सडक विस्तार अन्यौलपूर्ण, आवासको जग्गा हटाउने प्रयास
काठमाडौं । विसं २०३३ र २०४५ को मापदण्डअनुसारका मूल सडक विस्तार हुन नसकेका बेला गोकर्णेश्वर नगरपालिका–१ मा भित्री सडक विस्तार गर्ने नाममा वर्षौँदेखि बस्दै आएका मानिसको बास उठाउन खोजिएको छ ।नगरपालिकाको चालू आर्थिक वर्षको योजनामा वडा नं १ को कारखानाबाट रामेश्वर खड्काको घरसम्म सडक स्तरोन्नति गर्ने कार्यक्रम राखिएको छ । पाँच लाख रुपैयाँ छुट्याइएको सो योजनामा सडकको मूलविन्दु कहाँ हो र कतिसम्म विस्तार गर्ने भन्ने सूचना दायाँबायाँका स्थानीयवासीलाई नदिई बास उठ्ने गरी विस्तार गरिएको हो । उक्त नगरपालिका क्षेत्रमा पर्ने बौद्ध पिपलबोटबाट सुन्दरीजलसम्मको मूल सडक यही नगरपालिकामा पर्छ । यसैगरी जोरपाटीबाट दक्षिणढोकाको सडक पनि गोकर्णेश्वर नगरपालिकामै पर्छ । वर्षौदेखि ठेक्का लागेर पनि विस्तार हुन नसक्दा यी सडक अलपत्र छन् । सोका कारण वषौँदेखि यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् । यी सडक विस्तार गरेर कालोपत्र गर्न नगरपालिकाले कुनै पहल गरेको छैन । यसरी विस्तार गर्न लागिएको सडक कतै गर्ने र कतै नगर्ने गरिएको स्थानीयवासीको गुनासो छ । एक दशकअघि आफ्नो घरमा कोही नभएको मौका छोपी सडक सीमा सारेको समूहले सारिएको स्थानमा धारा हालेको थियो । धारा भत्काएपछि सडक विस्तारका नाममा आवासको हकबाट बञ्चित गर्न खोजिएको स्थानीय लालकृष्ण मिश्रले गुनासो गरेका छन् । सडकको मुख र अन्त्यमा विस्तार नगरी बीचबीचमा मात्र विस्तार गरिएको छ । केही व्यक्तिको जग्गा सिधा पार्न नगरपालिकाले काम गर्न गठन गरेको उपभोक्ता समिति प्रयोग भएको छ । नगरपालिकाका योजना शाखा प्रमुख मीनराज कोइरालाले सडक दायाँबायाँका जग्गाधनीको सहमतिविना एउटा इँटा पनि सार्न नसकिने बताए ।यसैक्रममा,नगरपालिकाका उपप्रमुख शान्ति नेपालले सडक विस्तार गर्ने योजना भए पनि कुनै पनि व्यक्तिको घरलाई असर पुग्ने गरी विस्तार नगरिने जानकारी समेत दिएका छन् । रासस
पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, असार भित्र सञ्चालनमा आउने
काठमाडौँ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन (आइओसी)सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पोरेशनले यही जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालिम दिनेछ । नेपालतिर ३६ र भारततिर ४२ किलोमिटर पाइप बिछ्याइने उक्त परियोजनालाई गति दिन निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सक्रियता देखाएपछि काम सम्पन्न भएको हो । निगमका उपनिर्देशक पुष्कर कार्कीका अनुसार तालीमपछि परियोजना हस्तान्तरण भई सञ्चालनमा आउनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको छ । मोतिहारी-अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना छ । रासस
महाकाली पुलको काम ३५ प्रतिशत सकियो
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ । चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु धमाधम निर्माण भइरहेका छन् । केही समय मुआब्जा विवादका कारण पहुँच मार्ग निर्माणमा अवरोध भए पनि उक्त विवाद टुङ्गिएसँगै निर्माण कम्पनीले सडक निर्माण तीव्र रुपमा गरिरहेको छ । महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका इञ्जिनीयर शुलभ न्यौपानेले नदीमा समय समयमापानीको मात्रा घटबढ हुँदा पुल निर्माणमा बाधा पुग्ने गरेको बताएका छन् । इञ्जिनीयर न्यौपानेले भने,“पुलको ३० मुख्य पिल्लरमध्ये १२ वटाको निर्माण कार्य तथा गड्डाचौकी र भुजेला खोलाका बन्ने पहुँच मार्गका दुई पुल निर्माणको अन्तिम चरणमा छन् ।” आठ सय मिटर लम्बाइको चार लेनको पुल निर्माण भए महाकाली पारीको दोधारा–चादँनीलाई जोड्ने छ । तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । पुल निर्माणको शुरुआतमा केही समस्या भएका कारण निर्माणकोअवधि थप हुन सक्ने सम्भावना छ । यसै क्रममा कञ्चनपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले महाकाली नदीको पुललाई सुदूरपश्चिम प्रदेशको विकासको ढोकाको रुपमा हेरिएको बताएका छन् । “पुल निर्माण भएपछि भारतीय औद्योगिक क्षेत्रसँग सहकार्य बढ्ने र व्यापारिक नाकाका रुपमा विकास गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुन धेरै समय लाग्दैन ।”मल्लले भने । यसरी उक्त पुल बनेपछि भारतको पञ्जाव, हरियाणा, दिल्ली, उत्तरप्रदेशलगायत राज्यसँग सहकार्य गर्न मद्दत पुग्ने र सहज रूपमा वस्तु आयात–निर्यात गर्न सहज हुने बताएका हुन् ।साथ ै पुल निर्माण कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफसी)को संयुक्त सहकार्यमा भइरहेको समेत उल्लेख गरेका छन्। रासस