टोखा-नुवाकोट सडक, तमोर जलविद्युत र खानेपानीमा ३६७ अर्ब लगानी गर्ने चिनियाँ प्रस्ताव
काठमाडौं । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । ती परियाेजना निर्माणका लागि ३६७ अर्ब रूपैयाँ लगानी हुने अनुमान गरिएकाे छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने सडक तथा सुरुङ मार्ग र जलाशययुक्त ७५६ मेगावाटको तमोर हाईड्रोपावर आयोजनामा लगानी ल्याउने आशय सहित प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको हो । उक्त कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनामा लगानी ल्याउने आशय व्यक्त गरेको छ । सम्भाव्यता अध्ययन भईसकेका यी पाँच आयोजनाहरुको लागत करिब ९० अर्ब लाग्ने अनुमान गरिएको छ । यी पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ । खानेपानीका यी आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन कम्पनी आफैंले तयार गर्ने, चीन सरकारसँग समन्वय गरी चाईना एक्जिम बैंक मार्फत नेपाल सरकारलाई सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गराईएको सिएमइसीको नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिए । कम्पनीले सबै आयोजनाहरुमा लगानी छिटो जुटाउन ईन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एण्ड फाइनान्स (ईपिसिएफ) मोडालिटीमा आयोजना अघि बढाउने प्रस्ताव गरेको खतिवडाले बताए । ‘खानेपानी जस्तो कुरा जनताको मौलिक हक अधिकारसँग जोडिएको हुँदा यो जस्तो महत्वपूर्ण आयोजना अरु केही हुन सक्दैन । सरकारले यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरी अघि बढाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौं । सोही अनुसार नै खानेपानी आयोजना अगाडि बढाउने र लगानी जुटाएर निर्माणको काम गर्ने कम्पनीले प्रस्ताव गरेको छ’ उनले भने । यसैगरी सिएमइसीले सामाखुसी टोखा नुवाकोटको छहरे सडक तथा सुरुङ मार्ग निर्माण गर्न प्रस्ताव पेश गरेको छ । नेपाल र चीन जोड्नका लागि यो सडक अति महत्वपूर्ण रहेको खतिवडाले बताए । काठमाडौंबाट छोटो दूरीमा चीनको केरुङ पुग्न सजिलो हुने भएकाले यस सडक आयोजनालाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाई छ । कम्पनीले सहुलियतपूर्ण ऋण सहयोगमा यो सडक आयोजना अघि बढाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा गत आईतबार दर्ता गराएको हो । यो आयोजनाको लागत करिब २७ अर्ब रहेको अनुमान गरिएको छ । त्यस्तै सिएमइसी कम्पनीले ७५६ मेगावाटको जलाशययुक्त तमोर हाईड्रोपावर आयोजनामा समेत लगानी जुटाई आयोजना अघि बढाउने प्रस्ताव पेश गरेको छ । तीन वर्ष अघि नै यस आयोजनामा लगानी जुटाउने प्रस्ताव कम्पनीले गरेको खतिवडाले जानकारी दिए । तमोर हाईड्रोको अनुमानित लागत करिब डेढ खर्ब रहने अनुमान छ । कस्तो हो सिएमइसी कम्पनी ? सिएमइसी सन् १९७८ मा स्थापना भएको सरकारी कम्पनी हो । यो चीनको उत्कृष्ट १० भित्र पर्ने ईन्जिनियरिङ कम्पनी हो । यसले १ सय ५० वटा देशहरुमा खानेपानी, उर्जा र यातायात लगायत अन्य पूर्वाधारको क्षेत्रमा निर्माणको काम गरिरहेको छ । सन् २०१७ मा यस कम्पनीको वार्षिक कारोबार ३ खर्ब ७८ अर्ब रुपैंयाको भएको थियो । यो कम्पनीको नेट वर्थ (खुद सम्पत्ति) २ दशमलब ५ बिलियन अमेरिकी डलर रहेको छ ।
देशभर ९४ पुल निर्माण, २६ वटाको काम जारी
