केरूङ–काठमाडौं रेलमार्ग बनाएरै छाड्ने चिनियाँ पक्षको प्रतिवद्धता, अगष्टभित्र अध्ययन रिपोर्ट तयार गर्ने सहमति
काठमाडौं । केरूङ–काठमाण्डौ रेलमार्ग निर्माण कार्य निकै जटिल भए पनि बनाएरै छाड्ने प्रतिवद्धता चिनियाँ पक्षले व्यक्त गरेको छ । भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुदन अधिकारीको नेतृत्वमा चीन गएको नेपाली टोलीसँग चीनले यस्तो प्रतिवद्धता व्यक्त गरेको भ्रमण टोलीमा सहभागी मध्ये एक रेल विभागका सिनियिर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले बताएका छन् । भ्रमणका क्रममा रेल मार्गको बारेमा चिनियाँ पक्षले तत्काल अध्ययन थाल्ने र आगामी अगष्टभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने विषयमा दुई देशबीच सहमति भएको उनले विकासन्युजलार्इ बताए । केरूङ–काठमाण्डौ रेलमार्ग बनाउने विषयलाई दुबै देशले उच्च प्राथमिकता दिएको अधिकारीहरुले बताउँदै आएका छन् । यस विषयमा अध्ययन र छलफल गर्न दुई देशबीच राजनीतिक तथा प्राविधिक दुबै तहमा पटक पटक छलफल तथा अध्ययन भ्रमण भईराखेको छ । गत शनिबार मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा ७ सदस्यिय टोली चीन गएको हो । टोलीमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्राबिधिक तथा रेल विभागका कर्मचारी समेत सहभागी रहेका छन् । २०७४ भदौ अन्तिम साता तत्कालिन परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको चीन भ्रमणका क्रममा सो रेलमार्ग निर्माणबारे सहमति भएको थियो । कात्तिक अन्तिम साता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेर भौतिक पुर्वाधार मन्त्रालयसँग माइन्युटमा हस्ताक्षर गरेको थियो । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भर्खरै सम्पन्न गरेको चीन भ्रमणका क्रममा पनि सो रेलमार्ग निर्माणबारे छलफल भएको थियो । मन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन आग्रह गरेका थिए भने चीनले डिपिआरसम्म निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेको थियो । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ । यस अघि चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुरुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने उल्लेख छ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ । रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । कम्पनीले १८ अर्ब चिनियाँ मुद्रा खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको थियो । चाइना रेल वे इन्टरनेशनलको सो प्रस्ताव रेल विभागमा २०७३ पुस ११ गते २३६ नम्बरमा दर्ता गरिएको थियो । सो कम्पनीले ३० प्रतिशत नेपाल सरकारले लगानी गर्ने र ७० प्रतिशत चीन सरकारले सहुलियत ऋण उपलब्ध गराउने मौखिक प्रस्ताव गरेको थियो ।
सेनाद्धारा एक हजार ४८ किलोमिटर सडक निर्माण सम्पन्न, पाइलट ट्रयाक खोल्दै
काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर सडक निर्माण भएको छ । नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएका अधिकांश आयोजना दुर्गम एवं पहाडी जिल्ला रहेका छन् । नेपाली सेनाले सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँशीशहर–चामे, मुसीकोट–बुर्तिवाङ, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान– मुसीकोट, अबुवा–भच्चेक, गोरखा–आरुघाट सडक निर्माण गरेको हो । काठमाडौं–तराई मधेश दु्रतमार्ग, गोरखा–मनकामना, हिले–लेगुवा, कटारी ओखलढुंगा, त्रिशूली–सोमदाङ, सातदोबाटो–निवेलबालुवा, देवस्थल कैनाकाडा– चौरजहारी, वाग्मती क्षेत्र ढल निर्माण, चम्पापुर–बराहक्षेत्र वैकल्पिक मार्ग, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना प्रवेश मार्गको ट्रयाक पनि नेपाली सेनाले खोलेको थियो । सडक निर्माण तोकिएको समयमै गुणस्तरयुक्त ढंगबाट जिम्मेवारी पूरा गरेका कारण सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मेवारी थप गर्दै गएको छ । होलेरी–चुनावाङ, खाडीचौर–बाह्रबिसे, माइतीघर–भद्रकाली, रायचौर–फारुलाचौर, मुसीकोट–सल्ले सडक आयोजनाको ट्रयाक खोल्ने कार्य पनि नेपाली सेनाबाट भएको थियो । अहिले नेपाली सेनाले मुलुकका पाँच सडक आयोजनाको पाइलट ट्रयाक खोल्ने काम गरिरहेको छ । नेपाली सेनाबाट निर्माणाधीन सडकको लम्बाइ ४७३ किलोमिटर रहेको नेपाली सेनाको विकास निर्माण निर्देशनालयले जनाएको छ । निर्माणाधीन आयोजनामा जाजरकोट–दुनै, कालीगण्डकी करिडोर, त्रिशूली–स्याफ्रुबेँशी, कर्णाली करिडोर र गोरखा–अरुघाट—लार्के सडक रहेका छन् । डोल्पाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न जाजरकोट–दुनै सडक निर्माण यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ तीव्रस्तरमा ट्रयाक खोल्ने काम भइरहेको नेपाली सेनाका निर्माण कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए। रासस
कास्कीको तिखेढुंगादेखि म्याग्दीको भुरूङ तातोपानी जोड्ने सुरूङ मार्ग निर्माण हुने
बेनी । कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा-भुरूङ तातोपानी सुरुङ मार्गको चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययत पूरा गर्ने गरी बजेटमा प्राथमिकता दिइएको छ । प्रदेश नं ४ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले बुधबार प्रस्तुत गरेका आव २०७४/७५ को बजेटमा दुई जिल्लालाई छोटो दूरीमा जोड्ने सुरूङ मार्गको सम्भाव्यता अध्ययन सकिएपछि प्राथमिक योजनामा राख्ने पहल भइरहेको जानकारी दिएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका-९ तिखेढुंगाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी जोड्ने सुरूङमार्गले चीनको तिब्बतबाट सिधा भारतको सुस्तासम्म जोड्ने बेनी-जोमसोम-कोरला नाकाको मात्र विकल्प नभई तिब्बतबाट नेपाल र भारतका लागि लोड गरिएका कन्टेनरका लागिमात्रै प्रयोग गरिने गरी प्रस्ताव भएको कास्की अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए । “यो सडक सञ्जालको विकल्प होइन्, दुई छिमेकी देश जोड्ने गौरवको आयोजना हुनेछ”, कुँवरले भने । उनले तिब्बतको कोरला नाका खुलेपछि चीन जोड्ने अन्य नाकाभन्दा पनि कोरला नाकालाई प्रभाबकारी बनाउनसमेत सुरुङमार्ग महत्वपूर्ण हुने बताए। सुरुङ मार्गबाट यात्रुको आवतजावतमा कम प्राथमिकता दिनुपर्नेमा जोड दिंदै उनले कन्टेनरलाई छोटो दूरीको मार्ग प्रयोग गर्दा अन्तर्राष्ट्रिय व्यापारी र लगानीकर्तासमेत आकर्षित हुने बताउँदै कास्की, पर्वत, बागलुङ र म्याग्दीलाई सुरुङ मार्गको विस्तारबाट लगानी भित्र्याउनसमेत सहज हुने बताएका छन् । हाल करिब ६७ किलोमिटर दूरी रहेको तिखेढुंगा-तातोपानीको दूरीलाई सुरुङ मार्गले सात किलोमिटरमा समेट्ने छ । रासस