नागढुङ्गा-कलंकी सडकको ६ किलोमिटर बैशाखभित्रै कालोपत्रे
काठमाडौं । नागढुङ्गा- कलंकी सडक खण्डको ६ किलोमिटर सडक आगामी बैशाख भित्रै कालोपत्रे हुने भएको छ । सडक अतिक्रमण गरि निर्माण गरिएका भौतिक संरचना भत्काउने काम सम्पन्न भैसकेको ६ किलोमिटर सडक आगामी बैशाख भित्रै कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए । ‘नागढुङ्गाबाट कलंकी तर्फको ६ किलोमिटर सडक बैशाख भित्रै पिच गर्न सकिन्छ, त्यसकाबिचमा केहि बिजुलीका पोल छन, तिनको व्यवस्थापनमा विद्युत प्राधिकरणले सघाउनु पर्छ’, महानिर्देशक कार्कीले भने । उनले अधिकतम ५ महिनाभित्रै सो खण्डको पिच सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणले सडकका बिच भागमा परेका बिजुलीका पोलहरुको व्यवस्थापनमा ढिलाई गरेकाले तत्काल कालोपत्रेको काम अघि बढाउन नसकिएको पनि उनले जानकारी दिए । कलंकीदेखि नागढुङगा तर्फको ६ किलोमिटर सडकमा भने अदालतले काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । अदालतले अन्तिम फैसला नगरेसम्म सो खण्डको सडक विस्तार तथा कालोपत्रे गर्ने काम अघि बढ्न नसक्ने पनि उनले जानकारी दिए । बिगत लामो समयदेखि १२ किलोमिटर लामो कलंकी–नागढुङगा सडक विस्तार सम्पन्न नहुँदा सवारी आवागमनमा असहजता उत्पन्न भैरहेको छ । भत्काइएका सडक र खनिएका ढलहरुका कारण धुलो उडेर यातायात सञ्चालनमा कठिनाई हुनुका साथै स्थानिय जनताको जनजीवन पनि कठिन बन्दै गएको छ । तर सडक विस्तारमा अदालतले अन्तरिम आदेश दिएपछि काम अघि बढ्न सकेको छैन जसले थप सास्ती दिईरहेको छ ।
परिसंघले देखायो पुर्वाधार सम्मेलनका ७ उपलब्धी
काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआइ)ले दोश्रो पुर्वाधार सम्मेलनबाट ७ वटा उपलब्धि प्राप्त भएको जनाएको छ । पुर्वाधार सम्मेलनका सफलता र त्यसले दिएको सन्देशबाट जानकारी दिन पत्रकार सम्मेलन गर्दै परिसंघले सात उपलब्धिीको फेहररिस्ता सार्वजनिक गरेको हो । परिसंघका अध्यक्ष हरिभक्त शर्माले आगामी एक सय बर्षका लागि उपयुक्त भौतिक पुर्वाधारको निर्माण आवश्यक रहेको सन्देश दिन सम्मेलन सफल रहेको दावी गरे । नेपालमा कहाँ र कस्तो पुर्वाधार आवश्यक पर्छ भन्ने रोडम्याप बनाउन पनि सम्मेलन सफल रहेको उनलेब ताए । प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागीता तथा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुको सहभागीताले पनि सम्मेलनबाट सकारात्मक सन्देश गएको उनको भनाई थियो । यस्ता छन परिसंघले देखेका ७ उपलब्धी १) नेपाल लगानीको आकर्षक र भर्जिन गन्तव्य हो भन्ने सन्देश प्रवाह भएको, २) नेपालको निजी क्षेत्र प्रो एक्टिम, क्रियाशील र सक्षम हुँदै गैरहेको छ भन्ने सन्देश प्रवाह भएको, ३) पूर्वाधारमा लगानी नगरी दीगो आर्थिक विकास सम्भव छैन भन्ने तथ्यमा सहमति भएको, ४) नेपाल पूर्वाधार क्षेत्रमा लगानी बढाउने पीपीपी मोडल उत्तम विकल्प हो भन्ने तथ्य उद्घाटित भएको ५) नेपालको आर्थिक विकासमा ऐक्यवद्धता जनाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय जागरुक भएको, ६) सरकारले छिटो, छरितो, प्रणालीगत र गुणस्तरीय तवरबाट पूँजीगत खर्च गर्नु आवश्यक रहेको, ७) नेपालमा आर्थिक विकासका लागि के कस्तो पूर्वाधारको आवश्यकता छ भन्ने सन्दर्भमा आइडिया हण्ट गरिएको जसले नयाँ पुस्तालाई पुर्वाधार विकासमा सहभागी बनाउने
२० हजार ओखलढुंगा बासीको जिवनस्तर उकास्ने सिरिसे पुल चाँडै
काठमाडौं । निर्माण आरम्भ भएर पनि सम्पन्न नभएको ओखलढुंगास्थित लिखु खोलाको सिरिसे पुल चाँडै निर्माण हुने भएको छ । ओखलढुंगा क्षेत्र नम्बर २ का सांसद रामहरी खतिवडा र स्थानियको पहलमा लामो समयदेखि निर्माण रोकिएको पुल अब निर्माण आरम्भ भएको हो । सांसद खतिवडाले डिभिजन सडक कार्यालय ओखलढुंगाका डिभिजन इञ्जिनियर राकेश महर्जन, ठेकेदार र स्थानिय बासिन्दाको उपस्थितीमा गरेको वृहत छलफलपछि पुल निर्माणले गति लिएको हो । भ्याट बाहेक ५ करोड ८६ लाख लागतका सो पुल निर्माण सम्बन्धी सम्झौतामा २०६९ असार ३४ हस्ताक्षर भएको थियो । २ आर्थिक बर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलको हालसम्म ५० प्रतिशत काम मात्रै भएको छ । ‘२० हजार ओखलढुंगा बासीको जीवनसँग जोडिएको सिरिसे पुलको निर्माण अब चाँडै सकिन्छ, अब म आफैं ढुंगा बोक्न आउनु पर्छ भने पनि तयार छु तर पुल निर्माण हुन्छ’, सांसद खतिवडाले भने । उनले पुल निर्माणमा संकटकाल घोषणा गरेर काम अघि बढाउने र सबै खाले अवरोध चिर्न आफु तयार रहेको स्पष्ट पारेका थिए । पुलको माथी राखिने स्टिल स्टल ट्रसको डिजाइन भर्खरै पास भएको छ । चीतवनस्थित जलप नेपालले त्यसको निर्माण गरिरहेको छ । १८० टन तौलको पुलको तौल अहिले बढेर १९५ टन पुर्याइएको छ । दोलखाको ओम वुद्ध जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । सांसद खतिवडाले आगामी दशैंमा पुल तयार भैसक्ने गरि काम गर्न निर्देशन पनि दिए । अन्य तीन वटा पुलको निर्माण गरिरहेको कम्पनीले भने आगामी फागुनमा पुल तयार पार्ने बताएको छ । स्थानिय बासिन्दा जीत बहादुर रोक्काले ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई भएको आरोप लगाए । त्यस्तै, अर्का स्थानिय देवेन्द्र पौडेलले पनि ठेकेदारको लापरवाही नै पुल निर्माणमा ढिलाईको कारण भएको बताए । केहि स्थानिय डनहरुको अवरोधनले पनि पुल निर्माणलाई पछि धकेलेको आरोप लगाए । गाम्नाङटार, टार केराबारी, येसम, श्रीचौर, पोकली, नर्वदेश्वर लगायत १४ गाबिसका २० हजार नागरिकको जीवनस्तर उकास्न सो पुलले सहयोग पुर्याउने छ ।