आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली

काठमाडौं । आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आएका थिए । आमा इशाराको दुई सातापहिले मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताए । उनले भने, “इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आउनुभएको थियो, उहाँको पनि मृत्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ ।” कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लकडाउन गरेपछि खाद्यान्न मागेर तथा किनेर ल्याउन नसकेका कारण पनि ती बालबालिकालाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे हुन थालेको स्थानीयवासी बताउँछन् । सरकारी क्षेत्रबाट पाउने राहतसमेत निजहरुले पाउन सकेका छैनन् । घरमा भएको खाद्यान्नसमेत समयमै पकाएर दिने मान्छे नभएका कारण उनीहरुलाई दिनहुँ समस्या हुँदै आएको अर्का स्थानीय तेजबहादुर सिंहले बताए । उनले भने, “गाउँमा खेतीपातीको ‘सिजन’ शुरु छ, सबै मान्छे आफ्नै काममा व्यस्त छन्, ती नानीबाबुलाई खाना दिने मान्छेसमेत छैनन् ।” गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आमाको मृत्यु भएपछि बिचल्लीमा परेका ती बालबालिकालाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने भएका छन । उनले भने “आमाबुबा नभएर समस्यामा परेका नानीबाबुलाई के–कस्तो सहयोग गर्न सकिन्छ गाउँपालिका गर्न तयार छ र गर्नेछौं ।” भारतमा बेपत्ता भएका शेरबहादुरको खोजीका लागि पटक–पटक प्रयास भए पनि उहाँको अझै कहीँकतै पत्तो नलागेको अध्यक्ष डुम्रेलले जानकारी दिए । घरमा ७५ वर्षीया हजुरआमा भए पनि राम्रोसँग हिँडडुल गर्न सक्ने नभएका कारण झनै समस्या भएको पीडित बालक कर्ण थापाले बताए । उनले भने, “भाइबहिनी साना छन्, हजुरआमा हिँड्न सक्नुहुन्न, के–कसरी बाँच्ने निकै समस्यामा छौँ ।” उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर रहेको बताइएको छ । खेती गर्ने जमीन नहुँदा उनीहरुले सामाजिक सुरक्षाभत्ता र अर्काले दिएको भरमा आफ्नो जीवन निर्वाह गर्दै आएका थिए । हजुरआमाले सामाजिक सुरक्षाभत्ता पाउने भएकाले घर खर्च चल्दै आएको र पछिल्लो समय लकडाउनका कारण सामाजिक सुरक्षाभत्ता समयमै वितरण हुन नसकेका कारण झनै समस्या हुँदै आएको पीडित बालबालिकाको गुनासो छ । आमाको मृत्युसँगै आफूहरुको पढाइमा समेत बाधा पुग्ने उनले दुःखेसो पोखे । श्रीमान् बेपत्ता भएसँगै इशाराको समेत मानसिक सन्तुलन गुमेका कारण मृत्यु भएको स्थानीयवासी बताउँछन् । आमाको मृत्यु तथा बाबु बेपत्ता भएर बिचल्लीमा परेका निज बालबालिकालाई सबै नागरिकले सहयोग गर्न स्थानीयवासीले आग्रह गरेका छन् । रासस

