बन्दाबन्दीमा अफिस जाँदै हुनुहुन्छ ? यसरी कम गर्न सकिन्छ कोरोनाको जोखिम

काठमाडाैं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन् । मास्क, पञ्जा, चस्मालगायतको उचित प्रयोग गरेमा रोग लाग्ने सम्भावना कम गर्न सकिने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बताए । कार्यस्थलमा जानु पहिले राम्रोसँग मास्क र चस्मा लगाउन उनले सुझाव दिए । माक्स बाहिरबाट हावा नपस्नेगरी लगाउनुपर्छ । आँखाका माध्यमबाट पनि भाइरस सर्ने हुँदा आफूसँग भएकै आँखा ढाकिने चस्मा प्रयोग गर्न सकिन्छ । उनले भने, ‘कतिपय व्यक्तिले घाँटीमा त कतिले नाक नै नछोपिनेगरी लगाएको पाइन्छ, तर सुरक्षाका लागि यसको सही प्रयोग गर्न खाँचो छ ।’ कार्यालय जाँदा गोजीमा सेनिटाइजर बोकेर हिँड्न उनले सबैलाई सल्लाह दिए । सम्भव भएसम्म हात धुने र साबुनपानी उपलब्ध नभएका स्थानमा सेनिटाइजर प्रयोग गरेर पनि हातमा भएका सङ्क्रमण नष्ट गर्न सकिन्छ । पञ्जाको प्रयोग गर्दा हातबाट नाक वा मुखसम्म सङ्क्रमण फैलन पाउँदैन । कार्यालय वा फिल्डमा पनि सामाजिक दूरी कायम गर्दा जोखिम कम हुने डा पाण्डेले बताए । कुनै पनि व्यक्तिसँग ६ फिटको दूरी कायम राख्नुपर्छ । कतिपय अवस्थामा कामका लागि नजिक जानुपर्दा लामो समयसम्म नजिक नबस्न उनको सुझाव छ । उनले भने, ‘कुनै पनि व्यक्तिको नजिक कतिबेर बस्यो भन्ने कुराले पनि अर्थ राख्छ, नजिक बस्नैपर्दा पनि जति छोटो समयका लागि बस्यो त्यति राम्रो हुन्छ ।’ कार्यालयमा कामका सिलसिलामा किताब, कापी, टेबुल, कुर्सीलगायतका सामग्री पनि पटक पटक छुइने गरेको छ । यसले मानिसबाट मानिसमा जसरी सजिलै नसर्ने पनि उनले बताए । कार्यालयकै कर्मचारीले पनि आपसमा दूरी कायम गरेर काम गर्दा जोखिम कम हुने उनको भनाइ छ । कार्यालय बाहिर जाँदा पनि भीडभाड हुने ठाउँमा नजान उनले सुझाव दिनुभयो । उनले भने, ‘मानिसहरु भेट्नुपर्दा कसरी दूरी कायम गर्ने भन्ने तय गर्न खाँचो छ ।’ हामीमध्ये अधिकांशको पटक पटक हात, नाक, मुख, आँखालगायतका अङ्गमा लैजाने बानी हुन्छ । एउटा व्यक्तिले औसत दिनको ९० पटक हात अनुहारमा लैजाने बताइन्छ । कोभिड-१९ विश्वबाटै हराउने समय लाग्ने विश्व स्वास्थ्य सङ्गठनले बताइरहँदा हामीले यीलगायतका व्यवहारमा परिवर्तन ल्याउन खाँचो छ । मास्क लामो समयसम्म लगाउँदा चिलाए पनि त्यसलाई जुनसुकै समयमा हातले छुन नहुने उनले बताए । उनले भने, ‘चिलाउँदा पनि सहनुपर्छ हातमा सङ्क्रमण हुनसक्ने भएकाले झिक्ने वा चिलाउने गर्नु हुँदैन ।’ कार्यालयमा हुँदा पनि पटक पटक साबुनपानीले हात धोएर हातलाई सङ्क्रमणमुक्त गर्न सकिन्छ । खानेकुरा खानु पहिले उपलब्ध भएसम्म हात धोएर खानुपर्ने डा पाण्डेको सुझाव छ । साबुन र पानी उपलब्ध नहुने ठाउँमा हातमा सेनिटाइजर लगाएर चम्चाले खान सकिन्छ । अहिलेसम्म नेपाल र विश्वमा हेर्दा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोभिड-१९ ले आक्रमण गरेको पाइएको छ । आमनागरिकसँगै बन्दाबन्दीका समयमा काम गर्नुपर्ने पेशाका व्यक्तिले पनि पोषिलो खाना र व्यायाममा ध्यान दिनुपर्ने उनको सुझाव छ । कार्यालय आउन/जानका लागि प्रयोग गर्ने सवारी साधनमा सावधानी अपनाउँदा पनि सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ । अहिले सडकमा जाम नहुने भएकाले कुनै एउटा सवारीमा हिँडेको व्यक्ति सडकमा अरुसँग नजिक हुने सम्भावना कम छ । यो समयमा आफ्नो मोटरसाइकल र स्कुटरमा हिँड्न त्यति डर नहुने उनले बताए । कार्यालयका गाडी, एम्बुलेन्सलगायत सवारी साधनलाई पनि हरेकपटक प्रयोग गरेपछि निसङ्क्रमित बनाउनुपर्छ । बिहान साबुनपानीले पखाल्ने र सोडियम पानीले सफा गर्न सकिन्छ । हरेकपटक प्रयोग गरेपछि सवारी साधनलाई निसङ्क्रमित गर्नुपर्ने उनले बताए । यस्तो समयमा कार्यालयको सवारी साधन असाध्यै जरुरी भएका व्यक्तिमात्रै चढ्दा अत्यावश्यक व्यक्तिलाई समेत जोखिम कम हुन्छ । सवारी चालकले पनि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘चालकले मास्क, चस्मा र पञ्जा प्रयोग गरेर आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित गर्न सक्छ ।’ कार्यालयबाट घर फर्किएपछि हात खुट्टा धुने र लगाएका सबै कपडा धोएर घाममा सुकाउनुपर्ने उनको सुझाव छ । अहिले कतिपय डाक्टर, नर्स, कर्मचारीलगायत फ्रन्टलाइनमा बसेर काम गरिरहेकाहरु घरमै सेल्फ क्वारेन्टाइन बसिरहेका छन् । आफू बाहिर काम गर्ने व्यक्तिले आफूबाट परिवारको सदस्यमा सङ्क्रमण नफैलियोस् भनी सजग हुनुपर्ने उनको सुझाव छ । परिवारमा ज्येष्ठ नागरिक र दीर्घरोगी छन् भने उनीहरुको सम्पर्कमा आउनुहुँदैन । उनले भने, ‘घरमा बिरामी, रोगी हुनुहुन्छ भने उनीहरुको सम्पर्कबाट टाढा बस्नुपर्छ, घरभित्र पनि दूरी कायम गरेर बस्नुपर्छ ।’ रासस

व्यासीको कथा : सुन्दरताभित्र गुम्सिएको पीडा

दार्चुला । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन : सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा) ।” चारैतिर डाँडाकाँडा र हिमालले घेरिएको गाउँ । उत्तरतिर भएर बग्ने काली र दक्षिण भएर बग्ने तिङ्कर खोलाको सुसाइ । हिमाली क्षेत्रको चिसो हावा र बिहान घामको झुल्कोसँगै यहाँको प्राकृतिक सौन्दर्य । शान्त वातावरण । सुनसान जङ्गलभित्रको घनाबस्ती । गाउँ वरिपरि फूलझैँ फक्रिएका सल्लाका रुखहरु । यो ठाउँमा बस्नेलाई लाग्छ, ‘हामी स्वर्गको नजिकै छौं।’ आकाश खुलेपछि अरु गाउँ देख्न सकिँदैन, त्यही अपिनाम्पा हिमालका चुचुरा । कैलाश मानसरोवरको दर्शन । कैलाश गुफा र अपिनाम्पा संरक्षण क्षेत्रभित्र रहेको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने जो कोहीलाई स्वर्गको अनुभूति हुन्छ । सदरमुकाम खलङ्गाबाट ९० किलोमिटर टाढाको बस्ती । बिहान घामको राप र बेलुकी बत्तीको उज्यालोले झिलीमिली । गाउँभरि ठड्याइएका बिजुलीका पोलहरु । बाटोहरु चिटिक्क परेका चिल्ला । वर्ष दिनलाई पुग्ने गरी दाउराको जोहो । पहाडका खोँचमा निर्माण गरिएका अग्ला घरहरु माटोले चिटिक्क परेका र टल्किएका । खेती गर्न हाते ट्र्याक्टर । सङ्घसंस्थाका बोर्डहरु । सीमापारि भारतीय