निसेलढोरवासीले अझै विद्युत् सेवा उपयोग गर्न पाएनन्

बागलुङ । निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् । फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरेपनि अधिकांश स्थानीय टुकी र दियालोकै भरमा छन् । नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसेलढोरमा खानेपानी, सडकको पहुँच पुगे पनि अहिलेसम्म विद्युत्को सुविधा पुग्न नसकेको हो ।   अधिकांश स्थानीय निसी गाउँबाट गएर यहाँ बसोबास गर्ने गरेका छन् । पहिले बर्खाको समयमा मात्र निसेलढोर पुग्ने निसीवासी अहिले स्थायी रूपमै यहाँ बस्न थालेका हुन् । निसेलढोरमा बस्ती विस्तार भए पनि अहिलेसम्म विद्युत्को पहुँच नपुग्दा सयौँ स्थानीय समस्यामा पर्ने गरेका छन् । जेठदेखि असोजसम्म अधिकांश निसीका स्थानीय निसेलढोरमा बस्ने गर्छन् । उनीहरू अहिलेसम्म अन्धकारमै रात बिताउँदै आएका छन् ।  एक दशक अगाडिसम्म घुम्ती बसाइ हुने गर्दा विद्युत् विस्तारका लागि राज्यले चासो दिएको थिएन । अहिले बाह्रै महिना सयौँ स्थानीय निसेलढोरमा बसोबास गर्दा पनि विद्युत्को सुविधा पाउन नसकेको स्थानीय चन्द्रबहादुर घर्तीमगरले बताए । पछिल्लो पाँच वर्षयता निसेलढोरमा स्थायी रूपमा बस्ने स्थानीयको सङ्ख्या बढेको उनको भनाइ छ । हुनेखानेहरूले विभिन्न विद्युतीय उपकरण लिएर रातिमा उज्यालो सामान्य परिवारले टुकीकै भरमा रात कटाउनुपर्ने घर्तीमगर बताउछन् । 'अहिलेको जमानामा पनि हामीहरू विद्युत सेवा उपयोग गर्न पाएका  छैनौँ, सरकारले यति ठूलो बस्तीमा विद्युत् ल्याउनका लागि इच्छा देखाएन, पहिले बजारबाट मट्टितेल लिएर टुकी बाल्ने गथ्र्यौँ, अहिले सबै ठाउँमा बिजुली पुगेर होला बजारमा मट्टितेल पनि पाउन गाह्रो छ', उनले भने, 'विद्युत्को माग गर्न धेरै ठाउँमा पुग्यौँ, तर अहिलेसम्म कतैबाट पनि माग पूरा गर्न प्रयास भएको छैन ।' गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउनुका साथै रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्न पनि निकै समस्या भएको स्थानीय पानकुमारी विकले बताए । दुई वर्ष अगाडि नेपाल टेलिकमले टावर राखेर फोन गर्न सुविधा दिए पनि विद्युत् नहुँदा चार्ज गर्न नपाइने उनको भनाइ छ । अहिले दुई घण्टा हिँडेर मोबाइल चार्ज गर्न ढोरपाटन नगरपालिका–९ स्थित भुजी आउनुपर्ने बाध्यता रहेको विकले सुनाए । विकले भने, 'आफन्तलाई फोन गर्न पहिला निकै समस्या थियो, दुईतीन घण्टाको उकालो चढेर अग्लो पहाडमा पुगी फोन गर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको छ, तर बिजुली नहुँदा चार्ज गर्न टाढा जानुपर्छ, गाउँमा बिजुली हुन्थ्यो भने धेरै सजिलो हुने थियो, व्याट्रीबाट रेडियो सुन्छौँ, टेलिभिजन हर्न पाएका छैनौँ ।' निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्याउन केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरिरहेको जानकारी दिए । स्थानीय जलविद्युत आयोजनाबाट तार तानेर विद्युत् लैजाने भनिए पनि काम नभएको उनको भनाइ छ । आगामी वर्षसम्म निसीखोलामा विद्युत् बालेर छाड्ने उपाध्यक्ष घर्तीमगर बताउछन् । रासस

खानी खोला हाइड्रोको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले आज भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।  कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४६ लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत असार २७ गते बुकक्लोज गरेको थियो । त्यसैले असार २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले भदौ २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको ललितपुर, सिटिजन्स बैंकको कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ । 

बरुण हाइड्रोको हकप्रद सेयरमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ । असार ३१ गतेदेखि बिक्री खुला गरेको सतप्रतिशत हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।