रिज लाइन इनर्जीले घोषणा गर्यो नगद लाभांश
काठमाडौं । रिज लाइन इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ करोड ७८ लाख ३५ हजार ७८९ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ ४ गते दिउँसो ३ बजे होटल हिमालय कुपण्डोल ललितपुरमा चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा रिक्त १ जना सञ्चालक चयन गर्नेछ । कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने र आईपीओबाट प्राप्त रकमको प्रयोग गर्ने प्रस्ताव पारित गर्नेछ ।
छुट्याएको १० करोड रुपैयाँ फिर्ता, निर्देशन दिँदा समेत भएन काम
काठमाडौं । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँ भन्दा बढी रकम फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको हो । महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकोमा १७ करोड ६५ लाख ६९ हजार ८३० रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी ७ करोड ३४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको हो । यस्तै, बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोड रुपैयाँमध्ये ६ करोड ८० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यसमा ३ करोड २० रुपैयाँ फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ । सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो । महानगरले रङ्गशालाका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २.४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिए । ‘हालसम्म भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । तर, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम हुँदा बजेट फिर्ता भयो,’ उनले भने । हिमालयन-कालिञ्चोक-बिबिआर ज्वाइन्ट भेञ्चरले विसं २०८१ असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०८३ पुस २२ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरि सक्नुपर्ने छ । हालसम्म रङ्गशालामा ५ हजार दर्शक क्षमताको प्याराफिटको ढलान सम्पन्न भएको छ । अर्को दुई हजार दर्शक क्षमताको प्याराफिटको काम भइरहेको छ । २ वटा टावरमध्ये एउटाको भूइँतलाको ढलान र अर्कोको भूइँको काम भइरहेको छ । यसैगरी दुई सय मिटर नालीको ढक्कन राख्ने, १५५ मिटर कम्पाउण्ड निर्माण सम्पन्न भई ५ सय किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । काम ढिलो भएपछि दुई महिनाअघि भरतपुर महानगरपालिकाले निर्माण कम्पनीलाई आर्थिक वर्षभित्रमा ४० प्रतिशत काम सम्पन्न गर्न आग्रह गरेको थियो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित प्राविधिक कर्मचारी निर्माण स्थल पुगेर निर्माण व्यवसायीलाई काम छिटो गर्न आग्रह गरिएको थियो ।
चनौलीमा लोडसेडिङ नभएको प्राधिकरणको स्पष्टीकरण, ‘भ्रामक समाचारले अन्यौलता बढायो’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली क्षेत्रमा लोडसेडिङ सुरु भएको भन्ने हल्ला र समाचारको खण्डन गरेको छ । प्राधिकरणले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै चनौलीमा देखिएको समस्या लोडसेडिङ नभई पूर्णतः प्राविधिक भएको स्पष्ट पारेको छ । चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको ‘लोड व्यवस्थापन तालिका’ लाई केही सञ्चारमाध्यम र सामाजिक सञ्जालले ‘लोडसेडिङ तालिका’ को रूपमा प्रचार गरेपछि सर्वसाधारणमा अन्योल छाएको थियो । यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले उक्त कार्यलाई अनुचित र भ्रामक भनेको छ । प्राधिकरणका अनुसार, वर्षायाममा पर्याप्त पानी नपरी खडेरीको अवस्था आएकाले सिँचाइका लागि विद्युतको माग अत्यधिक बढेको छ । चनौली ३३-११ के.भी. सवस्टेशनमा न्यू भरतपुर (बसेनी) सवस्टेशनबाट आउने ३३ केभी लाइनमा बढेको अत्यधिक लोड व्यवस्थापन गर्न विद्युत लाइन तथा ट्रान्सफर्मरहरू अदलीबदली गर्नुपरेको हो । सोही मर्मत कार्यका लागि केही समय लाइन अवरुद्ध हुने तालिका मात्र सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले समाचारको भित्री अंशमा प्राधिकरणकै पदाधिकारीले ‘यसलाई लोडसेडिङ भन्न मिल्दैन’ भनेको कुरा उल्लेख भए पनि शीर्षकमा ’लोडसेडिङ’ राख्नु दुःखद् र अन्यायपूर्ण भएको बताएको छ । दीर्घकालीन समाधान अन्तिम चरणमा चनौली क्षेत्रको विद्युत आपूर्तिलाई दीर्घकालीन रूपमा भरपर्दो बनाउन बसेनी १३२ के.भी. सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ के.भी. प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जानकारी दिएको छ । सो लाइन निर्माण सम्पन्न भएपछि हालको समस्या स्थायी रूपमै समाधान हुने विश्वास व्यक्त गरिएको छ । प्राधिकरणले विज्ञप्तिमार्फत आम उपभोक्तालाई आश्वस्त पार्दै भनेको छ, ‘लोडसेडिङ नेपालको लागि इतिहास भइसकेको छ र यो फर्किने अवस्था छैन । चनौलीमा देखिएको समस्या प्राविधिक मात्र हो र प्राधिकरणको टोली यसको समाधानका लागि अहोरात्र खटिएको छ । दुई/तीन दिनभित्रै समस्या समाधान गरी निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरिनेछ ।’ प्राधिकरणले गलत आशयका साथ फैलाइएको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।