क्षेत्र र उत्तरपट्टि चीनको ताक्लाकोट शहर नजिकै । ५/६ घण्टाको सीमासम्मको हिँडाइपछि चीनसम्मको सहज यात्रा । घोडा खच्चड, याक र चौँरीहरु । यसरी हेर्दा लाग्छ यो बस्ती विकट छैन । दुर्गमताको आभास छैन । लहरै फलेका स्याउ, हरियो तरकारी, उवा, फापर, आलू फल्ने ठाउँ छ । फूलैफूलको संसारमा बसेको अनुभूति जो कोहीलाई पनि हुन्छ । तर जति सुन्दर देखिन्छ यो क्षेत्र, त्यहाँ बसोबास गर्नेको पीडा त्योभन्दा कम छैन । १० दिनदेखि सौका कुञ्चा बाटोमै व्यास गाउँपालिका–१ छाङ्रुका अञ्जु बोहरा सदरमुकाम खलङ्गाबाट गाउँ जान हिँडेको १० दिन भयो । नेपालकै बाटो भएर गाउँ जाने सोचसहित पशुचौपाया लिएर गएका थिए । सामान्यतया नेपालकै बाटो भएर बढीमा ५ दिनमा गाउँ पुगिन्छ । एक सातासम्मको तयारी गरी रासन बोकेर गएका बोहरा १० दिनसम्म गाउँ पुग्नु त कता आधा बाटो नि पुग्न सकेनन् । नेपालतिरै बाटो बन्ला भन्ने आशामा गएका छाङ्रुका कुञ्चा १० दिनसम्म पनि तम्बाकु क्षेत्रमै अड्किएका छन् । गाउँपालिकाले यो क्षेत्रमा गाेरेटोबाटो मर्मतको काम गरिरहेको थियो तर तम्बाकु मौरा भेल क्षेत्रका कडा चट्टानमा बाटो बनाउन नसक्दा व्यासी कुञ्चाले माथि उक्लिन नसकेका हुन् । भारतीय बाटो भएर यही जेठ ८ गते हिँडेको कुञ्चा गव्र्याङ पुगेको छ । नेपालतिर बाटो खुल्ने अवस्था नभएपछि रङ समुदायले भारतीय सरकारसँग पहल गरेर महाकाली नदीमा अस्थायी काठेपुल लगाएर नेपाल भएर गएका कुञ्चा पनि भारत हुँदै गाउँ जाँदैछन् । दुवैतर्फको आपसी सम्बन्धको हिसाबमा भारतीय क्षेत्रमा रहने सौका समुदायले जिम्मेवारी लिने गरी छाङ्रुका कुञ्चालाई भारतीय बाटोमा प्रवेश दिइएको व्यास–१ का स्थानीय विमल बोहराले बताए । भारतबाट स्वास्थ्यकर्मीसहितको टोली पठाएर उनीहरुको स्वास्थ्य परीक्षण गर्दै भारत प्रवेश गराइएको छ । तम्बाकुमा महाकाली नदीमाथि अस्थायी काठेपुल लगाइएको छ । छाङ्रुका कुञ्चा तम्बाकुभन्दा माथि जान नसक्ने अवस्था आएपछि भारतीय क्षेत्रमा रहेका सौका समुदायमार्फत पहल गरिएको बोहरा बताए । भारतको धार्चुला हुँदै गएका तिङ्कर समुदायका पशुचौपाया आइतबार बेलुकी बुदी पुगेका छन् । विगतमा वडाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले दिएको अनुमति भारतीय एसडिएम कार्यालयमार्फत स्वीकृत भएपछि मात्रै व्यास जान पाइन्थ्यो तर यो पटक बन्दाबन्दीका कारण अनुमतिबिनै उनीहरु गाउँ गएका हुन् । भारतीय विधायक हरिशसिंह धामी तथा भारतीय रङ समुदायले सहजीकरण गरेपछि उनीहरु गाउँ जान पाउने भएका हुन् । भारतको छायालेकभन्दा माथिल्लो क्षेत्र ‘नोटिफाइ’ क्षेत्र हो । यो क्षेत्रमा प्रवेशका लागि भारतीय पक्षले सहजीकरण गरिदिएको बोहरा बताए । उनले भने, “अब दुई दिनपछि सबै कुञ्चा व्यास पुग्छन् । उनीहरु नेपाल भारत जोड्ने सीतापूल हुँदै गाउँ प्रवेश गर्नेछन् ।” व्यासी सौका समाजका अध्यक्ष यशोदा तिङ्करी व्यासीहरुले यो पटक जस्तो गाउँ पुग्न दुःख कहिल्यै भोग्नु नपरेको बताए । “हाम्रा जनताले गाउँ पुग्न पाएका छैनन्,” उनले भने, “जनता