काठमाडौँ । सरकारले चालु आवभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामध्ये ८० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । चालू आवमा १२० पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा गत फागुनसम्ममा ९४ पुल निर्माण सम्पन्न भएका छन् । निर्माणाधीन सडक, पुल तोकिएको अवधिमा नै सम्पन्न हुने भौतिक योजना तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । विभिन्न राजमार्गमा र स्थानीय सडकमा पुलको निर्माण भइरहेको प्रवक्ता शिवहरि सापकोटाले बताए , उनका अनुसार यसवर्ष कतिपय पुल समयभन्दा पहिले नै सम्पन्न भइरहेका छन् । उहाँले भन्नुभयो, “पुल निर्माणका क्रममा कुनै समस्या भए त्यो हटाएर चाँडो काम सम्पन्न गराउन हामी लागेका र्छौँ ।” आगामी वर्षमा कम्तीमा दुई सय पुलको निर्माण सम्पन्न गर्ने योजना बनाइने प्रवक्ता सापकोटाले बताए । उनका अनुसार मन्त्रालयले आगामी वर्षको कार्यक्रम बनाउने क्रममा सडक पुललाई प्राथमिकता दिनेछ । बजेट व्यवस्थापन हुन सके तीन सयसम्म पुल योजनामा पारिने उहाँले जानकारी दिए । विगतका वर्षहरुमा वार्षिक ५०-६० वटा मात्रै पुल निर्माण हुने गरेको मन्त्रालयले जनाएको छ । चालु आवमा देशभरका झण्डै आधादर्जन सडकमा पर्ने पक्की पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा पहिले नै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । काम गर्ने ठाउँमा अवरोध नहुँदा र ठेकेदारले नियमित रुपमा काम गर्दा यी पुलको निर्माण समयभन्दा पहिले सम्पन्न भएको हो । सिन्धुली जिल्लामा रहेको कमला नदी पुल, मरिण नदी पुल, सुर्खेतको भेरी नदी पुल, जयरामघाट नदी पुललयायतका विभिन्न स्थानमा रहेका पुल तोकिएको अवधिभन्दा पहिले सम्पन्न भएका मन्त्रालयका प्रवक्ता सापकोटाले बताए । उनका अनुसार काम गर्न ठाउँ खाली हुँदा र ठेकेदारले पनि नियमित काम गर्दा यी पुलको निर्माण तोकिएको समयमै वा त्यो भन्दा अघि सम्पन्न भएको छ । समयमा सम्पन्न हुँदा त्यसले स्थानीयवासीको जीवन सहज बनाउने प्रवक्ता सापकोटाले बताए । उनले भने, “सडक पुल बनेपछि सडक आवागमनमा सहज हुनुको साथै स्थानीय उत्पादनले बजार पाएका छन् ।” सरकारले ठेकेदारमार्फत काम गराउँदा सम्झौता अवधिमा सकिँदैन भन्ने आमधारणा रहेपनि यी योजनाले यसलाई गलत प्रमाणित गरिदिएको प्रवक्ता सापकोटाले बताए । सडक विभागले ठेकेदारमार्फत गरेका काम समयमा भए नभएको मन्त्रालयले समेत अनुगमन गरिरहेको उनले बताए । उनले भने, “हामीले पुल निर्माणमा भएका अवरोध हटाएर समयमा काम गर्न भनिरहेका थियौँ ।” पुलमा नयाँ प्रविधि भित्रिनु पनि उपलब्धिका रुपमा रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँकै धोबीखोला र वाग्मती खोलामा नयाँ प्रविधिका पुल निर्माण भइरहेका छन् । ‘नेटवर्क आर्क ब्रिज’ भनिने प्रविधि हेर्दा पनि राम्रो देखिने उनले बताए । उनले भने,“अरु देशमा पहिलेदेखि नै रहेको प्रविधि हाम्रो देशमा पनि शुरु हुनु उपलब्धि हो ।” सडक, पुल मात्रै नभएर झोलुङ्गे पुल निर्माण तीव्रगतिमा भइरहेको छ । गतवर्ष देशभरमा गरेर ४१७ झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’ले तुइन वा अन्य माध्यमबाट जोखिमपूर्णयात्रा गर्न विवश जनतालाई झोलुङ्गे पुलको निर्माणले सुरक्षित र भरपर्दो यात्रा गर्न तथा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुगेको छ ।
सडक विभागमा केशव शर्मा, हटाईए श्रेष्ठ
काठमाडौं । सडक विभागको महानिर्देशक केशब कुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई हटाएर शर्मालाई विभागको नेतृत्व सुम्पिएका हुन् । उनले आइतबारै नियुक्तिको पत्र बुझेका छन् । ‘आजै मात्र पत्र बुँझे, भोलीबाट कार्यालय सम्हाल्छु’, शर्माले भने । महानिर्देशक नियुक्त भएका शर्मा यस अघि सडक विभागकै वैदेशिक समन्वय महाशाखामा कार्यरत थिए । शर्माले आफ्नो नेतृत्वमा सडकहरुको तिब्र निर्माण र गुणस्तरियता अभिवृद्धि गर्ने प्रतिववद्धता व्यक्त गरे ।