८ ठेकेदारमाथि कारवाही, ‘सडक र पुल समयमा बनाएनन्’

लहान । सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । सम्झौताबमोजिम ठेक्काको काम शुरु नै नगरेको तथा कार्य शुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएकाले मौखिक पत्र तथा सूचनामार्फत पटकपटक जानकारी गराउँदासमेत कार्य शुरु गर्नेतर्फ पहल नथालेपछि कारवाही शुरु गरिएको प्रमुख साहको भनाइ छ । सप्तरीको गिदेरी खोला पुल र महुली घाडन खोला पुलको ठेक्का लिएको पप्पु मृत सञ्जिवनी जेभी काठमाडौँमाथि कारवाही गरी दुवै ठेक्काबाट रु दुई करोड १८ लाख ७० रकम फिर्ता गराइएको छ भने सप्तरीको मुतनी खोला र सिरहाको सरस्वती खोलामा पुल निर्माणको ठेक्का लिएको रोशन कन्स्ट्रक्सन जनकपुरमाथि कारवाही गरी रु ५९ लाख ७० हजार फिर्ता गराइएको छ । सप्तरीको सुमन्दरी खोलामा पुल निर्माणको ठेक्का लिएको नीलगिरी निर्माण सेवा प्रालि बानेश्वर काठमाडौँमाथि समेत कारवाही गरी रु ४७ लाख ५० हजार रकम फिर्ता गराएको कार्यालय प्रमुख साहले बताए । त्यस्तै अन्य तीन ठेक्काका ठेकेदारमाथि समेत कारवाही गरी रकम फिर्ताका लागि बैंकमा पत्र काटिएको जनाइएको छ । कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम शुरु नगर्ने र गुणस्तरहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यस्ता निर्माण कम्पनीमाथि निगरानी बढाइएको प्रमुख साहको भनार्इ छ ।

चापागाउँमा ७ दिनदेखि यातायात सेवा बन्द, सडक मर्मतको माग

ललितपुर । चापागाउँमा ७ दिनदेखि यातायात सेवा बन्द छ । स्थानीयवासीले सडक मर्मतको माग गर्दै सो यातायात सेवा बन्द गराएका हुन् । सडक विस्तार आयोजनाले समयमै चापागाउँ–सातदोबाटो सडकखण्ड मर्मत नगर्दा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन् । ‘धुवाँ, धुलो अति भो, ठेक्का दिएको कति भो, समय हे¥यौँ पटक पटक, पछि हट्दैनौँ हामी यो पटक’ नाराका साथ चापागाउँवासीले सडक ठप्प पारेका हुन् । बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सडक समस्या समाधान गर्नका लागि पहल गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । “राज्यले स्थानीयवासीलाई समयमै मुआब्जा दिन नसकेका कारण बीच बीचमा सडक निर्माणको काम रोकिँदा धुवाँ, धुलोको समस्या खप्नुपरेको हो”, उनले भने । नगरपालिकाले सहजीकरणको काम मात्र गर्ने हुँदा बारम्बार बैठकमा कुरा उठाएको महर्जनले बताए । नगरपालिकाको मातहतमा छेउ र भित्री सडक मर्मत गर्ने जिम्मेवारी रहेकाले मर्मत गरिँदै छ । नगरपालिकाले चापागाउँ मूल सडकबाट सानो टिपर आवतजावत गर्न दिए पनि ठूलो टिपरको लागि नख्खु करिडोरको व्यवस्था गरेको छ । सो सडक विस्तार र मर्मत मात्र होइन् कालोपत्र पनि गरिनुपर्ने स्थानीयवासीको माग छ । सडकमा परेका घर टहरा पूरै नहटाएसम्म कालोपत्र गर्न नमिल्ने सडक विभागका महानिर्देशक केशवराज शर्माले बताए । “घरको मुआब्जाको व्यवस्था भएपछि मात्र कालोपत्र सम्भव छ”, उनले भने । सरकारले तत्काल चापागाउँ सडक मर्मत गर्ने जिम्मेवारी नलिए आन्दोलनमा उत्रने सांसद नवराज सिलवालले बताए ।

दार्चुला सदरमुकाममा पुग्यो विद्युतको राष्ट्रिय लाइन, अब खलंगामा नेपालकै विजुली

काठमाडौँ । दार्चुलाको सदरमुकाम खलंगामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी उक्त लाइन बुधबारबाट संचालन (चार्च)मा ल्याएको हो । अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्याई आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताए । ‘अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत आयात गरी आपूर्ति गरिरहेका थियौं, अब हाम्रै राष्ट्रिय ग्रिड पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन, त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गछौं जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरिय विद्युत् प्रयोग गर्न पाउने छन्’उनले भने । ‘आवश्यक परेको वेला खलंगाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ ।’ प्राधिकरणले खलंगामा विद्युत आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेवापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रुपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करिब ८ हजार ग्राहक छन् । बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्जुलाको थालीगाडमा निर्माणाधीन ३३/११ केभी सबस्टेसनको काम असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिए । ‘अहिले बलाँच–खलंगा लाइन ३३ केभीकै बनेता पनि सब स्टेसनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै चार्च गरेका छौं’,उनले भने । ‘असारभित्रमा सबस्टेसनको निर्माण सकिन्छ त्यसपछि लाइन पनि ३३ केभीमै चार्च गरी खलंगा क्षेत्रमा विद्युत् आपूर्ति गर्ने छौं ।’ नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको हो । बलाँच-खलंगा ३३ केभी प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाई २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भूबनोट, विकट क्षेत्र लगायतले गर्दा निर्माणमा केही ढिलाइ भएको कर्णले बताए । सबस्टेसन निर्माणका लागि ६ करोड ८९ लाख रुपैयामा २०७३को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत केन्द्रबाट र बलाँच सब स्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउने छ । चमेलिया जलविद्युत आयोजनाले निर्माण गरेको बलाँच सबस्टेसनमा ८.५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्य चमेलिया, ६५ मेगावाटको कलंगा गाड, २५ मेगावाटको छत्तिगाड आयोजना जोडिने छन् । त्यहाँ जोडिएको विद्युत चमेलियाले नै बनाएको १३१ किलोमिटर बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ ।