रेन वाटर हार्भेस्टिङ एण्ड ग्राउन्ड वाटर रिचार्ज योजना हस्तान्तरण
काठमाडौं । सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटरएड नेपाल र कोकाकोला फाउन्डेशनले बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) परियोजना रानीवारी सामुदायीक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । उक्त योजनाको हस्तान्तरण अर्वन डेभलपमेन्टका निर्देशक पुष्करलाल श्रेष्ठ, वाटरएडका कार्यक्रम निर्देशक कबिन्द्र पुडासैनी र कोकाकोला फाउन्डेशनले हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रम विश्व पानी दिवसको अबसर पारेर सोमबार रानीवारीमा आयोजना गरिएको जनाइएको छ । कोकाकोला कम्पनिले पानीको संरक्षण, पानीको बिषयमा सकारात्मक छलफल, पानीको सहि रिचार्ज र पानीका मुहानहरुको एकिकृत ब्यबस्थापन जस्ता बिषयमा काम गर्दै आइरहेको जनाइएको छ । कम्पनीले यस प्रयासले वातावरण परिर्वतन र पानीका स्रोतहरु बचाउन सकारात्मक भूमिका खेल्न सहयोग पुग्ने बताइएको छ । रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रणाली एउटा उत्तम प्रणाली रहेको बताइएको छ । जसले मानिसलाई पानीको प्रयोग, बर्षातको पानी संकलन र पानीको बैकल्पीक स्रोतको ब्यवस्थापनको बिषयमा जानकारी गराइएको थियो । जसले उपभोक्तको पानीको बिल कम गर्न, घर वरिपरीको वातावरण संन्तुलन कायम गर्न लगायतमा सहयोग पुग्ने कम्पनीको भनाइ छ । रानीवारी परिसरमा अहिले पनि जंगल संरक्षित एरियामा पर्ने भएकाले त्यहाँका वासिन्दा बढि लाभान्वित भएको बताइएको छ । यसअघिका बिभिन्न ठाउँहरुमा भएका योजनाबाट सिक्दै नेपाल सरकार र वाटरएड नेपालसँगको सहकार्यमा कोकाकोला फाउन्डेसनले नयाँ योजनामा ‘रेन वाटर हार्भेस्टिङ फर ग्राउन्ड वाटर रिचार्ज’ कार्यक्रम रानीवारी जंगल क्षेत्रमा थप गरेको हो । यस परियोजनाको मुख्य उद्देश्य जमिन मुनीको पानीको स्तर कम हुँदै गएकाले पानीको सुनिश्चितता कायम गर्नु बताइएको छ ।
पिपल्स हाइड्रोले चीनबाट नौ अर्ब भित्र्याउँदै, दुई आयोजनामा लगानी गर्ने
काठमाडौं । पिपल्स हाइड्रो लिमिटेडले चीनबाट नौ अर्ब रुपैयाँ जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ । कम्पनीद्धारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करीव नौ अर्ब रकम खिम्ती दुई जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो । कूल ४८.८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत १० अर्ब रुपैयाँ रहेको छ । चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स हाइड्रोले स्वपूँजीमार्फत लगानी गर्नेछ । चिनियाँ कम्पनीले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्नेछ । उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७०० दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । दोलखा र रामेछापको जिरीखिम्ती भन्ने स्थानमा बाँध बाँधेर कूल ६.६ किलोमिटर लामो सुरुङमार्फत खिम्ती आयोजनाको बाँधस्थल नजिक निर्माण हुने विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको देवीटार सवस्टेशनमा जोडिनेछ । आयोजनाको हाल पहुँच मार्ग, आवासस्थल निर्माण तथा निर्माणका लागि आवश्यकपर्ने विद्युत् जोड्ने प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजना प्रमुख रामहरि शर्माले जानकारी दिए । नेपालका जलविद्युत् आयोजनामा इपिसिएफ ढाँचामा निर्माण गर्न लागिएको यो पहिलो परियोजना हो । यसअघि बूढीगण्डकी जलविद्युत् आयोजनासमेत यही ढाँचामा निर्माण गर्न खोजिएको थियो । विवाद उत्पन्न भएपछि बूढीगण्डकी सरकार आफैँले निर्माण गर्ने निर्णय गरिसकेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी वैशाखदेखि आयोजनाको निर्माण शुरु हुनेछ । चिनियाँ कम्पनीले निर्माण शुरु गरेको तीन वर्ष्भित्र