा स्वास्थ्य संस्था सुशासन अभिवृद्धि, पूर्ण संस्थागत प्रवद्र्धन तथा प्रसूति केन्द्र निर्माण, स्वास्थ्य संस्था अभिवृद्धि र महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य कार्यक्रमा रु ११ लाख उपलब्ध गराइएकामा सबै पूर्वाधार सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिएका छन् । एम्बुलेन्स एम्बुलेन्स खरिदका लागि रु १६ लाख छुट्याइएकामा एम्बुलेन्स भने खरिद हुन नसकेको उनको भनाइ थियो । कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी गाउँपालिका व्यावसायिकरूपले आधुनिक कृषितर्फ उन्मुख हुन थालेपछि उत्पादनसमेत वृद्धि हुँदै गएको छ । कृषिबाटै समृद्ध हुने उद्देश्यले यसलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिएका छन् । प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गर्नाका साथै पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी भइरहेको उनको भनाइ थियो । दूध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको यस गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ । यसबाट मासिक रु एक करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिएका छन् । उक्त गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालन हुँदै आएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसान अत्याधिक रहेपनि उनीहरुको अभिलेख भने नगरिएको बताइएको छ । मालभोग जातको केरा अधिक उत्पादन हुने यस क्षेत्रमा आधुनिक खेती प्रणालीमार्फत दैनिक लाखौँको तरकारीसमेत बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । यसैगरी राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताएका हुन् । रासस