बीच बाटोमै अलपत्र छन्, सरकारले नेपालतिर बाटो खोल्छ भन्छन् तर कहिले खोल्ने हुन् ?” नेपालले आफ्नो भूमि भएर गाउँ जान बाटो नबनाउँदा केही नागरिक भारतीय बाटो भएर गए । एकसाताका लागि बन्दोबस्ती रासन लिएर गएका कुञ्चाले खान पाएका छैनन् । दुम्लिङ आएर रासन खान बाध्य छन् । “सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्नु ठिक हो”, उनले भने, “तर आफ्ना जनता गाउँ पुगेका छन कि छैनन् भनेर र हेर्नुपर्छ कि पर्दैन? पुर्खादेखि जनताले भूमि रक्षा गरेका छन् । अहिले केही भारतबाट व्यास गएका छन् केही नेपालबाट गएकाहरु बीच बाटोमै समस्यामा छन् ।” उनका अनुसार अहिले सम्बन्धका हिसाबले सात आठ महिनापछि गाउँ जान पाउँदैछन् । “खेतपाती लगाउने समय सकियो । यार्सा सङ्कलनमा रोक लगाइएको छ । सीमा नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प छ । यस्तो अवस्थामा व्यासवासीले गाउँमा कसरी बस्ने ? के खाने ? सरकारले तत्काल खाद्यान्न आपूर्ति व्यवस्था गर्नुपर्छ”, उनले भने । कसरी बन्यो बाटो, के खान्छन् व्यासी ? हेर्दा स्वर्ग झैँ लाग्ने व्यास–१ छाङ्रु र तिङ्करका नागरिकहरुको जीवन कसरी चलेको छ ?  धेरैले यसतर्फ सोधिखोजी गरेका छैनन् । आफ्नो भूमि भएर जाने बाटो बन्द भएको डेढ दशक भयो । व्यासका स्व बहादुरसिंह ऐतवाल नगेन्द्रप्रसाद रिजाल मन्त्रिमण्डलमा सहायक राज्यमन्त्री थिए । दार्चुलाको व्यासी सौका समुदायबाट मन्त्री हुने पहिलो व्यक्ति ऐतवालले दार्चुलादेखि व्यासको तिङ्करसम्म गाेरेटो बाटो निर्माणको शुरुआत गरे । त्यो बेला पञ्चायती व्यवस्था हुँदा शुरु भएको गाेरेटो बाटो सशस्त्र द्वन्द्वको समय अघिसम्म राम्रै चलेको थियो । झण्डै ०४०।४५ सालसम्म यो बाटो भएर भारतीय नागरिकहरु समेत आवतजावत गर्थे । भारतका सात गाउँ बुदी, गव्र्याङ, नपलचु, गुञ्जी, नावी, राकाङ, कुटी तथा कैलाश मानसरोवर दर्शन गर्न जाने यात्री र व्यापारीहरुसमेत नेपालकै बाटो प्रयोग गर्थे । नेपालतिर महाकाली नदी किनारै किनार घोरेटो बाटो थियो । चीनको ताक्लोकोटसँग सीधा व्यापार सम्पर्क थियो । “सजिलै ताक्लोकाटको सामान खलङ्गा आइपुग्थो,” सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय व्यासमै जागिर गरेका पूर्व कर्मचारी भवानसिंह ठगुन्नाले भने, “गाेरेटोबाटो कहीँ अवरुद्ध थिएन ।” पञ्चायत कालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रममार्फत गाेरेटो बाटो निर्माण भएको हो । बाटो राम्रो थियो । द्वन्द्वकाल अघिसम्म व्यापारको हिसाबले पनि यो बाटो राम्रो थियो । तर द्वन्द्वपछि भन्सार कार्यालय हट्यो । बाटोमा हिँड्न डर थियो । गाेरेटोबाटो मर्मत हुन सकेन । अहिले आएर यो बाटो पूर्णरूपमा बन्द हुन गएको ठगुन्ना बताए । यही बाटो भएर ताक्लाकोटको सामान ०५८ अघिसम्म दार्चुलासम्म पुग्थ्यो । त्यो बेला तिङ्करदेखि खलङ्गासम्मको भाडा मात्रै १ सय रुपैयाँ प्रतिकिलो थियो । अहिले नेपालतिर बाटो नै छैन । यहाँका स्थानीयवासीले चीन र भारतबाट खाद्यान्न निर्यात गर्दै खाने गरेका छन् । पैसा हुनेले ६ महिनाका लागि पुग्नेगरी खलङ्गाबाटै घोडा खच्चडमा खाद्य सामग्री लैजाने गरेको व्यासका स्थानीयवास विमल बोहरा बताए । “गरिबलाई खाद्यान्नको निकै समस्या छ । भारतीय सरकारले गर्दा केही राहत थियो । अहिले त्यो अवस्था रहन्छ रहँदैन थाहा छैन”, उनले निराशा व्यक्त गरे । उनका अनुसार विगतमा भारतीय पक्षसँगको सुमधुर सम्बन्धमा खाद्यान्न किनिन्थ्यो । चीनले दिने अनुदान सहयोगमा खाद्यान्न पुग्थ्यो तर तीन चार वर्षयता चीनले दिने सहायता रोकेको छ । अहिले नेपालतिर खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । “बाटोघाटो बन्यो भने घोडा खच्चडमार्फत ढुवानी गर्न मिल्ने हो,” उनले भने, “हामीसँग अहिले उवा फापर थोरै हुन्छ । अहिलेको समयमा भने व्यासीले के खाने कसरी जीविका चलाउने चिन्ता छ ।” व्यासी सौका समाजका अध्यक्ष तिङ्करी राज्यले व्यासमा तत्काल खाद्य डिपो स्थापना गर्नुपर्ने बताउँछन्  । “अहिलेसम्म हामीले चीन र भारतबाट किनेर खायौं, अहिले बन्दाबन्दीले त्यो क्षेत्रबाट ल्याउन सकिने अवस्था पनि छैन । सरकारले नागरिक गाउँ गएपछि तत्काल खाद्यान्न ढुवानी गर्नुपर्छ”, उनले भने । अहिलेको अवस्थामा खाद्यान्न पुर्याउन नसके व्यासी नागरिकलाई खाद्यान्न समस्या हुने उनको भनाइ छ । यो क्षेत्रमा वर्षमा एक पटक मात्रै खाद्यबाली लगाइन्छ । यो क्षेत्रमा आलु, फापर, निप्पल, कोदो, उवा जस्ता खाद्यबाली उब्जनी हुने गरेको छ । व्यास–१ छाङ्रुमा १ सय १५ तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । यो क्षेत्रमा १ हजार २ सयको हाराहारीमा जनसङ्ख्या रहेको छ । सात महिनापछि गाउँको ढोका खुल्दै गत कात्तिक अन्तिमतिर छाङ्रु र तिङ्करका स्थानीयवासी पशुचौपायासहित खलङ्गा झरेका थिए । हिमपात हुन थालेपछि खलङ्गा झरेका व्यासीहरु वैशाख महिनामै व्यास उक्लनुपर्ने हो तर यो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र भारत दुवैतर्फ सीमानाका बन्द भएपछि उनीहरुको कुञ्चा जेठ पहिलो साता मात्रै सरेको छ । बन्दाबन्दीका कारण सीमानाका नखुल्दा उनीहरुको कुञ्चा ढिलाइ भयो । नेपालतिर बाटो छैन । बाटो मर्मत गर्न शुरु गरे पनि अहिले कुञ्चा सर्न सक्ने अवस्था रहेन । व्यास तिङ्करको कुञ्चा भारतीय मार्ग हुँदै गाउँ गएको छ भने छाङ्रुको कुञ्चा नेपालको आधा बाटो र त्यसपछि महाकाली तरेर भारत हुँदै गाउँ उक्लिएको हो । “कुञ्चा गाउँ नजिकै पुग्दैछ”, कुञ्चा जानुभएका दानसिंह तिङ्करीले भन्नुभयो, “एक दुई दिनमै गाउँ पुग्छौँ ।” पशुचौपाया र लालाबालासहित उनीहरु गाउँ गएका हुन् । गाउँबाट फर्किँदा ढोकामा ताला लगाएर आएका हुन् व्यासीहरु । “पूरै गाउँ भगवान् भरोसामा छोडिएको हुन्छ”, तिङ्करी भन्नुहुन्छ, “गाउँभरि एक जनामात्रै गाउँ हेरालु हुन्छन् । हिमपातले गर्दा पूरै गाउँ ढाकिएको हुन्छ । अहिलेसम्म चोरी भएको छैन ।” यही जेठ ८ गते दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल भएर छाङ्रु र तिङ्करका १ सय १४ पुरुष, ७३ महिला र आठ बालबालिका गरी १ सय ९५ जना गाउँ फर्किएका छन् । उनीहरूसँगै २ सय ८४ पशुचौपाया गाउँ गएका छन् । व्यास छाङ्रुको पशुचौपाया र केही स्थानीयवासी भने नेपालकै बाटो भएर गाउँ गएका छन् । उनीहरुको तथ्याङ्क प्राप्त भएको छैन । व्यासीको सडक सपना व्यासीहरुलाई नेपालकै बाटो भएर गाउँ जाने रहर भने अहिलेदेखिको होइन । आर्थिक वर्ष ०६४।