नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु, लागत साढे दुई करोड
काठमाडौं । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । बीचमा फलाम र दुवैतर्फ कङ्क्रिट भएको आकाशे पुल निर्माण गर्न लागिएको डिभिजनका प्रमुख कैलाशकुमार श्रेष्ठले बताएका छन् । सो स्थानमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय अगाडि रहेको पुल जस्तै डिजाइनमा पुल निर्माण हुनेछ । पुल निर्माण तोकिएको अवधिभन्दा पनि चाँडो सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने, “पुलको निर्माण सकेसम्म चाँडो सम्पन्न गर्न हामीले ठेकेदार कम्पनीलाई भनिरहेका छौँ ।” रु दुई करोड ५० लाख बजेटमा कात्तिकसम्ममा सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएपछि अहिले काम शुरु भएको डिभिजनले जनाएको छ । नयाँबानेश्वर जस्तै कोटेश्वर र बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण गर्ने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । कोटेश्वरमा आकाशे पुल निर्माणका लागि बजेट भए पनि उपयुक्त स्थानको खोजी भइरहेको छ । उनले भने, “स्थान छनोट हुनासाथ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।”
माथिल्लो तामाकोशीको ९९ प्रतिशत निर्माण पूरा, बाँकी काम सकिन अझै ८ महिना लाग्ने
काठमाडौँ । दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सकिएको छ । बाँकी १ प्रतिशत काम पूरा गर्न अझै ८ महिना लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/०७४ मा सम्पन्न गर्ने भनिएपनि अझै सकिएको छैन । आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण कार्य शुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा विविध समस्या र कारणहरुले समयमै निर्माण कार्य सम्पन्न गर्न कठिन भएको आयोजना बताउँछ । वि.स २०७२ को विनाशकारी भुकम्पले निर्माण गरेका संरचनाहरु पनि भत्काएकोले क्षतिग्रस्त संरचनाहरु पुननिर्माण गर्नमै एक वर्ष लागेको माथिल्लो तामाकोशी आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘भुकम्प अघि अर्थात २०७१ चैत्र सम्म करिब ७९ प्रतिशत निर्माण सम्पन्न भएको थियो’ उनले भने,–‘भुकम्पले पुर्याएको क्षति तथा अवरोध र त्यसपछि मधेश आन्दोलन र भारतको नाकाबन्दीका कारण ढुवानी र इन्धन आपूर्तिमा आएको समस्याले आयोजनाको कार्य प्रगतिमा प्रतिकुल असर पर्न गयो ।’ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले २०७३/०७४ मा कार्य सम्पन्न गर्न नसकेपछि आर्थिक वर्ष २०७४/७५ मा सार्यो । त्यो अवधिमा पनि काम गर्न नसकेपछि गत आर्थिक वर्ष २०७५/०७६ को पुसमा सक्ने लक्ष्य लियो । बीचमा केहि प्राविधिक र हाइड्रो मेकानिकल काममा ढिलाई हुने भन्दै आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । ९९ प्रतिशत निर्माण स्वदेशी लगानीमा निर्माणधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको हाल सम्मको भौतिक निर्माण कार्य ९९ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृ श्रेष्ठले हाइड्रोमेकानिकल बाहेकका सिभिल, मेकानिकल तथा इलेक्ट्रिकल, प्रसारण लाइन तथा सबस्टेशनका कार्यहरु करिब सम्पन्न भइसकेको बताए । लट न. १ को सिभिल कार्यतर्फ हेडवक्र्स निर्माणमा डाइभर्सन बाँध, इन्टेक र डिस्याण्डरको सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको बताए उनले बताए । यस्तै सुरुङहरु खन्ने र विद्युत गृह कम्प्लेक्स निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यस्तै, लट न. २ को हाइड्रो मेकानिकलतर्फ बाँधको र्याडिअल गेट न.