नारायणगढ-मुग्लिन सडक खण्ड आगामी जेठभित्र सम्पन्न हुन्छ: मन्त्री महासेठ
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ-मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताएका छन् । सो सडकको आइतबार अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताए । उनले भने, “हिजो के भयो त्यतातिर जान चाहदिन, ढुक्क हुनुहोस् अब समयमै सम्पन्न हुन्छ ।” समयमा सम्पन्न नभए कारबाही गर्ने भन्दै उनले भने, “जेठ १६ गतेभित्र सडकको काम सम्पन्न भएन भने सरकारले नियमानुसार कारबाही गर्छ ।” निर्माण कम्पनीले प्रतिबद्धता जनाएको र आफूले सोहीअनुसार निर्देशन दिइसकेको भन्दै उनले वर्षाद्मा बाटो नरोकिने बताए । सरकार सडकका बारेमा गम्भीर बनेको भन्दै उनले अब निर्माण कम्पनीको चलखेल नचल्ने बताए । यो सडक केन्द्रीय सरकारको मातहतमा रहेको भन्दै उनले सडक सुरक्षाका विषयमा सरकार सचेत रहेको छ भने । सडक निर्माणका क्रममा सुरक्षालाई ध्यानमा राखेर काम गरिएको भन्दै उनले यस सडकका पर्ने पुल निर्माणको कामलाई तीव्रता दिइने बताएका छन् । उनले भने, “मैले पहिलो हस्ताक्षर नै यही सडकको १४ वटा पुल बनाउन गरेको छु ।” सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का भई निर्माण भइरहेका छन् भने १४ वटा ठेक्का हुन बाँकी छ । उनले सन् २०१९ को अगस्तसम्ममा सबै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् । उनले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुरी सक्न निर्देशन दिएको बताएका छन् । उनले भने, “वैशाख १५ पछि सडक विभागले हेर्ने सडकमा खाल्डाखुल्डी देख्न पाउनु हुने छैन । कहीँ देखियो भने सोझै मलाई फोन गर्न सक्नुहुन्छ ।” उनले काठमाडौं उपत्यकाभित्र भने १५ दिनभित्र खाल्डाखुल्डी नपुरे कारबाही गर्ने बताएका छन् । फरक प्रसंगमा उनले पाँच वर्षभित्र चीनबाट काठमाडौँ हुँदै पोखरा–लुम्बिनी जोड्न रेल आउने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र रेल आउँछ भन्ने कुरा सत्य भएको भन्दै उनले दुई वर्षभित्रमा नेपालमा जहाँ भए पनि रेल गुड्ने बताएका छन् । सन् २०१५ को अप्रिलबाट दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको नारायणगढ–मुग्लिन सडक पटकपटक गरी चार पटक मिति थपिएको छ । पछिल्लो थपिएको मिति अनुसार २०१८ को मे ३० भित्र सम्पन्न गर्नुपर्ने हुन्छ । हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ । रासस
रेडक्रसद्धारा काभ्रेमा ३ स्वास्थ्य चौकी भवन हस्तान्तरण, थप ९ वटा सम्पन्न हुँदै
काठमाडौं । भूकम्पले स्वास्थ्य चौकी भवन भत्केपछि काभ्रे जिल्लामा विभिन्न संस्थाहरुको सहयोगमा निर्माणकार्यले गति लिन थालेको छ । काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल, पनौती र बनेपा नगरपालिकाहरुमा रेडक्रसमार्फत नवनिर्मित कर्मचारी आवास गृह सहित ३ वटा स्वास्थ्य चौकी प्रिफ्याब भवन र स्वास्थ्य उपकरणहरु स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको रोहबरमा स्थानीय नगरपालिकालाई हस्तान्तरण गरिएको छ । शुक्रबार नेरेसोका अध्यक्ष संजीव थापाले