साढे ३ अर्बमा बन्यो डाँडा खेत सवस्टेशनको पूर्वाधार

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडा खेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारण लाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडा खेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । ‘५१ रोपनीमा निर्माण भएको डाँडा खेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सवस्टेशन निर्माण हुन लागेको हो ।’ डाँडा खेतदेखि रघु गङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा ३ अर्ब ५७ करोड रुपैयाँमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ । ‘समग्रमा ७९.१७ प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘राहुघाटमा कमजोर भूबनावट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो ।’ १३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ । ४ वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रशारण लाइन र सवस्टेशनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सवस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सवस्टेशन बनाउन ६ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । निर्माण कम्पनीले पछिल्लो पटक केही दिनअघि भारतबाट करिब १ सय जना जनशक्ति ल्याएको छ । कूल ४ अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि १ अर्ब ५ करोड रुपैयाँ विद्युत् प्राधिकरण र ३ अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको ऋण लगानी छ । रघुगङ्गा गाउँपालिका-३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई १ करोड ५० लाख रुपैयाँ मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत ४ करोड ५० लाख रुपैयाँमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मङ्गले र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेका छन् । कूल ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बताएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलो खोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत् आपूर्ति गराउन थालेका हुन् ।

जलगदुल्लाको प्रक्रिया अघि बढ्यो, प्रवर्द्धक र निर्माण व्यवसायीबीच सम्झौता

रमेश लम्साल काठमाडौं । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । कूल १०६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए लगत्तै मार्ग प्रशस्त भएको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । उनले जगदुल्ला हाइड्रोपावर र जेसीई/एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी दिए । प्रवर्द्धक कम्पनी र जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माण सम्झौता भएको उनको भनाइ छ । प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन । दोस्रो पटकको सूचनामा २ कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीई/एएनके जेभी योग्य भएको हो । यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो । सो आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरण सम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार, नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने छन् । आयोजनामा एचआइडीसीएल र कर्मचारी सञ्चय कोषले समान ४/४ अर्ब रुपैयाँ लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्नेछ । आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ भने स्वपुँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णाली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला नेपालको पानी जनताको लगानी भन्ने मूल नाराका साथ स्थापना भएको हो । आयोजना स्थल नेपालगन्जबाट २३८ किलोमिटर टाढा रहेको छ । आयोजनाको बाँध स्थल जगदुल्ला गाउँपालिकाको हुरीकोटमा पर्दछ । जहाँ २३ मिटर अग्लो र ३८ मिटर लामो ब्यारेजको प्रस्ताव गरिएको छ । आयोजनाको क्याचमेन्ट एरिया ६३३.८३ वर्ग किलोमिटर रहेको छ ।  यस आयोजनाको विद्युत् गृह मुड्केचुला गाउँपालिकाको इल ४ मा भूमिगत रहने गरी डिजाइन गरिएको छ । जसको लम्बाइ ७७.८० मिटर, चौडाई १४ मिटर, मोटाई ३३.४५ मिटर रहनेछ । त्यहाँ ३५.५ मेगावाट क्षमताको तीन वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन रहनेछ । विद्युत् उत्पादन गरिसकेपछि पानीलाई ३३० मिटर लामो ५ मिटर चौडाई र ५ मिटर अग्लो टेलरेसमार्फत पुनः जगदुल्ला नदीमा नै पठाइनेछ । उत्पादित विद्युत्लाई १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रस्तावित बाफीकोट सवस्टेशनमा जोड्ने गरी डिजाइन गरिएको छ । कम्पनीले आयोजना सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन गर्नेछ । कम्पनीको अधिकृत पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने कम्पनीको तत्काल जारी पुँजी  ७ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीको संस्थापक सेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत, कर्णाली प्रदेश सरकारको ५ प्रतिशत, स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपाकिाको १ प्रतिशत रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश नगरेको अवस्थामा जगदुल्ला निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो ।  आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा २०८० वैशाख २७ गते हस्ताक्षर भएको हो । आयोजनाले ६२३.३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो । रासस

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयात गर्न भारतले अनुमति दिएको हो । यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातको स्वीकृति दिएको थियो । हालको अनुमति थपिएसँगै नेपालबाट भारतमा १,०११ मेगावाट बिजुली निर्यातको बाटो खुलेको छ । यस्तै, नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ, जसअनुसार कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ । हाल स्वीकृत २०० मेगावाट विद्युत् निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जनाएको छ । यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित विद्युत् भारत पठाइनेछ । गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतलाई विद्युत् निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणका अनुसार, यस आर्थिक वर्षमा थप निर्यात अनुमति र सम्भावित उत्पादन वृद्धिका कारण विद्युत् निर्यात दोब्बर हुने अपेक्षा गरिएको छ ।