कर्णालीका ७३ प्रतिशत जनसङ्ख्यामा अझै पुगेन विद्युत्
काठमाडौँ । कर्णाली प्रदेशका ७३ प्रतिशत जनसङ्ख्याले अझै पनि विद्युत् सेवा प्राप्त गर्न सकेका छैनन् । जलविद्युतको अपार सम्भावना भए पनि सो प्रदेशका नागरिकले सहजरूपमा विद्युत् सेवा पाउन नसकेको पाइएको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण अनुसार गत फागुनसम्म कर्णाली प्रदेशका २७ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् पहुँच पुगेको पाइएको हो । मुलुकको कूल जनसङ्ख्या मध्ये ७७ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । अझै २२ दशमलव दुई प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुग्न नसकेको पाइएको छ । सबैभन्दा बढी विद्युत् सेवा उपभोग गर्ने प्रदेश नं ३ शीर्ष स्थानमा रहेको छ । यस प्रदेशका ९० प्रतिशत बढी जनसङ्ख्याले विद्युत् सेवा प्राप्त गरेका छन् । यस्तै प्रदेश नं १ मा ७५ दशमलव ९०, प्रदेश नं ३ मा ७९.७७, गण्डकी प्रदेशमा ८७.३९, प्रदेश नं ५ मा ८१.०३ र सुदूरपश्चिम प्रदेशमा ५८.९० प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् सेवा पुगेको पाइएको छ । यसरी हेर्दा विद्युत् सेवाको उपलब्धतामा कर्णाली र सुदूरपश्चिम प्रदेश नै पछाडि रहेको पाइएको छ । कर्णाली प्रदेशका छ नगरपालिका र ३७ गाँउपालिका तथा सुदूरुपश्चिम प्रदेशका चार नगरपालिका र ११ गाँउपालिकामा विद्युतको पहुँच पुग्न नसकेको हो । दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म सबैका लागि ऊर्जाको पहुँच पु¥याउन यस क्षेत्रमा थप लगानी गर्नुपर्ने देखिएको छ । चालु आवको फागुन मसान्तसम्म एक हजार १४२ मेगावाट विद्युत् उत्पादन भएको छ । सोही अवधिमा तीन हजार ९०८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको छ भने एक लाख ४४ हजार किलोमिटर वितरण लाइन निर्माण भएको छ । हालसम्म विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या ४२ लाख ८४ हजार पुगेको छ । आर्थिक सर्वेक्षण अनुसार एक हजार २९ मेगावाट विद्युत् विद्युतत्बाट उत्पादन भएको छ । यस्तै थर्मल प्लान्टबाट ५३ मेगावाट, सौर्य ऊर्जाबाट २७ मेगावाट तथा लघु तथा साना आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन भएको छ । त्यसमा नेपाल विद्युत् प्राधिकरणको मात्रै ५६१ मेगावाट र निजी क्षेत्रले ५२२ र वैकल्पिक ऊर्जाबाट ५९ मेगावाट बराबरको विद्युत् राष्ट्रिय ग्रीडमा जोडिएको छ । चालु आवको फागुन मसान्तसम्म भारतबाट एक हजार ८३४ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएको छ । आव २०७४/७५ मा भारतबाट दुई हजार ५८१ गिगावाट घण्टा बराबरको विद्युत् आयात भएको थियो । विद्युत् उत्पादनको आधारमा गण्डकी प्रदेश शीर्ष स्थानमा रहेको छ । आव २०७४/७५ को असार मसान्तसम्म सो प्रदेशमा मात्रै ४८१ मेगावाट विद्युत् उत्पादन भएको थियो । यस्तै प्रदेश नं २ मा हालसम्म कुनैपनि विद्युत् आयोजना सञ्चालनमा आएको छैन । आगामी दिनमा भने सो प्रदेशमा २०० मोगावाट क्षमताको सौर्य परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ऊर्जा क्षेत्रको विकासका लागि सरकारले विसं २०७५ देखि २०८५ लाई ऊर्जा तथा जलस्रोत दशक घोषणा गरेको छ । यस्तै आर्थिक सर्वेक्षणले चालु आवको अन्त्यसम्म २५६ मेगावाट क्षमताका २० आयोजना सम्पन्न हुने उल्लेख गरेको छ । यस्तै आव २०७६र७७ मा भने ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजना सम्पन्न भई कूल एक हजार २६४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप हुनेछ । यस्तै चालु आवको फागुन मसान्तसम्म कूल २९ हजार ५७८ मेगावाट क्षमताका जलविद्युत् आयोजनाका लागि विभिन्न प्रकारका अनुमति जारी गरिएको छ । प्राधिकरण र निजी क्षेत्रले १८ हजार १९४ मेगावाट क्षमता बराबरका २८४ र १७ साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी भएको छ । रासस
