मुआब्जा विवाद मिलेपछि ठेउलेखोला सञ्चालनमा, जग्गाधनीलार्इ ६० लाख दिने
बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको मुआब्जा विवाद सुल्झेको छ । आयोजना व्यवस्थापन र प्रभावित क्षेत्रका जग्गाधनीबीच सहमति जुटेपछि आयोजनाको काम सञ्चालन भएको हो । जग्गाधनी खगेश्वर शर्माले मुआब्जा माग गर्दै अवरोध सिर्जना गरेपछि आयोजनाको काम प्रभावित भएको थियो । आयोजना व्यवस्थापनले शर्माले माग गरेअनुसारको मुआब्जा दिन नसकिने बताउँदै आएको थियो । शर्माले रु एक करोड पाँच लाख मुआब्जा माग गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जैमिनी नगरपालिकाको रोहबरमा दुबै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार शर्माले ६० लाख रुपैयाँ मुआब्जा पाउने भएका छन्। यस्तै आयोजना बनाउदा क्षति पुगेका संरचना निर्माणको काम पनि आयोजना व्यवस्थापनले गर्ने सहमतिमा उल्लेख छ । शर्माको चार रोपनी जग्गा आयोजनाबाट प्रभावित भएकामा दुई रोपनी ११ आना जग्गामा पाइपलाइन विछ्याइएको छ । मुआब्जा विवाद चर्कदैँ गएपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधानका लागि स्वतन्त्र समितिसमेत बनाएको थियो । सोही समितिले तयार गरेको क्षतिपूर्ति मूल्यांकन प्रतिवदेनका आधारमा मुआब्जा दिने निर्णय भएको हो । लामो प्रयासपछि विवाद मिलेको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष एवं इञ्जिनियर सूर्यप्रसाद अधिकारीले बताए । सहमति लगत्तै आयोजनाको बाँकी काम शुरु भएको उनको भनाइ छ । “विवादित जग्गामा पाइपलाइन जोड्न बाँकी थियो ” अध्यक्ष अधिकारीले भन्नुभयो –“एक/दुई दिनमै काम सकेर परीक्षण उत्पादन शुरु गर्छौं । यही चैत १५ गतेदेखि आयोजनाबाट व्यावासियक विद्युत् उत्पादन शुरु हुने छ ।” जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै नियमित विद्युत् उत्पादन शुरु गर्ने तयारी प्रभावित भएको थियो । यसअघि निर्माण कम्पनीले आयोजनास्थलको ३२ रोपनी जग्गाको मुआब्जा ९२ लाख रुपैयाँ वितरण गरिसकेको छ । ३३ करोडको लागतमा बनेको साढे एक मेगावाटको आयोजनाले जिल्लाभरको एक तिहाई विद्युत् मागलाई धान्ने जनाइएको छ । नगरपालिका-१ कुश्मीसेरा र ४ सर्कुवास्थित ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको ‘पेनस्टक’ पाइपमार्फत् वार्ड नं ५ बिनामारेस्थित विद्युत्गृहमा पुर्याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत सेयर छ । रासस
नुवाकोट राजधानी बनाउने ऐतिहासिक, भौगोलिक, रणनीतिक आधार
काठमाडौं । नुवाकोटलाई प्रादेशिक राजधानी बनाउन नुवाकोटका प्रदेश सदस्य, जिल्ला समन्वय समिति, राजनीतिक दल र पर्यटन व्यवसायी र नागरिक समाजले ऐतिहासिक, भौगोलिक, रणनीतिक र पूर्वाधारका आधार प्रस्तुत गरेका छन् । जिसस नुवाकोट र नुवाकोट सरोकार समाजले ‘नुवाकोटको विगत, वर्तमान र भविष्य’शीर्षकमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिहरुले काठमाडौंदेखि नुवाकोट पुग्न हाल तीन वटा डबल लेनका मार्ग कायम रहेको र मध्यपहाडी मार्ग नुवाकोट भएर जाने तथा भविष्यमा सुरुङ मार्ग पनि बन्ने भएकाले छिटो नुवाकोट पुग्न सक्ने देखिएको बताएका छन्। औद्योगिकीकरणका लागि जमीन, विद्युत् र पानी पर्याप्त रहेको नुवाकोट चीन र भारतको पारवहन विन्दु भई रणनीतिक महत्वको