पुष्पलाल लोकमार्गमा बन्न थाल्यो चार बसपार्क, दुई र चार टेण्डरको अध्ययन हुँदै
काठमाडौं । सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत मध्यपहाडी (पुष्पलाल) लोकमार्गको चार स्थानमा वर्षपार्क निर्माण प्रक्रिया अघि बढाएको छ । कार्यक्रम लागू भएको ७ वर्ष पछि लोकमार्ग बन्न लागेका १० नयाँ सहरको पूर्वाधार निर्माणसँगै पाँचथरको ‘फिदिम, धनकुटाको ‘वसन्तपुर’ रुकुमको ‘चौरजहारी र बैतडीका ‘पाटन’ मा बसपार्क निर्माण शुरु गरेको हो । यसका साथै साफेबगर र डुम्रेमा बसपार्क निर्माणका लागि टेण्डर प्रक्रिया शुरू गरिएको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले बताएको छ । बागलुङको बुर्तिबाङ, दैलेखको राकम कर्णाली, धादिङको बैरेनी-गल्छी र सिन्धुलीको खुर्काेटमा पनि बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया शुरू भएको कार्यालयले जानकारी दिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको बसपार्क निर्माण कार्य नयाँ सहर निर्माणको पहिलो पूर्वाधार हो । सरकारले लामो समय र धेरै विज्ञ, सरोकारवालाको छलफलका आधारमा प्राविधिक कमिटिले उक्त मार्गमा पर्ने नयाँ सहरको एकीकृत विकास योजना तयार बनाएको छ । उक्त योजनामाथि मूल्यांकन भइरहेको कार्य भइरहेको कार्यालयले बताएको छ । त्यस्तै १० सहरका लागि एकीकृत जग्गा विकास कार्यक्रमको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य पनि भइरहेको छ । सोमध्ये तीन सहरको ३ वटा आयोजना सरकारबाट स्वीकृत भएका छन् भने २ वटा आयोजना स्वीकृतिको क्रममा रहेको छ । मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो तेस्रो राजमार्ग हो। । उक्त लोकमार्गको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर रहेको छ । यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ । चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्न यो लोकमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्लालाई छिचोल्नु पर्छ । उक्त जिल्लामध्ये १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर यो मार्ग जान्छ । राजमार्गमा पर्ने २७ सहरमध्ये १६ वटालाई जोडिने छ । सहर र सदरमुकामलाई छोडेर लोकमार्गले पार गरेर जाने पूर्वाञ्चलका बस्तीमध्ये च्याङथापु, गोपेटार, संक्रान्ति बजार, वसन्तपुर, हिले, जरायोटार, हलेसी र घुर्मी बढी परिचित छन् भने मध्यमाञ्चलमा खुर्कोट, नेपालटार, (भकुन्डेबेसी), दाप्चा, नौबिसे, गजुरी, बैरेनी, कुरिनटार, मुगलिन पर्दछन् । यसैगरी पश्चिमाञ्चलका आबुखैरेनी, डुम्रे, दुलेगौँडा, खैरेनीटार, बुर्तिबाङ उल्लेख्य बस्ती हुन् । मध्यपश्चिमाञ्चलका उल्लेख्य बस्तीहरूमा काँक्री, रुकुमकोट, चौरजहारी, दुल्लु, राकम, कर्णाली आदि पर्छन् । सुदूरपश्चिमाञ्चलका विनायक, साँफेबगर, खोड्पे, पाटनजस्ता बस्तीहरू यही लोकमार्गमा पर्छन् । आर्थिक वर्ष २०६४/६५मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । उक्त लोकमार्गलाई नेपालको आर्थिक विकासको समृद्धीको ढोका मानिन्छ । सो लोकमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएपनि हालसम्म करिब ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सरकारले चालू आवको सो लोकमार्ग निर्माणका लागि २ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
३० मेगावाट क्षमताको चमेलिया आयोजनाकोे निर्माण कार्य शुरु, साँढे ८ अर्ब रुपैयाँको लगानी