२० मेगावाटको तल्लो मोदीखोलाबाट उत्पादन लम्बियो, असार पहिलो सातादेखि परीक्षण
पर्वत । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ । उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अझै एक महीना लाग्न सक्ने देखिएको जनाइएको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भाग भेटिएको थियो । मर्मतको काम जेठको तेस्रो साताभित्र सकेर असार पहिलो सातामा परीक्षण उत्पादन गर्ने योजना रहेको आयोजना स्रोतले जनायो । टनेलको पक्की नगरिएको ठाउँमा पानी चुहिएपछि पहुँच मार्ग (अडिट टनेल)बाट पानी बाहिर आएको थियो । साउथ एशिएन लिमिटेडले सुरुङ निर्माणको काम गरेको थियो । अहिले सुरुङमा परीक्षण र मर्मतको काम भइरहेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । “मर्मत सकिएपछि सबै प्रक्रिया पूरा गरेर परीक्षण उत्पादन थाल्छौँ”, उनले भने, “केही प्राविधिक समस्या देखिएकाले परीक्षण उत्पादन सोचेभन्दा ढिलो शुरु हुने अवस्था आएको हो ।” यसैगरी, पावरहाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिएकाले निर्माणकार्यमा ढिलाइ भएको जनाइएको छ । परादीस्थित पावरहाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करीब सात मिटर छोटो भएको थियो । आयोजनाले तारको दूरी नाप्ने इञ्जिनीयरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौँ नोक्सान हुने जनाएको छ । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावरहाउसदेखि प्रसारण लाइनसम्म पुर्याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो । विसं २०६९ साउनमा निर्माण शुरु गरिएको सो आयोजनाको उत्पादन लक्ष्य २०७४ असारसम्म थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आउनाका साथै स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको थियो । रासस
कालीगण्डकी प्रसारण आयोजनाको सवस्टेशन निर्माण कार्य ४५ प्रतिशत पूरा
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजना अन्तर्गतको सवस्टेशन निर्माण कार्य करीब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती (न्यू बुटवल २२०/१३२ केभी सवस्टेशन) आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब चार महीना लाग्ने आयोजनाले जनाएको छ । २२०/१३२/३३/११ केभी सवस्टेशनमा पहिलो र दोस्रो चरण गरी तीन ट्रान्सफर्मर राखिने योजना रहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्द्रकुमार घोषले जानकारी दिए । विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत विद्युत् सवस्टेशन निर्माणको काम तीव्रगतिमा भइरहेको न्यू बुटवल डिभिजन कार्यालय नवलपरासीका प्रमुख एवं वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाका बुटवल डिभिजन प्रमुख विश्वरञ्जन मिश्रले बताए । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सवस्टेशन र कुश्मा तथा पश्चिम नवलपरासीको स्टेशन जोड्ने गरी सवस्टेशन निर्माण जारी छ । नेपाल सरकारले अघि बढाइरहेको सो कार्यका ठेकेदार कम्पनी भारतका श्री टाटा प्रोजेक्ट्स लिमिटेड रहेको छ । कुश्मा–न्यू बुटवल खण्डअन्तर्गत पर्वतको कुश्मादेखि बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम नवलपरासीको बडेरासम्म ८८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । न्यू बुटवलदेखि पश्चिमनवलपरासीको बर्दघाटसम्म २० किलोमिटर लामो अर्को खण्ड निर्माण गरिनेछ । रामनगर बडेरामा २२० र १३२ र ३३ केभीको न्यू बुटवल सवस्टेशन निर्माण भइरहेको छ । करीब २५ बिघा क्षेत्रफलमा निर्माणाधीन आयोजना विसं २०७१ मा जग्गा व्यवस्थापन गरिएको थियो । रासस