स्थान पनि भएको बारे छलफल गरेका छन्। ३नं प्रदेश सभाका सभामुख माननीय सानुकुमार श्रेष्ठ प्रमुख अतिथि र उप सभामुख राधिका तामाङ बिशिस्ट अतिथि रहेको उक्त कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङको सभापतित्वमा संचालित कार्यक्रममा विदुर नगर पालिकाका मेयर सन्जु पंडित, प्रदेशसभा सदस्य, केशव पाण्डे, बद्री मैनाली र हीरानाथ खतिवडा (नुवाकोट)ले प्रदेशका बाँकी १२ जिल्लाबाट नुवाकोट सजिलैसँग पुग्न सकिने र यहाँ प्रशस्त भवन, भवन बनाउन मिल्ने खाली जग्गा तथा समथर फाँट भएको बताए । प्रदेशसभा सदस्य(काठमाडौं) नरोत्तम वैद्यले आफूहरु हेटौँडाको पक्षमा नरहेको र पार्टीले पनि आफूहरुलाई स्वविवेक प्रयोग गर्न दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका नेता रमेश महतले राजधानीको फोहर राख्ने डम्पिङ साइट हाल नुवाकोटको ओखरपौवामा रहेको तथा खाद्यान्न र तरकारी पनि काठमाडौं निर्यात भइरहेको बताउँदै उद्योगका लागि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट प्रशस्त विद्युत उत्पादन भइरहेको जानकारी दिएका छन् । पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटकीय जिल्ला नुवाकोट भारत चीन व्यापारमार्ग पनि भएको बताउनुभयो । सरोकार समाजका अध्यक्ष रामलाल श्रेष्ठले पृथ्वीनारायण शाह र गीर्वाणयुद्धविक्रम शाहका पालामा दुई पटक राजधानी बनिसकेको नुवाकोट अन्य जिल्लाका तुलनामा नुवाकोट कम विकसित भएकाले भविष्यमा विकास गर्नका लागि पनि यसलाई राजधानी बनाउनुपर्ने तर्क दिएका छन् । सो अवसरमा नुवाकोटलाई राजधानी बनाउन सकिने आधारहरु झल्काइएको जिसस नुवाकोटबाट निर्मित वृत्तचित्र प्रस्तुत गरिएको थियो । नुवाकोटका समग्र विकास र समृद्ध नुवाकोटको निम्ति यस्तो कार्यक्रमहरु आगामी दिनमा नियमित गरिने र यस्को निम्ति सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको साथै सबै नुवाकोटका बासिन्दाहरु एकजुट हुनु पर्ने बारे सरोकार समाजका सचिव अनुजकुमार श्रेष्ठले बताए ।
रसुवाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडियो, स्काभेटर र डोजर खरिदमा सांसदकाे व्यक्तिगत लगानी
काठमाडौं । रसुवा जिल्लाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको छ। रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यको व्यक्तिगत प्रयासमा रसुवाको गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको हो। रसुवा जिल्लाका सबै स्थानलाई सडक सञ्जालमा जोड्ने अभियान स्वरुप सांसद आचार्यले आफ्नो व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि गत माघ २७ गते जिल्लालाई उपलब्ध गराएका थिए। गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडकको लम्वाई ३ किलोमिटर रहेको छ। रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान अन्तर्गत हाल सम्म ७ किलो मिटर ग्रामिण सडक निर्माण भैसकेको छ। यस अघि कालीका गाँउपालिकाको लामाटोल देखि चित्रेपानी जोड्ने ४ किलोमिटर सडक निर्माण गरिएको थियो। बाटो निर्माणका लागी स्काभेटर र डोजर संञ्चालन गर्न आवश्यक ईन्धनको व्यवस्था उपभोक्ता समितिले गराएको थियो। अब सो मेसिनले पार्वतीकुण्ड गाँउपालिकाको हाकुलाई सडक सञ्जालसँग जोड्न बाटो खन्ने काम शूरु गर्ने सांसद आचार्यले बताएका छन्।