सिसडोलबासी फेरी आन्दोलनमा, भदौं १ गतेदेखि निर्माण कार्य रोक्ने घोषणा
काठमाडौं । सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे जस्तोसुकै कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सिसडोल व्यवस्थापन अस्तव्यस्त सधैंका लागि बन्द गर्नुपर्ने र सिसडोल डम्पिङबाट सिर्जित समस्याहरुको अन्तराष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने मुख्य माग अघि सारेको छ । आफूहरुको जायज माग समयमै सम्बोधन नभए जस्तोसुकै कदम चाल्पनि बाध्य हुने समितिको गम्भिर चेतावनी छ । उक्त समस्यालाई लिएर काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग धेरै पटक वार्ता गर्दापनि समस्याको समाधान नगरेको समितिको आरोप छ । आफूहरुको समस्यालाई बेवास्ता गरिएको भन्दै हिजैदेखि समितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न नदिने र सधैंको लागि बन्द गर्ने पनि घोषणा गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष चक्रमान बलामीले आफूहरुले अघि सारेका माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘फोहोर फाल्ने सरकारी जग्गा फोहोरले पूरा ओगटिसकेको छ । अब फोहोर व्यवस्थापन गर्ने जग्गा नै छैन ।’ सरकारले सिसडोलको विकल्प खोज्नुपर्ने उनको भनाई छ । कार्यक्रममा समितिका बरिष्ठ सल्लाहकार ज्ञानेन्द्र प्रकाश गजुरेलले संघर्ष समिति कुनैपनि पार्टीसँग आवद्ध नभई विशुद्ध पीडितहरु आवद्ध भएको बताए । उनले राज्यले पीडितहरुको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले आफूहरु कडा आन्दोलनमा उत्रिने तयारीमा रहेकोले अब समस्या समाधान नभएसम्म संघर्षबाट पछि नहट्ने चेतावनी दिए । उनले हिजोदेखि आफूहरुले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरु ठप्प पारेको पनि जानकारी दिए । समितिका समर्थक प्रत्यक्ष प्रभावित राजन न्यौपानेले फोहोरकै कारण स्थानीय ११/१२ जनाले अनाहकमा ज्यान गुमाउुनु परेको सुनाए । सरकारले प्रहरी प्रशासनको सामू मात्रै वार्ता गर्न चाहेको उनको भनाई छ । उनले भने,‘डर, त्रास देखाएर वार्ता हुँदैन, हामीमाथि सरकार र काठमाडौं महानगरले ज्यादती गर्यो ।’ आफूहरुले विगतदेखि नै राख्दै आएको न्यूनतम मागहरु पूरा गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘मान्छेको विमा, पशु विमा र बालीनालीको पनि विमा गर्नुपर्छ ।’ सरकारले आफूहरुको मानवअधिकार नै उल्लंघन गरेको पनि उनले आरोप लगाए । अर्का स्थानीयवासी तथा प्रत्यक्ष प्रभावित श्रीराम ढुंगानाले आफू विगत २० वर्षदेखि यो समस्या समाधानको लागि लागिपरेको भएपनि अहिलेसम्म समाधान नभएकोमा गुनासो पोखे । वर्तमान सरकार बलियो सरकार भएपनि कामभन्दा कुरा बढि गरेको उनको आरोप छ । फोहोरकै कारण आफूहरुको सम्पत्ति र सन्ततिको असुरक्षा बढेको पनि उनले चिन्ता व्यक्त गरे । उनले माग पूरा नभएसम्म अब फोहोर व्यवस्थापन गर्नै नदिने चेतावनी दिए । उनले भने,‘म बरु मर्न तयार छु । झ्यालखाना जान तयार छ ु। अब अति नै भयो । माग पूरा गर्नुपर्छ ।’ उनले संघर्ष समितिले अघि सारेका मागहरुप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको जनाए । आगामी भदौ १ गतेसम्म माग पूरा नगरे व्यवस्थापनसम्बन्धी भैरहेको कुनैपनि निर्माण काम गर्न नदिनेपनि उनले चेतावनी दिए । उनले भने,‘तत्काल सरकारले क्याविनेटबाट निर्णय गरेर हाम्रो माग पूरा गर्नुपर्छ । त्यसो नगरे हामी निर्माण काम गर्नै दिँदैनौं ।’ सिसडोलको समस्याको दिर्घकालिन समाधान खोज्नुपर्ने भन्दै सरकार त्यतातर्फ गम्भिर बन्नुपर्ने उनको जोड थियो ।
इलाममा चिया परीक्षण भवन बन्ने, रु २६ करोडको लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । यसरी, दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा रु पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । सो कार्यमा साझेदारी गर्न आवश्यक बजेट विनियोजन गर्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।“चिया परीक्षण केन्द्र बनाउन प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ”, उनले भने, “प्रदेश सरकारसँग हामीले साझेदारी गर्नुपर्ने आवश्यक रकम हामी विनियोजन गर्छौं ।” रु २६ करोडको लागतमा निर्माण हुने उक्त केन्द्रको भवनका लागि प्रदेश सरकारको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारी हुनेछ । परीक्षण केन्द्र निर्माण भएपछि इलामको अर्थोडक्स चियाको बजार प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास चियाको किसानको छ ।परीक्षण केन्द्रको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्टिमेट तयार भइसकेकाले निर्धारित मितिभित्र नै निर्माण सकिने नगरप्रमुख राईले बताएका छन् । यहाँ निर्माण हुन लागेको चिया परीक्षण भवनमा चियाको प्राङ्गारिक परीक्षणसमेत गरिने जनाइएको छ । धेरै झञ्झट गरेर ठूलो मूल्यमा विदेश लगेर चियाको प्राङ्गारिक परीक्षण गर्ने काम पनि यो भवन निर्माणपछि अन्त्य हुने भएको छ । सर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार प्राङ्गारिक परीक्षणको सबै प्रक्रिया यहीँ गरिने र अन्तिम नतिजाका लागि मात्र विदेश पठाइनेछ । योसँगै यहाँ चियाको सूचना केन्द्रसमेत निर्माण गरिने छ । यसरी, चियासम्बन्धी जानकारीमूलक विषयको सोधखोजका लागि यहाँ सूचना केन्द्र निर्माण गर्न लागिएको हो । चिया व्यवसायी सोमन योल्मोले बहुउपयोगी प्रयोगका लागि निर्माण हुने यो भवन चियाको बजारीकरणमा देखिएको समस्या हल हुनसक्ने बताए । रासस
सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार कम्पनीको साधारण सभा असार २८ मा, सञ्चालक समिति चयन गरिने
काठमाडौँ । काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार विकास कम्पनीको तेश्रो, चौथो, पाँचौ र छैठौँ वार्षिक साधारण सभा असार २८ गते हुने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा काठमाडौँ रामशाह पथमा रहेको योगम्बर पार्टी भेन्यूमा हुने जनाइएको छ । साधारण सभा प्रयोजनको लागि असार ८ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खारेज(बुक क्लोज) हुने कम्पनीले जनाएको छ । साधारण सभाले कम्पनीको नयाँ सञ्चालक समिति चयन गर्नेछ । निर्वाचन सम्बन्धी कार्यक्रम सभा शुरु हुनु भन्दा ५ दिन अघि अर्थात असार २३ गते प्रकाशित गर्ने जनाइएको छ । यो समाचार पनि पढ्नुहोस्: सुरुङमार्ग बनाउने कम्पनीको सञ्चालक समिति विघटन, पावर चाईनासँग ज्वाइन्ट भेञ्चर