०६५ मा दार्चुला–तिङ्कर सडक शुरु भएसँगै व्यासीहरुलाई आफ्नो भूमि भएर गाउँ जाने सपना थियो । सडक बन्ला, व्यासमा फलेको स्याउ दार्चुला र तराई क्षेत्र जाला, आलु, उवा, फापर बजारमा लगेर र खलङ्गाबाट स्वदेशकै बाटो भएर खाद्यान्न ढुवानी गर्ने व्यासीहरुको सपना थियो । व्यासका स्थानीयवासी जीतबहादुर बोहरा नेपालको सडक शुरु भएपछि आफूले व्यासमा स्याउ खेती शुरु गरेको सम्झिए । उनले भारतको हिमाञ्चल प्रदेशबाट बिरुवा ल्याएर स्याउ खेती गरेका हुन् । अहिले उनकै मात्र ३० क्विन्टलभन्दा बढी स्याउ फल्छ । हजारौं बोट स्याउ व्यासमा फलेका छन् तर सडक नहुँदा बर्सेनि स्याउ कुहिएर जान्छ, उत्पादनले बजार पाएको छैन । अहिले व्यास क्षेत्रमा अन्य व्यक्तिले पनि स्याउ खेती शुरु गरेका छन् । नेपालको सडक बनेपछि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने भन्दै उनले लाखौं रकम खर्च गरेर काठै काठबाट निर्मित घरहरु बनाए । कैलाश मानसरोवर दर्शन गर्न जाने बाटोमै उनको घर पर्छ तर उनले सोचेअनुसार सडक बनेको छैन । सडक नबन्दा उन मात्र होइन सम्पूर्ण व्यासी निराश छन् । सडक निर्माण शुरु भएको १२ वर्षसम्म पनि सडकले गति लिएन । सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका सुनसेरासम्मको ४० किलोमिटर सडकको ट्र्याक खुल्न १२ वर्ष लाग्यो । व्यासको सडक सपना अधुरै रह्यो । अहिले सरकारले गत वैशाख १४ गते व्यास–२ माल नजिकैबाट चीनको ताक्लाकोट जोड्ने गरी निर्माण हुने महाकाली लोकमार्गअन्तर्गत दार्चुला–तिङ्कर सडकको ८७ किलोमिटर सडक नेपाली सेनामार्फत बनाउने जिम्मेवारी दिएको छ । सेनालाई बाँकी सडकको काम दिएपछि व्यासीमा व्यासम्म सडक पुग्ने विश्वास जागेको छ । अहिले सेना व्यासको घाँटीबगर क्षेत्रमा बाटो निर्माणमा जुटेको छ । सेनाले छिट्टै सडक निर्माणको काम पनि शुरु गर्ने तयारी गरेको छ ।  रासस

कोरोना महामारीकाे साईकोडेमीक असरबाट कसरी बच्ने ?

काठमाडौं । विश्वमा कोरोना सक्रमितको संख्या बढ्दै जाँदा मानिसहरुमा यसको मनोसामाजिक असरहरु देखा पर्न थालेका छन् । संक्रमितको थुकको छिटाबाट सर्ने यो रोगले मानिसहरु नै अब एक अर्कोसँग नजिक हुन नसक्ने अवस्था ल्याइदिएको छ । दुई जना मानिस एक भएपछि चल्ने यो संसार अहिले मानिसहरु जति टाढा त्यति सुरक्षित हुने अवस्थाले मानिसहरुलाई मानसिक रुपमा ठूलो असर गरेको छ । कोरोना संक्रमणको त्रास लामो समय नहरला । तर, यसले ल्याएको असर दीर्घकालिन हुनसक्छ । त्यसैले यसले ल्याउने साईकोडेमिक असरबाट तपाई टाढा रहनुपर्छ । यसको लागि केही निश्चित विधिहरु अपनाउन सकिन्छ । आफूलाई शंका नगर्नुहोस् आफुलाई बिना कुनै कारण कोरोना