१, २ र ३ को जडान कार्य, इन्टेक ब्लक अन्तर्गत दुईटै गेटको जडान कार्य, विद्युत गृह युनिट १ देखि ६ सम्मको टर्बिन आउटलेट गेटको सिल बिम राख्ने लगायतका कार्यहरु सम्पन्न भएको जनाइएको छ । लट न. ३ को मेकानिकल तथा इलेक्ट्रिकल अन्तर्गत सम्पूर्ण युनिटहरुको टर्विनको जडान, एमआइभी जडान, कुलिङ वाटर सिस्टम जडान लगायतका धेरै कार्यहरु जडान भइसकेका छन् । लट न. ४ को प्रसारण लाइन तथा सवस्टेशन अन्तर्गत गोगर–खिम्ती २२० के.भी २२० केभी प्रसारण लाइनमा निर्माण गरिने १२७ टावर मध्ये सबै टावरहरुको जग निर्माण गरी १२३ वटा टावरको पूर्ण रुपमा जडान सम्पन्न भइसकेको जनाइएको छ । यस्तै खिम्तीमा निर्माण भइरहेको नयाँ खिम्ती सवस्टेशनको कन्ट्रोल रुम विल्डिङको जगको सम्पूर्ण कार्य सम्पन्न भई ब्रिक वालको कार्य भइरहेको जनाइएको छ । ५० मिटर पेनस्टक पाइप जडान माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा करिब ५० मिटर पेनस्टक पाइप जडान भएको छ । ३ सय ७२ मिटर लामो सुरुङको तल्लो खण्डमा ३५ मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको हो । ३ सय १० मिटर लामो माथिल्लो खण्डमा साढे १२ मिटर पेनस्टक पाइप जडान पूरा भएको छ । आयोजना प्रमुख श्रेष्ठले यो वर्षभित्र पाइप जडानको काम पूरा गरेर निर्माण कार्य सक्ने बताए । लामो प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ र माथिल्लोमा ९ गतेदेखि पाइप जडान सुरु भएको हो । पेनस्टक पाइप आपूर्ति तथा जडानको(लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ । आयोजनाको हाइड्रो मेकानिकल अन्तर्गत टेक्स्म्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदीको डिजाइन, ढुवानी, जडान र परीक्षण काम गर्नेछ । आयोजनामा १ सय ३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्नेछ । हाल सम्मको खर्च कति ? माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा हाल सम्म ५५ अर्ब ५५ करोड ७० लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । २०७५ असार मसान्त सम्मको निर्माण अवधिको व्याज पुँजिकरण भएको रकम १५ अर्ब ७ करोड ५० लाख ६० हजार सहित उक्त रकम खर्च भएको जनाइएको छ । सोहि अवधिमा स्थिर सम्पतितर्फ ९३ लाख ६६ हजार खर्च भएको जनाइएको छ । प्रशासनिक खर्चका रुपमा कर्मचारी खर्च, मर्मत सम्भार खर्च तथा अन्य सञ्चालन खर्च समेत ५ करोड ३९ लाख ५ हजार खर्च भएको छ भने यस अवधिको मूल्य ह्रास कट्टी खर्च र विदेशी मुद्रा सटही दरमा भएको नोक्सानी लगायतका नाफा नोक्सानलाई समावेश गरेर १० करोड २९ लाख ६९ हजार ऋणात्मक हुन गएको जनाइएको हो । हालसम्म आयोजनाको कुल लागत ७३ अर्ब ६८ करोड हुने अनुमान गरिएको छ । विभिन्न समयमा निर्माण कार्यमा भएको अवरोधले काममा ढिलाई हुन गएको र अन्तराष्ट्रिय स्तरमा भएको मूल्यबृद्धि, वैदेशिक मुद्राको सटही दरमा भएको मूल्य बृद्धि जस्ता कारणले आयोजनाको लागतमा पनि बृद्धि भएको आयोजनाले जनाएको छ । निर्माण कार्य शुरु गर्दा शुरुको ब्याज बाहेक अनुमानित लागत ३५ अर्ब २९ करोड ४१ लाख थियो । त्यसपछि उक्त रकम कम हुने भएपछि २०७४ चैत्र ३० मा बसेको सञ्चालक समितिको बैठककले निर्माण अवधिको व्याज बाहेक ४९ अर्ब २९ करोड ५५ लाख ४३ हजार लागत रकम स्विकृत गर्यो । यसरी निर्माण अबधि बढ्न गएको कारण ब्याजको भार समेत बढ्न गएकोले आयोजनाको समग्र अध्ययन तथा वित्तीय विश्लेषणको प्रतिवेदन पेश गरी विस. २०७६ चैत्रसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्यको आधारमा आयोजनाको प्रक्षेपित लागत अनुमान ५१ अर्ब ९४ करोड र सोही मितिसम्मको व्याज २१ अर्ब ७४ करोड पूँजिकरण सहित आयोजनाको कुल लागत ७३ अर्ब ६८ करोड अनुमान गरिएको हो । यस आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब , नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २/२ अर्ब र अपुग १० अर्ब ५० करोड नेपाल सरकारले ऋण लगानी गरेको छ । आयोजनाका मुख्य समस्याहरु के छन् ? माथिल्लो तामाकोसी जलविद्युत आयोेजना निर्माणमा विविध समस्याहरु देखा परेका छन् । पहिले आयोजना निर्माणमा भूकम्पलले क्षति, भारतको नाकाबन्दी र मधेश आन्दोलनका कारण काममा ढिलाई भएका थियो । पछिल्लो अवस्थामा आयोजना कार्यालयले अन्य थुप्रै समस्याले गर्दा निर्माण कार्यमा ढिलाई हुन गएको बताएको छ । आयोजनाले विनियोजन गरिएको बजेट अनुसार आर्थिक श्रोतको अभाव रहेको, विदेशी श्रमिकहरुको भिसा तथा श्रम इजाजत, ठूला भारवहन उपकरणहरु ढुवानी कार्यमा समस्या आई उपकरण जडान कार्य प्रभावित भएको र स्टील पेनस्टक जडान गर्ने कार्य ढिलाइ भएको लगायतका समस्या भएको बताइएको हो । आयोजनाले फेरिएको बिगु गाउँपालिका ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले बिगु गाउँपालिका मात्र होइन दोलखाको नै मुहार फेरेको छ । जिल्लाको बिगु गाउँपालिका लामाबगरमा स्थित तामाकोसी जलविद्युत आयोजनाले त्यस क्षेत्रको पूर्वाधार विकास गर्न र जनचेतना बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजना कार्यालय बताउँछ । ‘आयोजना जानु अघि कुनै विकासका पूर्वाधारहरु थिएनन्’ आयोजना प्रमुख श्रेष्ठले भने,–‘अहिले विकासका पूर्वाधारहरुको कमि छैन, हरेक मानिसहरुले आफ्नो नैसर्गिक अधिकारका बारेमा खुलेर बोल्न थालेका छन् ।’ माथिल्लो तामाकासी जलविद्युत आयोजनाले बिगु गाउँपालिकामा उल्लेख्य आर्थिक तथा भौतिक प्रगति गरेको जनाएको छ । आयोजना निर्माणकै क्रममा ६८ किलोमिटर सडक विस्तार, सात वटा पुलहरु निर्माण, शिक्षा, स्वास्थ्यमा स्थानीयको पहुँच बढाउने लगायतका पूर्वाधार विकासका गतिविधिमा आयोजनाले उल्लेख्य भूमिका खेलेको उनले बताए । आयोजनामा नै सयौं स्थानीयहरुले रोजगारी पाउनुका साथसाथै विद्युतको सेवा पनि पाएका छन् । राष्ट्रिय गौरवको आयोजना त्यहाँ गएपछि अन्य हाइड्रोपावरहरु पनि आकर्षित भएको जनाइएको छ ।
‘साढे तीन वर्षभित्रमै काठमाडौं-तराई द्रुतमार्गमा गाडी सरर’
काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले स्वीकृत गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र आयोजनाको प्रगतिबारेमा जानकारी दिने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा डिपिआर, जनशक्ति र बजेटको सुनिश्चितता भइसकेकाले अव आयोजनालाई तिव्रता प्रदान गर्न कुनै बाधा अड्चन नरहेको नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । एशियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रुतमार्गको