चुरेको मदन भण्डारी लोकमार्गलाई ४ अर्ब ५० करोड

काठमाडौं । सरकारले चुरे क्षेत्रमा निर्माण हुने मदन भण्डारी लोकमार्गका लागि ४ अर्ब ५० करोड रुपैंयाँ विनियोजन गरेको छ । १२०० किलोमिटर लामो मदन भण्डारी राजमार्गले इलामको मेचीनगरदेखि डढेलधुरासम्मको चुरे क्षेत्रलाई समेट्ने छ । धरान–चतरा–गाइघाट–सिन्धुली–हेटौँडा सडकलाई नै विस्तार गरेर मेची देखि महाकाली पुर्याउन लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।

एक हप्तासम्मको मौसमको जानकारी पाइने, उदयपुर र पाल्पामा राडार

काठमाडौं । सरकारले पाल्पा र उदयपुरमा मौसमको जानकारी लिन आधुनिक राडार जडान गर्ने भएको छ । सरकारले एक हप्तासम्मको मौसम र जलवायु परिवर्तनको पुर्वानुमान गर्ने क्षमताका राडार जडान गर्ने बजेट भाषणमा उल्लेख गरेको हो । यसले कृषि तथा पर्यटकका लागि ठुलो राहत उपलब्ध गराउने अर्थमन्त्री डा. खतिवडाले बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।

हेटौंडाबाट-काठमाडौं सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताएका छन् । मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्धारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ बताए । उनले प्रदेशका १३ जिल्लामा राष्ट्र गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौंडाबाट काठमाडौं जोड्ने सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास दिलाएका छन् । दिवसका उपलक्ष्यमा हेटौंडास्थित बुद्धचोकबाट मंगलबार बिहान निस्केको पदयात्रा कान्ति राजपथ हुँदै जिल्ला समन्वय परिषद्को प्राङ्गणमा पुगेपछि विसर्जन गरिएको थियो । रासस