धुलिखेल नगरपालिका वडा नं १ को रबीओपी स्वास्थ्य चौकी, पनौती नगरपालिका वडा नं १ को रयाले स्वास्थ्य चौकी र बनेपा नगरपालिका १२ को महेन्द्रज्योति स्वास्थ्य चौकी भवनको प्राँगणमा छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । हस्तान्तरण गरिएको स्वास्थ्य चौकीहरुको निर्माण तथा उपकरणको लागत करिव २ करोड ३५ लाख रहेको नेरेसो भुकम्प प्रतिकार्य प्रमुख उमेश ढकालले जानकारी दिए । महेन्द्रज्योती भवन निर्माणको लागि एक रोपनी वढी जग्गा दाता जगन्नाथ केसी र पदम केसीलाई सम्मान गरिएको थियो । धुलिखेलको रबीओपी स्वास्थ्य चौकी भवन उपमेयर बिमला शर्मालाई, रयाले स्वास्थ्य चौकी भवन पनौती नगरप्रमुख भीम न्यौपाने र महेन्द्र ज्योति स्वास्थ्य चौकी भवन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नर्सिङ बादेलाई भवनको चावी र हस्तान्तरण प्रमाणपत्र प्रदान गरिएको हो । ३७ वटा भवन निर्माणधीन रहेकोमा १६ वटा निर्माणसम्पन्न भैसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले जानकारी दिए । नेपालका विपद् र संकटको अवस्थामा नेरेसो सदैव अग्र पंक्तिमा रही मानवीय सेवा गर्दै आएको बताउँदै नेरेसो अध्यक्ष थापाले भने कोरियन रेडक्रसको आर्थिक सहयोगबाट यी भवनहरु बनेका हुन र अरु ९ वटा भवनहरु पनि काभ्रेमा छिटै सम्पन्न हुनेछन् । स्वास्थ्य चौकी भत्केपछि प्रावि स्कूलको एउटा कोठाबाट सेवा दिन गाह्रो भैरहेको र कतिपय महिलाहरुलाई परिवार नियोजन तथा हिँसाबारे गोप्य काउन्सिलिङ गर्न चौरको कुनामा जानुपर्ने अहिलेको अवस्थामा नयाँ भवनबाट काम गर्न सहजहुने रविओपीका अनमी सम्झना आचार्यले विश्वास व्यक्त गरेका छन् । तीनवटै कार्यक्रमहरुमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारी, काभ्रे जिल्लाका जनस्वास्थ्य प्रमुख डाक्टर सुरेन्द्र चौरसिया, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम, कोरियन रेडक्रसका प्रतिनिधि सनही किम, काभ्रे रेडक्रसका सभापति रघुबर चौ प्रधान, मन्त्री उद्धव पौडेल, भूकम्प प्रतिकार्य अपरेशन प्रमुख उमेश ढकाललगायत नेपाल रेडक्रसका केन्द्र तथा जिल्लाका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । महेन्द्रज्योति स्वास्थ्य चौकी समुद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाइको पनि उपस्थित रहेको थियो । धुलिखेल नपा उपप्रमुखले प्रत्येक जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन ६० प्रतिशत बजेट खर्च गरिसकिएको जानकारी गराए । अब स्वास्थ्य चौकी स्थानीय निकायको मातहतमा रहेकोले उच्चस्तरको सेवाको लागि नगरपालिकाले सेवा अनुगमनमा कडाइ गरिने पनौती नगरप्रमुख भीम न्यौपाने र बनेपा नगरपालिका प्रमुख लक्ष्मी नर्सिङ बादेले प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘हाम्रो शहर तिर्खामुक्त नगर’ रिङ रोडसहित यस्ता छन् निलकण्ठ नगर विकासका कामहरु
