नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र गतिमा

चितवन । नारायणगढ-मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो । चैत अन्तिम साता सडकलाई दुई भागमा विभाजन गरेर दुई कम्पनीलाई पहिरो रोक्न गर्नुपर्ने कार्यको जिम्मा दिइएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इ शिव खनालका अनुसार दाशढुङ्गादेखि चोर खोलासम्म न्यू टेक्निकल हाइहिमालयन जेभीलाई ६ करोड रुपैयाँमा ठेक्का दिइएको छ । चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालय हिमसगरमाथा जेभीलाई आठ करोड रुपैयाँमा पहिरो खस्नबाट रोक्न गर्नुपर्ने कार्य गर्ने गरी जिम्मा दिइएको छ । आयोजनाका अनुसार हालसम्म हाई हिमालयले ३१ प्रतिशत र हिम सगरमाथाले ४५ प्रतिशत काम सम्पन्न गरेका छन् । हिम सगरमाथाका कन्ट्र्याक्ट म्यानेजर जीवनप्रसाद तिवारीका अनुसार दुई खण्डको गरी काम गर्नुपर्ने ३२ ठाउँमा झर्न लागेका माटाका ढिस्का, ढुङ्गा, चट्टान झार्ने काम सम्पन्न भएको छ । हाल विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने रक नेटिङको कार्य भइरहेको छ । असार मसान्तसम्ममा काम सक्ने गरी तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका परामर्श दाता कम्पनीका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेले पहिरो रोक्ने काम तीव्र गतिमा भइरहेको बताएका छन् । उनले २१५ कामदारले दैनिक काम गरिरहेकाले प्रगति राम्रो भएको बताए । बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्नका लागि गर्नुपर्ने काम गरिएको हो । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । ती जोखिममा कमी ल्याउनका लागि दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक नेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम भइरहेको छ । रासस

दुई अर्बको लागतमा गोसाईंकुण्डमा केबलकार बन्दै, चीनले सरकारले लगानी गर्ने

रसुवा । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । केबलकार निर्माणका लागि दुई अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । रसुवाका-५ वटै गाउँपालिका र केही निजी क्षेत्रको समेत लगानीमा केबलकार निर्माण गर्ने तय भइसकेको र त्यसमा चिनियाँ लगानीकर्ताले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको स्थानीय अध्ययन तामाङले बताए । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन। चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरुप लिन सक्ने भएको छ । जिन्दगीमा एक पटक पुग्नै पर्ने तीर्थ गोसाईंकुण्डको यात्रा सहज बनाउन प्रदेश नं.३ का सरकारले गरेको निर्णयले अब धुञ्चे-गोसाईंकुण्ड केबलकार निर्माणमा सहज भएको नागरिक समाजले जनाएको छ । केबलकारको निर्माणले प्राकृतिक छटाको अवलोकन गर्दै गोसाईंकुण्ड सरर जान सहज हुनेछ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको, केबलकारको दुरी धुञ्चेबाट गोसार्इंकुण्ड आठ किलोमिटर रहेको, भगवानशंकर गोसाईंबाबाले निलाद्रिपर्वत जाँदा प्रयोग गर्नुभएको मार्गलाई नै अनुशरण गरिएको तथा गोसार्इंकुण्ड गाउँपालिकाकै वडा नं ५ र ६ अन्तर्गत धार्मिक मार्गमा पाँच वर्षभित्र केबलकार निर्माण गरीसक्ने लक्ष्य लिइएको छ । स्याफ्रु-मैलुङ सडक निर्माण भइसकेको र धुञ्चे जोड्ने करीब पाँच किमि सडकको निर्माण प्रक्रिया पनि अगाडि बढिसकेकाले अब बेत्रावतीबाट मोटरद्वारा एक घण्टामा धुञ्चे पुग्ने वातावरण सृजना भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ । भगवान शंकर हिँडेको मार्गलाई पहिल्याइ शास्त्रीय विधिअनुरुप धुञ्चे गोसाईंकुण्ड केबलकार निर्माण गर्ने प्रस्तावले सम्पूर्ण लामा गुरुहरुमा उत्साह बढाएको बताउँदै पुरोहित टंकप्रसाद ढकालले भने, “स्थानीय सरकारले लिएको नयाँ नीतिबाट अब लाखौँलाख भक्तजनलाई तीर्थ पुग्न सहज हुनेछ ।” गोसाईकुण्डमा स्नान एवं पूजा गर्नाले आफूले मागेका सबै वर भगवानले दिने, शरीरमा रोग लाग्न नदिने, लागेका रोग हट्ने, घर परिवारमा सुख शान्ति मिल्ने र कामका लागि गएका सबै परिवारको लक्ष्य पूरा भई धन धान्य हुने विश्वास रहिआएकाले जो कोही मानिसले पनि जिन्दगीमा एक पटक भए पनि यो कुण्डमा पुग्नैपर्ने मान्यता रहिआएको पुरोहित ढकालले बताए । धुञ्चे गोसार्इंकुण्ड केबलकारको अवधारणा २०६० सालबाट तत्कालीन समयमा राससले समाचार उत्पादन गरी गोरखा, पत्र र रेडियो नेपालले प्रकाशन प्रशारण गरेको र जनहितकारी कार्यमा यी संस्थाले पुु¥याएको योगदान अविस्मरणीय रहेको रसुवाका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले स्मरण गरेका छन् । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणले अब भक्तजन मात्रै होइन, पर्यटकसमेत बृद्धि हुने बताउँदै रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम (दुर्गानाथ) न्यौपानेले गोसार्इंकुण्डमा पर्यटकको अभिवृद्धि गर्न आफ्नो संस्था निरन्तर अगाडि बढ्ने बताएका छन् । प्रदेश नं. ३ का सरकारले स्याफ्रुवेँशी, लाङटाङ क्याङजेन पर्यटकीय क्षेत्रलाई डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग नामाकरण गरेकोमा लाङटाङवासीले त्यसको पनि स्वागत गरेका छन् । लाङटाङ पुनः निर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले अवका दिनमा लाङटाङ क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुनेमा लाङटाङवासी आशावादी रहेको बताएका छन् । डा योञ्जनका अनुसार, रसुवाको हिमाली क्षेत्रमा रेडपाण्डा भएको पुष्टी १९८७ मा नै भएको थियो । उनको अध्ययनबाट चन्दनबारी तथा लाङटाङ पदमार्गको ठूलो स्याफ्रुको माङ्चे जंगललगायत क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा पाएको पुष्टि गरेपछि संरक्षणका लागि सहभागितामूलक तवरले सबै क्षेत्र अगाडि बढीरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणको काममा लगानीकर्तालाई पूर्णरुपमा सहयोग र समर्थन मिल्ने तथा छिटोभन्दा छिटो निर्माणका लागि आफूले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए । रासस

भूकम्प प्रभावित आयोजनाको म्याद एक वर्ष थप्न माग

काठमाडौं । भूकम्प र नाकाबन्दीका कारण प्रभावित निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै थप गर्न निर्माण व्यवसायीले सडक विभागसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले आइतबार विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई भेटी निर्माण व्यवसायीका विद्यमान समस्या र समाधानका विषयमा जानकारी गराउँदै म्याद थपिए देशभर सञ्चालनमा रहेका अधिकांश निर्माण आयोजनाको काम समयमै सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरेका छन् । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले पछिल्लो समय निर्माण सामग्रीमा लगातार मूल्यवृद्धि र अभाव भइरहेकोतर्फ महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेको छ । सार्वजनिक खरिद ऐन संशोधन हुनुपर्नेमा जोड दिदैं प्रतिनिधिमण्डलले सरकारी निकायबाट आह्वान हुने जुनसुकै बोलपत्रमा अनिवार्य मूल्य समायोजनको व्यवस्था गर्न पनि माग गरेको छ । निर्माण आयोजनामा आई राजनीतिक दलका कार्यकर्तालगायत स्थानीयले चन्दा माग गर्ने गरेको र चन्दा नदिए ज्यानै मार्ने जस्तो गम्भीर धम्की दिने समस्याको समाधान गर्नुपर्नेमा प्रतिनिधिमण्डलले जोड दिएका छन् । निर्माण सामग्रीमा निरन्तर आगजनी गरी करोडौँको आर्थिक क्षति पुर्याउनेसम्मका क्रियाकलाप भइरहेकाले त्यसलाई रोक्न प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएको महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिएका छन् । विभागलगायत विभिन्न सार्वजनिक निकायअन्तर्गतका निर्माणसँग सम्बन्धित व्यवसायीले समयमै सम्पन्न गरे पनि बजेट शीर्षकबाट भुक्तानी पाउनुपर्ने झण्डै ४० अर्ब रुपैयाँभन्दा बढी रकम नपाएको उनले बताए । विनाबजेट आयोजनाको बोलपत्र आह्वान, कर्मचारीको अनावश्यक सरुवा, सरकारी निकायबीच देखिएको समन्वय अभाव, सडक विस्तारमा अदालतको मुद्दा, मुआब्जाको समस्याजस्ता कारणले पनि काममा समस्या देखिएको महासंघले जनाएको छ । जवाफमा महानिर्देशक श्रेष्ठले व्यवसायीका मागप्रति आफू सकारात्मक रहेको बताउँदै निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । रासस