हेटौंडा कृषि बजार निर्माणमा करिब ८० करोड लागत लाग्ने अनुमान

काठमाडौं । ७९ करोड ७६ लाखमा सम्पन्न हुने गरि हेटौंडा कृषि बजारको डिपिआर तयार भएको छ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले इच्छा शक्ति भए बजार निर्माण गर्न समस्या नहुने जानकारी दिँदै कृषिमा गरेको लगानी कतैबाट पनि डुब्दैन, ढुक्क भएर लगानी गरे हुन्छ  भनेका छन् । उक्त गतबर्षकाे प्राक्टिसले याे वर्षदेखि परिणाम देखिने बताए । उनले स्थानीय तहले पनि बजार निर्माणका लागि आफ्नो भागमा परेको बजेट सहयोग गर्न तयार भएको जनाएका छन् । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारका कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले सरकारको प्राथमिकता कृषि, पर्यटन, वा उर्जा के हो ? निर्क्यौल गर्नु पर्छ । कृषिमा रहेको ६६ प्रतिशतलाई घटाउनु पर्छ । निर्भाहमुखी कृषिमा ६६ प्रतिशत राखेर विकास हुन्न । त्यसो नगर्दासम्म बिदेशमा रहेका युवालाई स्वदेश फर्काउन पनि सकिन्न । ७ वटा प्रदेशमा ७ वटै बजार बनाउन सक्नु पर्यो जो त्यो प्रदेशको शानको रुपमा रहोस् । ५० बर्षको सोच राखेर कृषि बजार निर्माण गर्ने गरि ९ वटा बजारको डिपिआर भइसकेको छ । स्थानीय तह र प्रदेशसँग साझेदारी गर्न सकिने जानकारी दिँदै बजेट अभाव नहुने बताए । आवश्यक परे अर्थ मन्त्रालयसँग थप बजेट माग्न पनि सकिने कृषिमन्त्री खनालको भनाई छ । प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकता दिएसँगै कस्तो कृषि बजार निर्माण गर्दै छौ र कुन मोडेलमा हो भन्ने टुङो लागेको छैन । १ अर्ब लाग्न सक्छ तर पैसा संकलन गर्नु समस्या हुदैन  । केन्द्र सरकारको दायित्व हो, प्रदेश सरकारको जिम्मेवारी जिम्मेवारी हो । हेटौडा राजधानी नबन्दा पनि यो बजार केन्द्र नै हो ।

तल्लोमोदी ‘१’ जलविद्युत् आयोजनाका कर्मचारी काममा फर्किए

पर्वत । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका तल्लो मोदी ‘१’ का कर्मचारी काममा फर्किएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लोमोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र आन्दोलनरत कर्मचारीका बीचमा सहमति भएपछि काममा फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतको पहलमा भएको सर्वपक्षीय छलफलका क्रममा कर्मचारीको तलववृद्धि, बिमालगायतका विषयमा आयोजना प्रवद्र्धक र कर्मचारीबीच सहमति भएको हो । सहमतिसँगै दुई दिनदेखि बन्द रहेको विद्युत् उत्पादन शुरु भएको छ । सहमतिअनुसार कार्यरत कर्मचारीको मासिक तलबमा १२ प्रतिशतका दरले वृद्धि गरिने भएको छ भने रु सात लाख बराबरको दुर्घटना बीमा, रु एक लाख बराबरको स्वास्थ्य बिमा गरिने भएको छ । हरेक कर्मचारीका लागि वार्षिक रु पाँच हजारका दरमा पोशाकभत्ता उपलब्ध गराइनेछ । आन्दोलनरत कर्मचारीले ४० प्रतिशत तलब वृद्धि, महङ्गी भत्ता लगायतका भत्ता रकम वृद्धि, पोशाकभत्ता, बिमालगायतका माग राखेका थिए । श्रम ऐन अनुसार, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कर्मचारी विनियमावलीमा सुधार गर्ने, कार्यस्थलको सुरक्षा र कामदारको सुरक्षामा समेत ध्यान दिने सहमति भएको छ । कर्मचारीले जोखिमपूर्णरूपमा काम गर्दै आएको र कार्यस्थलमा पर्याप्त सुरक्षा सावधानी नअपनाइएको विषय उठाउँदै आएका थिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी नायब उपरीक्षक श्यामु अर्याल, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका निर्देशक उपेन्द्र गौतम, पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा, नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीलगायतको उपस्थिति रहेको थियो । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड पर्वत कार्यालय र आयोजनास्थलमा गरी ३४ कर्मचारी कार्यरत छन् । तीमध्ये २७ कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा थिए । विसं २०६९ देखि व्यावसायिक उत्पादन थालेको यो आयोजना अहिलेसम्म विद्युत् उत्पादन गर्ने पर्वत जिल्लाको निजी क्षेत्रको पहिलो जलविद्युत् आयोजना हो । एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् आयोजनाले त्यसअघि नै विद्युत् उत्पादन गरेको थियो भने २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले भदौको तेस्रो साताभित्र परीक्षण उत्पादन थाल्ने तयारी गरेको छ । पर्वतमा सञ्चालित जलविद्युत् आयोजनाहरुमा निरन्तर अवरोध र आन्दोलन हुँदै आएका कारण लगानीकर्ता निरुत्साहित हुने खतरा बढेको भनेर चिन्तासमेत व्यक्त गरिएको थियो । रासस

दशैँअघि नै कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

भीमफेदी । कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । सानोटार विद्युत्गृहमा अहिले बाँकी रहेको काम र तारहरु जडान गर्नुपर्ने भएकाले केही दिनभित्रै चिनियाँ प्राविधिक टोली आइपुगेपछि तत्काल निमार्णकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणको उच्च पदाधिकारीहरुसँग समन्वय गर्ने कार्य भइरहेको आयोजना प्रमुख सुवासबाबु मिश्रले बताए । नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोडको लगानीमा आयोजनाको निर्माण कार्य सम्पन्न हुन लागेको हो । अहिले कुलेखानी प्रथमबाट ६० मेगावाट र कुलेखानी दोस्रोबाट ३२ मेगावाट गरी कूल ९२ मेगावाट नियमित विद्युत् उत्पादन हुँदै आएको छ । रासस