बैतडी। दार्चुलाको शैल्यशिखर नगरपालिका-१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै शुरु गरिने भएको छ । जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम शुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताए । ड्राइटेस्टका लागि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन लागेको उनले जानकारी दिए । “प्राविधिक टोलीले जडान गरिएका उपकरणले सही ढङ्गले काम गरेको छ कि छैन भनी परीक्षण गर्नेछ,” उनले भने । यसअघि जेठ पहिलो साता काम शुरु गर्ने भने पनि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन ढिलाइ भएपछि परीक्षणको काममा ढिलाई भएको हो । मुख्य क्षेत्रका उपकरणबाहेकका अन्य क्षेत्रमा ड्राइटेस्टको काम सुरु भइसकेको दाहालले बताए । उनले भने -“ब्रेकरलगायतका उपकरणको ड्राइटेस्ट भए पनि मेन टर्बाइन ड्राइटेस्टको काम कोरियाली प्राविधिक आइसकेपछि मात्रै हुन्छ ।” ड्राइटेस्टको कामबाहेक अहिले आयोेजनाको ड्याममा पानी भर्ने, सुरुङ भेरिएसनका लागि खनिएका सहायक सुरुङहरु पुर्ने काम, मुख्य सुुरुङको सफाइलगायत प्रसारण लाइनदेखि दायाँ बायाँ नौ÷नौ मिटर गरी १८ मिटरसम्मका रुख काट्ने काम भइरहेको छ । करिब चार वर्षअघि निर्माण सम्पन्न भएको प्रसारण लाइनमा हावाहुरीका कारण रुख ढलेर क्षति पुर्याएको थियो । “आयोजनाको १३१ किमी राष्ट्रिय प्रसारण लाइन विस्तारलाई असार मसान्तसम्म सक्ने लक्ष्य रहेको छ,” दाहालले भने । नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय योजना आयोग र ऊर्जा मन्त्रालयले आयोजनाको काम समयमै सक्न निर्देशन दिएको छ । आगामी पुसमा आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माण कार्यले तीव्रता पाएपछि आयोजनाका सबै काम कात्तिक मसान्तसम्ममा सकेर उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले बताए। सिभिलतर्फको काम गरिरहेको ठेकेदार कम्पनी चाइना गेजुुवा गु्रप अफ कम्पनिज् (सिजिजिसी)लाई एक महिना चाँडै गरेर सेप्टेम्बर अघि नै काम सक्न आग्रह गरिएको दाहालको भनाइ छ । आयोजनामा आर्थिक विकास साझेदारी कोष (इडिसिएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको छ । विसं २०६३ पुसमा आयोजनाको सिभिलतर्फको सबै काम चिनियाँ कम्पनी सिजिजिसीलाई दिइएको थियो । आयोजनाको निर्माण कार्यमा ढिलाइ, भौगोलिक रुपमा टाढा रहेको, बैतडी र दार्चुलामा प्रसारण लाइन विस्तार गर्दा लागत खर्च बढेको दाहाल बताउछन् । आठ अर्ब ५० करोड रुपैयाँको लगानीमा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना निर्माण कार्य आगामी वर्षको पुसमा सकिने छ । विसं २०६८ सम्म निर्माण गरिसक्ने लक्ष्य लिएपनि सुरुङ खुम्चिएकाले लक्ष्यभन्दा पाँच वर्षपछि मात्रै निर्माण सम्पन्न हुन लागेको हो । गत वर्ष मङ्सिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माघ महिनामा ऊर्जा मन्त्री जनार्दन शर्माले चमेलियाको स्थलगत निरीक्षण गर्दै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए । रासस
नेपालले वैदेशिक लगानी आकर्षित गर्ने रणनीति लिएको छ – मन्त्री जोशी
काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालले हालै जारी गरेको संविधानले पूर्वाधार विकासको लागि वैदेशिक लगानीलाई एक महत्वपूर्ण अवसरको रुपमा अंगीकार गरेको बताएका छन् । जोशीले सोमवार अमेरिकाको न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय मञ्च फोरम फर फाईनान्सिङ्ग फर डेपलमेन्ट फलोअफ मन्त्रीस्तरीय राउण्ड टेवल छलफलमा सम्बोधन गर्दे अन्र्तराष्ट्रिय समुदायका माझमा नेपालको धारणा राखेका हुन् । मन्त्री जोशीले अगाडि भने – नेपालले दिगो विकासको लक्ष्य -२०३० को हासिलका लागि महत्वपूर्ण काम गर्दे आएको छ । यसको लागि हामीहरुलाई पूर्वाधार विकासमा लगानी नै प्रमुख वाधक रहेको छ, तर हामी वैदेशिक लगानीका लागि द्धिपक्षीय र वहुपक्षीय साझेदारहरु मार्फत काम गर्दे गरेका छौं । जोशीले भने – यही मार्च महिनामा हामीहरुले नेपालमा लगानी अभिवृद्धि गराउने अभिप्रायले लगानी सम्मेलन गर्न सफल भएका छौं, यसमा करिव १४ अर्व डलरको लगानीको प्रतिवद्धता हामीहरुले पाएका छौं । जोशीले विशेष आर्थिक क्षेत्र ऐन सरकारले पारित गरेको र सोही अनुसार भारतीय र चीनियाँ नाकालाई लक्षित गरेर १४ स्थानमा विशेष आर्थिक क्षेत्रको स्थापना केही वर्ष भित्र गरिने बताए । सरकारले आन्तरिक स्रोत समेत परिचालन गरेर पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दे काठमाण्डौं तराई फास्ट ट्रयाक, ७६ किमी राजमार्ग र ९०० मेगावाटको विद्युत उत्पादनको कार्य अगाडि वढेको जानकारी दिएका छन् ।