आयोजना सम्पन्न गर्नेछ । शुरुमा सहकारीको ढाँचामा आयोजना निर्माण गर्न खोजिए पनि सहकारीलाई कम्पनी रजिस्ट्रार कार्यालयमासमेत दर्ता नहुने र धितोपत्रको कारोबारसमेत नहुने भएपछि कम्पनी बनाइएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष आचार्यले बताए । नेपालको जलविद्युत् आयोजना निर्माणमा नयाँ खालको ढोका खुलेको जानकारी दिँदै उनले अरु आयोजनासमेत आगामी दिनमा यही ढाँचामा अगाडि बढ्ने विश्वास व्यक्त गरे । आयोजनाको वित्तीय व्यवस्थापन यसअघि नै भएको थियो । सानिमा बैंकको नेतृत्वमा अन्य नौवटा बैंकले आयोजनामा लगानी गर्ने सहमति गरेका थिए । तर बैंकमा देखिएको तरलता अभावका कारण तत्काल रकम उपलब्ध गराउन नसक्ने भएकाले वैकल्पिक उपाय अपनाइएको कम्पनीले जानकारी दिएको छ । आयोजना सम्पन्न भएपछि मात्रै बैंकसँग ऋण लिइने र चिनियाँ कम्पनीलाई भुक्तानी दिइने कार्यकारी अध्यक्ष आचार्यको भनाइ छ । आयोजनाबाट हिउँदमा ४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ भने वर्षाकालमा २२३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाकालमा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ । सो कम्पनीले यसअघि रुदी ए ८.८ मेगावाट र रुदी बी ६.६ मेगावाट क्षमताका दुई आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।
नारायणगढ-मुग्लिन सडक खण्ड आगामी जेठभित्र सम्पन्न हुन्छ: मन्त्री महासेठ
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ-मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताएका छन् । सो सडकको आइतबार अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताए । उनले भने, “हिजो के भयो त्यतातिर जान चाहदिन, ढुक्क हुनुहोस् अब समयमै सम्पन्न हुन्छ ।” समयमा सम्पन्न नभए कारबाही गर्ने भन्दै उनले भने, “जेठ १६ गतेभित्र सडकको काम सम्पन्न भएन भने सरकारले नियमानुसार कारबाही गर्छ ।” निर्माण कम्पनीले प्रतिबद्धता जनाएको र आफूले सोहीअनुसार निर्देशन दिइसकेको भन्दै उनले वर्षाद्मा बाटो नरोकिने बताए । सरकार सडकका बारेमा गम्भीर बनेको भन्दै उनले अब निर्माण कम्पनीको चलखेल नचल्ने बताए । यो सडक केन्द्रीय सरकारको मातहतमा रहेको भन्दै उनले सडक सुरक्षाका विषयमा सरकार सचेत रहेको छ भने । सडक निर्माणका क्रममा सुरक्षालाई ध्यानमा राखेर काम गरिएको भन्दै उनले यस सडकका पर्ने पुल निर्माणको कामलाई तीव्रता दिइने बताएका छन् । उनले भने, “मैले पहिलो हस्ताक्षर नै यही सडकको १४ वटा पुल बनाउन गरेको छु ।” सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का भई निर्माण भइरहेका छन् भने १४ वटा ठेक्का हुन बाँकी छ । उनले सन् २०१९ को अगस्तसम्ममा सबै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् । उनले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुरी सक्न निर्देशन दिएको बताएका छन् । उनले भने, “वैशाख १५ पछि सडक विभागले हेर्ने सडकमा खाल्डाखुल्डी देख्न पाउनु हुने छैन । कहीँ देखियो भने सोझै मलाई फोन गर्न सक्नुहुन्छ ।” उनले काठमाडौं उपत्यकाभित्र भने १५ दिनभित्र खाल्डाखुल्डी नपुरे कारबाही गर्ने बताएका छन् । फरक प्रसंगमा उनले पाँच वर्षभित्र चीनबाट काठमाडौँ हुँदै पोखरा–लुम्बिनी जोड्न रेल आउने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र रेल आउँछ भन्ने कुरा सत्य भएको भन्दै उनले दुई वर्षभित्रमा नेपालमा जहाँ भए पनि रेल गुड्ने बताएका छन् । सन् २०१५ को अप्रिलबाट दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको नारायणगढ–मुग्लिन सडक पटकपटक गरी चार पटक मिति थपिएको छ । पछिल्लो थपिएको मिति अनुसार २०१८ को मे ३० भित्र सम्पन्न गर्नुपर्ने हुन्छ । हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ । रासस