काठमाडौं । देशकै उत्कृष्ट नगर बनाउने भन्दै चुनावमा गएका निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले नगरविकासका काम धमाधम अघि बढेको बताएका छन् । उनले नगरमा रिङ रोड, बस पार्क, सडक, सपिङ कम्पेक्स, भ्यू टावर र खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । नगरका १४ वटा वडालाई जोड्नका लागि रिङ रोड र पर्यटन विकासलाई जोड दिन भ्यू टावर निर्माणलाई अघि बढाएका छन् । भिम प्रसाद ढुङ्गाना, नगर प्रमुख यस्ता छन् नगर विकासका लागि शुरु भएका कामहरुः रिङ रोड निलकण्ठ नगरपालिका १४ वटा वडालाई जोड्ने रिङ रोड निर्माण प्रक्रिया अघि बढेको छ । नगपालिकाका इन्जिनियर कुमार ढकालका अनुसार रिङ रोडको डिपीआरको तयारी अघि बढेको छ । रिङ रोड ससाह रामकोट, ज्यामिरे, गोला भञ्याङ, साङकोष, धुवाकोट, खाल्टे, सुनौला बजार, तारुखर्क, तल्लोबेशी हुदै ससाहमा जोडिनेछ । ढकालका अनुसार रिङ रोडको लागि सहरी विकास कार्यलयको सहयोगमा ज्यामिरेबाट अध्यायन सुरु भएको छ । बस पार्क र सपिङ कम्पेक्स नगरपालिकामा बस पार्क निर्माणका लागि वडा नं १२ जंगलेमा जग्गा लिने तयारी गरेको छ । त्यसैगरी वडा नं २ अहिले संञ्चालनमा मा रहेको बस पार्कमा सपिङ कप्पेक्स निर्माण हुनेछ । बाँकी रहेको जग्गामा ग्रामिण क्षेत्रमा जाने बस पाकिङको व्यवस्था मिलाइने इन्जिनियर ढकालले जानकारी दिए । भ्यू टावर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न ३६ फिट अग्लो भ्यु टावर निर्माण प्रक्रिया सुरु भएको छ । टावर वडा नं २ मा बन्नेछ । भ्यू टावर निमार्णका लागि नगरले डिजी कन्ट्रक्सनलाई जिम्मा दिएको छ । सामान्य जग्गा विवाद पछि काम सुरु भैसकेको इन्जिनियर ढकालले जानकारी दिए । भ्यू टावरबाट धादिङ सहित गोरखा र नुवाकोटको अधिकांश दृष्य देख्न सकिन्छ । हाम्रो शहर तिर्खा मुक्त नगर दक्षिण कोरियाली सहयोगी संस्था सर्भिस फर पिसको सहयोगमा नगरको विभिन्न ठाउमा खानेपानी आयोजना सञचान गरिएको छ । यस आयोजनाबाट पतेनी, कुसुण्डे र नवलपुर लाभान्वित हुनेछन् । वडा नं ५ पतेनीमा भने आयोजना सम्पन्न भैसकेको खानेपानी योजना प्रमुख उपेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पतेनीमा लिफ्टीङबाट पानी निकाली ४० घनमिटरको ट्याङकीबाट ६० घरधुरीलाई प्रत्येक घरमा धारासहित खानेपानीको वितरण गरिएको छ । त्यसैगरी कुसुन्डेमा ६० घनलिटरको ट्याङकीबाट १०८ घर धुरी र नवलपुरमा ८० घनलिटरको ट्याङकीबाट २ सय २० घरधुरीलाई सुविधा दिनेगरी योजना प्रक्रिया अघि बढेको छ । आगामी ४ वर्षमा पुर्ण रुपमा नगरलाई तिर्खा मुक्त बनाउने मेयर ढुङगानाले बताएका छन् । यसैगरी नगरका १४ वटै वडामा इन्टरनेट सेवाको सुरुवात भैसकेको छ । नगरबासीलाई नगर सम्बन्धी जानकारी दिन निलकण्ठ एप्सको सुरुवात भएको छ । अहिले नगरपालिकाको सडक स्तर उनन्ती लागि काम भैरहेको छ । नगरको धादिङबेशी देखि खाल्टेसम्म सडक खण्डको स्तर विकास गर्नका लागि ५० लाखको टेन्डर प्रक्रिया अघि बढेको छ । त्यस्तै वडा नम्बर ४ र ३ लाई जोड्ने बाङगे ढुङगामा पक्की पुलको निर्माण भैसकेको छ भने २ पुल निर्माण गर्ने योजना अघि बढेको छ । यसैगरी नयाँ सहायक सडकहरुमा भने ग्राभेल तथा सडक पिच गर्ने काम भैरहेका छन् । नगरमा १४ हजार घरधुरीका ७० हजार मानिसहरू बसाेबास गर्दै अाएका छन् ।