लाग्यो भन्ने शंका नगर्नुहोस् । शंका तथा तनावले टाउको दुख्ने, ज्वरो आएजस्तो हुने तर नाप्दा ज्वरो नदेखिने र घाँंटी खसखस भएजस्तो लाग्ने जस्ता समस्या देखिन सक्छन् । यस्तै, रिंगटा लागेको भान हुने, कमजोरी अनुभव हुने, निद्रा नलाग्ने, मन खुसी नहुने, जोशजाँगर नहुने, छाती पोल्ने, खुट्टा पोल्नेलगायतका शारीरिक लक्षणहरु देखाउँछ जसले गर्दामलाइ साँच्चै कोरोना संक्रमण भएको हो कि भन्ने महसुस हुन्छ । त्यसैले कोरोनाको साईकोडोमीबाट बच्न आफूलाई विश्वास गर्नुहोस् । आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमताप्रति विश्वास गर्नुहोस् । म सजग छु त्यसैले मलाइ कोरोना संक्रमण हुँदैन भनेर ढुक्क हुने, निश्चिन्त हुने बानी विकास गर्नुहोस् । संक्रमितको संख्या सुनेर चिन्ता नगर्नुहोस् विश्वका धेरै देशको तुलनामा हामी निकै सुरक्षित छौं । संक्रमितको पहिचान हुनु राम्रो कुरा हो । किनभने यसले रोग रोकथाममा ठूलो सहयोग गर्दछ । यदि तपाईले सुरक्षाका विधि अपनाउनु भयो भने तपाईलाई संक्रमण हुने सम्भावना निकै कम हुन्छ । निको भएर घर गएका कोरोना संक्रमित आत्माबल नै सबैभन्दा ठूलो भएको बताउँदै आएका छन् । आफूलाई सधैं टिपटप राख्नुहोस् तपाईको कार्यस्थल बन्द भएपनि वा घरबाट काम गरिरहनु भए तापनि आफ्नो दैनिकीमा परिवर्तन नल्याउनुहोस् । दैनिक दाँत माझ्ने, मेकअप गर्ने, अन्य समयमा कार्यालयमा जाँदा जस्तै सफा चिटिक्क भएर आफ्नो काम सुरु गर्नुहोस् । यसरी दैनिकीहरुमा यथावत राख्दा तपाईलाई महामारीको त्यति वास्ता पनि हुँदैन र बिरामी भएको महसुस हुँदैन । योग तथा ध्यान गर्ने आफ्नो आत्मशान्ति र भित्री शीतलताको लागि योग तथा ध्यान गर्ने बानी बसाल्नुहोस । यसले तपाईमा जीवन र जगतप्रति सकारात्मक धारणा जागृत गराउँदछ । सामाजिक संजालमा धेरै प्रतिकृया दिने बानी बन्द गर्नुहोस् सामाजिक संजालमा समाचार सेयर गर्ने, जुनै पनि विषयमा प्रतिकृया दिने काम बन्द गर्नुहोस् । एक अध्ययन अनुसार जसले धेरै पटक सामाजिक संजालमा पोस्ट गरिरहन्छ, त्यो उसको भित्री चिन्ताको विस्फोट हो । सार्वजनिक समाचारलाई हामीले पोस्ट गर्ने, हरेक कुरामा आफ्नो बिचार राख्ने तथा लाइक, कमेन्ट र सेयरको गणना गर्ने बानीलाई अनुत्पादक र प्रतिक्रियात्मक मानिन्छ । यसले तपाईमा भित्र भएको शान्तिलाई पनि भंग गर्न सक्छ । त्यसैले सामाजिक संजाललाई सिमित समय मात्र दिनुहोस् । अनावश्यक विवाद नगर्नुहोस् यो महामारीको बेला आफ्नो परिवारको तथा देशको चिन्ता गर्नुपर्ने समयमा राजनीतिका अनावश्यक पक्ष, विपक्षमा विवाद गर्नुको कुनै औचित्य छैन । तसर्थ जीवन र जगतको पक्षधर बन्ने बानी विकास गर्नुहोस् । यसले तनाब मुक्तिमा सहयोग गर्दछ । भोलिलाई सम्झेर आजलाई खेर नफाल्नुहोस् यो महामारीले अधिकांश व्यक्तिको आर्थिक अवस्था चौपट पारेको छ । आर्थिक नोक्सानीको चिन्ता गरेर समाधान हुने होइन । यो नाफा र घाटाको चक्र दिन र रात जस्तै हो । त्यसैले आशा गरौँ यो रात ढलेपछि उज्यालो हुनेछ र त्यो उज्यालोको आलोकले हाम्रो