अनुमानित निर्माण लागत मूल्य अभिवृद्धिकरसहित रु एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार रहेको आयोजना प्रमुख सरदलाल श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, “आयोजना अघि बढाउने सन्दर्भमा महत्वपूर्ण मानिएका विशेष प्रकृतिका पुल, सुरुङलगायतका काम एकैसाथ अघि बढाइनेछ, आगामी साढे तीन वर्षभित्रमै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखी सम्पूर्ण स्रोत साधन परिचालन गरेर काम गरिने छ ।” नेपाली सेनाको व्यवस्थापनमा उच्च प्राथमिकताका साथ द्रुतगतिमै कार्यान्वयन हुने उक्त आयोजनालाई गुणस्तरसहित निर्धारित समयमै सम्पन्न गर्न डिपिआरलाई महत्वपूर्ण र आधारभूत दस्तावेजका रूपमा लिइन्छ । कूल लम्बाइ ७२ दशमलव ५ किमि कायम भएको उक्त दु्रतमार्गमा महादेव डाँडा, धेद्रे डाँडा र लेन डाँडामा गरी तीन वटा सुरुङ बनाइने छ भने ७४ मिटर अग्लोसम्मका १६ वटा विशेष प्रकृतिको पुल निर्माण गर्नुपर्ने छ । त्यस्ता पुल झण्डै आधा किलोमिटर लामासम्म हुनेछन् । उक्त द्रुतमार्ग निर्माणपछि काठमाडौंबाट निजगढ एक घण्टामै पुगिने छ । आगामी साढे तीन वर्षभित्रमै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखी सम्पूर्ण स्रोत साधन परिचालन गरेर काम गरिने छ । तीन वटा सुरुङको लम्बाइ ६ दशमलव ४१ किमि छ भने ठूला अग्लासहित ८७ वटा पुल उक्त मार्गमा रहनेछ । पाँच महिनासम्म उक्त डिपिआर स्वीकृत नहुँदा कामले तीव्रता पाउन नसकी अघिल्लो वर्ष विनियोजन भएको रु १५ अर्बमध्ये रु नौ अर्ब रकम फिर्ता भएको थियो ।रक्षा मन्त्रालयका सहायक प्रवक्ता मनोजकुमार आचार्यले उक्त राजमार्ग निर्माणको लागि बजेटको कुनै अभाव हुन नदिने अर्थमन्त्रालयबाट प्रतिबद्धता प्राप्त भएको सो अवसरमा जानकारी दिएका हुन् । प्रारम्भिक चरणका काम एसियाली विकास बैंकद्वारा तयार गरिएको सम्भावित अध्ययन र प्रारम्भिक डिजाइन तथा सेनाले बनाएको विस्तृत इञ्जिनीयरिङ सर्भे र अलाइमेन्ट डिजाइनका आधारमा काम हुँदै आएको थियो । चार लेनमा निर्माणाधीन सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर हुनेछ । खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज र दुई विश्रामस्थल हुनेछ । खोकना क्षेत्रमा सिकाली मन्दिर र कोदेशमा पुरातात्विक महत्वको क्षेत्र जोगाउने गरी शुरुमा प्रस्तावित सडकको रेखाङ्कनमा केही संशोधन गरी नयाँ रेखाङ्कन गरिएको छ । पुल र सुरुङबाहेक ५५ दशमलव ५ किमी लम्बाइ रहने उक्त द्रुतमार्गको २५ दशमलव ४४ किमिमा सबग्रेड फर्मेशनसम्मको निर्माणको प्रगति शतप्रतिशत, १० किमि क्षेत्रमा ८० प्रतिशत, १६ किमी खण्डमा ५० देखि ८० प्रतिशतसम्मको प्रगति रहेको छ । समग्र निर्माणको काममध्ये डिपिआर स्वीकृत हुनुपूर्व नै आठ प्रतिशत प्रगति हासिल गरेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । दु्रतमार्गका लागि हालसम्म जग्गा अधिग्रहणको कार्य ९६ प्रतिशत एवं रूख कटान ९७ प्रतिशत प्रगति भइसकेको छ । उक्त आयोजनाका लागि चालू आवमा रु १५ अर्ब बजेट विनियोजन भएको छ । उक्त द्रतमार्ग निर्माणका लागि नेपाली सेनाले १० स्थानमा शिविर खडा गरेर काम गर्दै आएको छ । यसअघि उक्त दु्रतमार्गको ‘ट्र्याक’ पनि नेपाली सेनाले नै खनेको थियो । उक्त आयोजनालाई नेपाली सेनाले अवसर र चुनौतीका रूपमा लिएर काम गरिरहेको छ । रासस