मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ठेकेदार फेरी सुस्तायो
चौतारा । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामाग्रीको अभाव रहेको भन्दै काममा ढिलाई गरेको हो । ठेकेदारले कुनै दिन कामै नगर्ने र कुनै दिन एक मिटर मात्र सुरुङ खन्ने गरेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले बताए । आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २७.२७ किमी सुरुङ सम्पन्न भइसकेको छ । सो खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते सम्पन्न भएको थियो । ठेकेदार कम्पनीले इन्धन, सिमेन्टलगायतका निर्माण सामग्रीको अभाव तथा रकमको अभाव भएकोजस्ता समस्या देखाएर काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ । सन् २००९ मा चिनियाँ कम्पनी १५ रेलबे ब्यूरोसँग भएको सम्झौता अनुसार सन्तोषजनक काम नभएको भन्दै चार वर्षपछि ठेक्का रद्द गरिएको थियो । त्यसपछि सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग रु सात अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको र पटकपटक म्याद थप गरी अन्तिम अवधि आगामी मार्चसम्म कायम रहेको छ ।-रासस
त्रिशुली नदीमाथी ठूला गाडी गुड्ने ५ नयाँ पुल बन्दै, सबैभन्दा बढी धादिङ्गमा
काठमाडौं । सडक विभाग अन्तर्गत पुल महाशाखाले त्रिशुली नदीमाथी ५ वटा नयाँ पुल निर्माण गर्ने भएको छ । महाशाखाले धादिङ्गमा ३, नुवाकोटमा १ र गोरखामा १ गरी ५ वटा नयाँ पुल निर्माण गर्न लागेको हो । शुक्रबार पुल महाशाखाले वातावरणीय परिक्षणका लागि सूचना जारी गरेको छ । निर्माण हुने पुलहरु ठूला गाडी गुड्ने पुलहरु हुन् । ती पुलहरु नुवाकोटको तुप्चे, गोरखाको फिस्लिङ्ग, धादिङ्ग जिल्लाको घाटबेशी, मास्टार र जुरे बगैचा/आदमघाटमा बन्नेछ । जसमध्ये नुवाकोट, धादिङ्ग, गोरखामा बन्ने ४ वटा पुल टुन्डी/लामा/सपना/जेभीले निर्माण गर्दैछ भने धादिङ्गको घाटबेशीमा हिराचन/महादेव/खिम्ती/इलाइट जेभीले निर्माण गर्ने भएको हो । पुल निर्माण गर्दा सामाजिक–आर्थिक, साँस्कृतिक–भौतिक, जैविक तथा रासायनिक असर पर्ने हुँदा स्थानीय वासिन्दाले सूचना प्रकाशित भएको मितीले १५ दिन भित्रमा शाखाको ठेगानामा पुग्ने गरी राय तथा सुझाव दिन सक्नेछन् । पुल निर्माण गर्दा प्रभावित हुने क्षेत्रहरु नुवाकोट: विदुर नगरपालिका गोरखा: गण्डकी गाउँपालिका चितवन: इच्छा गाउँपालिका धादिङ्ग: गजुरी गाउँपालिका, सिद्धिलेक गाउँपालिका र गल्छि गाउँपालिका
‘दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना’ निर्माण हुँदै, ६ बैंकले अधिकतम ७०% लगानी गर्ने
काठमाडौं । धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग स्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तीनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्नेछन् । उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक १५ करोड युनिट बिजुली उत्पादन गर्नेछ ।