गिरेको अर्थतन्त्र अझै सुदृढ भएर आउनेछ । त्यसैले भोलिलाई सम्झेर आजलाई खेर नफाल्नुहोस् । तपाई मानसिक र शारीरिक रुपमा स्वस्थ रहे तपाईले मनग्य धन कमाउँन सक्नुहुनेछ । आफ्नो रुचि र लुकेको क्षमतालाई उजागर गर्नुहोस् यो जिन्दगीको दौडधुपमा हामी यति धेरै व्यस्त भयौं कि हामी धेरैले आफ्नो लागि समय नै निकालेनौं । त्यसैले अहिले पाएको समयलाई अवसर मान्नुहोस । किनभने फेरि यस्तो समय आउनेछैन । यो समयमा आफ्नो रुची भएको विषयहरु सिक्नुहोस् । आर्ट गर्ने, गीत गाउने, नाच्ने, कविता लेख्ने, कथा लेख्ने, मनपरेका पुस्तक पढ्ने, मुभी हेर्ने गर्नुहोस् । यो पललाई एक एक गरेर बाँच्नुहोस् । मिडिया ब्रेक लिनुहोस् कहिलेकाँही मिडिया ब्रत बस्नुहोस् । समाचार हेर्ने, सुन्ने, पढ्ने, सामाजिक संजाल चाहार्ने दिनको ३ छाक मात्र गर्नुहोस् । जसरी धेरै खाए चिनी पनि तितो हुन्छ, खाना पनि अजिर्ण हुन्छ, रक्सीले पनि बेहोश बनाउँछ त्यसैगरी मिडियाले पनि तनाव सिर्जना गरेर दिमाग ह्याङ गराउँछ । आफूलाई माया गर्नुहोस् हामी दोस्रो व्यक्तिलाई माया गर्दा गर्दै आफूलाई माया गर्न नै बिर्सन्छौं । याद राख्नुहोस् तपाईले आफ्नो ख्याल गरेमात्र दोस्रो व्यक्तिको पनि ख्याल गर्नसक्नुहुन्छ । सरसफाई गर्ने, धोएका सुकिला कपडा लगाउने, घाममा बस्ने, पोषिलो खाने, छिटो सुत्ने, छिटो उठ्ने गर्नुहोस् । दिनको १ घन्टा शरीरलाई दिनुहोस । शरीरले दिनको २३ घण्टा तपाइंलाई दिनेछ । अर्थात १ घण्टा व्यायाम गरेर शरीरलाई चार्ज गर्दा बाँकी २३ घन्टा शरीरले राम्रोसँग काम गर्छ । यो दुर्लभ स्वच्छ हावामा समय बिताउने अवसर नगुमाउनुहोस् सास हुनु जीवनको प्रतिक हो । प्राणायाम गर्ने, स्वच्छ हावा सेवन गर्ने, बन्द कोठामा भन्दा हावा लाग्ने ठाउँमा धेरै समय बिताउने गर्नुहोस् । यो दुर्लभ स्वच्छ हावा सेवन गर्ने अवसर नगुमाउनुहोस् । क्यामरामा यादहरु कैद गर्नुहोस् यो समयलाई तस्विरमा कैद गर्न नबिर्सिनुहोस् । तपाईले युट्युब हेरेर बनाएको नयाँ परिकारको तस्विर खिच्नुहोस, तपाईको बुवाले नाचेको भिडियो खिच्नुहोस्, खेलेको भिडियो खिच्नुहोस् । धेरै यादहरुलाई आफ्नो मोबाईलको क्यामरामा कैद गर्नुहोस् । चराको मिठो चिरबीर सुन्नुहोस् । हावाको संगीत सुन्नुहोस्, जनावरको भाषा बुझ्नुहोस्, मंगलध्वनि सुनेर कानलाई सिंचित गर्नुहोस् । रक्सी, चुरोट, सुर्ती, गुट्खा तथा ड्रग नखानुहोस् । यी पदार्थले शरीर र मनलाई धुजाधुजा पार्छन् । रोगसँग लड्ने क्षमता घटाउँछन् । गमला, करेसाबारी तथा खेतबारीमा काम गर्नुहोस् । तरकारी, फूल, फलफूल लगाउनुहोस् । किनभने माटोसँग खेल्दा असिम आनन्दबोध हुन्छ । सहयोगी, सकारात्मक तथा प्रिय व्यक्तिसँग नियमित सम्पर्कमा रहनुहोस् । हल्ला र भ्रमको पछि नलाग्नुहोस् । सही र आधिकारिक जानकारी लिने बानी गर्नुहोस् । हल्ला सबैभन्दा छिटो फैलिने सरुवा रोग हो । त्यसैले यसको सिकार नबन्नुहोस् । घरमा तथा मनमा यो समय पनि बितेर जानेछ, त्यसपछि हाम्रो जीवन पूर्ववत लयमा फर्किनेछ भन्ने मन्त्र राख्नुहोस् ।