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ । छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला भित्रिने क्रम नरोकिएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटमा सञ्चालित झोलुङ्गे पुलमा तार जालीको अग्लो बार लगाउने व्यवस्था गरिएको हो । रातको समयमा भित्रिने खोटाङे स्थानीय बासिन्दासँगै कोरोना भाइरसको सङ्क्रमणसमेत भित्रिने खतरा भएकाले हरेक राति झोलुङ्गे पुलमा फलामे तारजालीको छेकाबार लगाउन थालिएको फाक्टाङका वडाध्यक्ष भुबलराज राईले बताए । “दिनमा भित्रिने स्थानीय बासिन्दाको कम्पुघाटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर स्वस्थ रहेका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी छाड्ने गरिएको छ”, उनले भने, “दिउँसो आउँदा प्रहरीले रोक्ने डरले रातको समयमा प्रहरीलाई छलेर स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम नरोकिएपछि पुलमै ताला लगाइएको हो ।” फाक्टाङमा निर्माण गरिएको क्वारेन्टाइनमा उदयपुरबाट घर फर्किएका २३ स्थानीय बासिन्दालाई राखिएको जनाइएको छ । कम्पुघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएका प्रहरी र अहेवसहितको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेपछि मात्र स्थानीय बासिन्दालाई गाउँपालिका प्रवेश गर्न दिने गरिएको छ । उदयपुरमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित व्यक्ति भेटिएसँगै आफ्नो क्षेत्रमा फैलन नदिन उच्च सतर्कता अपनाइएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताइन्। “उदयपुरसँग हाम्रो गाउँपालिकाका स्थानीय बासिन्दाको नाता सम्बन्धसमेत जोडिएको छ”, उनले भनिन, “विभिन्न बहानामा हुने आवतजावतले फैलिन सक्ने सङ्क्रमणलाई रोक्न सिमानाको झोलुङ्गे पुलमा बेलुका ५ देखि बिहान ७ बजेसम्म मान्छेले नाघ्नै नसक्ने गरी फलामे तारजाली प्रयोग गरेर ताला लगाउने गरिएको छ ।” गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीय बासिन्दाको छिमेकी जिल्ला उदयपुरमा व्यवसायसमेत रहेको छ । उदयपुरमा अध्ययन तथा व्यवसाय गर्दै आएका खोटाङेहरु अहिले धमाधम घर फर्कने क्रम जारी छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उदयपुरबाट जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । जिल्लामा अवश्यक अधिकांश दैनिक उपभोग्य वस्तु उदयपुरबाटै भित्रिने गरेकाले उदयपुरमा कोरोना सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको भन्दै वैशाख ७ गते बसेको समितिको बैठकले नाका बन्द गर्ने निर्णय गरेको थियो । दश स्थानीय तह रहेको खोटाङमा विदेशबाट घर फर्किएका १ सय १५ स्थानीय बासिन्दाको आरडिटी तथा १५ व्यक्तिमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका १ सय १५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसिआर परीक्षण गरिएको थियो । जिल्लाका १० वटै स्थानीय तहमा गरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि विदेशबाट फर्किएर क्वारेन्टाइन बस्नेको सङ्ख्या भने न्यून देखिएको छ । रासस

कोरोना भाइरस: शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्ने सात उपाय

काठमाडाैं । कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन् । सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्। कोरोनाभाइरसविरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन् । स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र आनुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने उनीहरू बताउँछन्। शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सकिने तर एकै दिनमा त्यसो गर्न भने सम्भव नहुने उनीहरूको भनाइ छ। १. सन्तुलित र पोषणयुक्त आहार पछिल्लो समयमा कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न मसलायुक्त परिकार, लसुन र कागती खानुपर्छ भन्ने चर्चा चलेको छ। उचित मात्रामा नियमित खाँदा शरीरलाई फाइदा भए पनि तिनले भाइरस मार्ने वैज्ञानिक प्रमाण छैन । अहिले नयाँ-नयाँ परिकार बनाएर नियमितभन्दा धेरै परिमाणमा खाने गरेको देखिएको भन्दै पोषणविद् सुप्रिया भट्टराई त्यसले बेफाइदा हुने बताउँछिन् । हाम्रो शरीरमा रहेका हितकारी ब्याक्टेरिया जोगाउन तथा प्रतिरक्षाका लागि चाहिने भिटामिनयुक्त फलफूल र रेसादार सागसब्जी खानु उत्तम रहेको उनको भनाइ छ । भिटामिन सी घुलनशील हुने भएकाले शरीरमा लामो समयसम्म नटिक्ने हुनाले फलफूल र सागसब्जी नियमित खानुपर्ने विज्ञहरूको सुझाव छ । २. नियमित शारीरिक अभ्यास प्रतिरक्षा प्रणाली बलियो बनाउन शारीरिक रूपमा स्वस्थ रहन निकै आवश्यक हुन्छ। हाम्रो छाला र छालामुनिको तहमा रहेका सूक्ष्मजीवले हानिकारक जीवाणुसँग लड्छन् । हानिकारक जीवाणु यदि हाम्रो शरीरभित्र छिरे भने हाम्रो रगतमा हुने सेता रक्तकोषले तिनको प्रतिकार गर्छन् । सेता रक्तकोषहरू कम चलायमान हुने हुनाले तिनलाई चलायमान बनाउन शारीरिक व्यायाम अत्यावश्यक हुने विज्ञहरू बताउँछन्। जनस्वास्थ्यविज्ञ डा. विश्वनाथ कोइराला भन्छन्, “सेता रक्तकोष शरीरका सैनिकजस्तै हुन् र तिनलाई नियमित रूपमा सक्रिय बनाउँदा प्रतिरक्षा प्रणाली पनि बलियो बन्दै जान्छ ।” शारीरिक अभ्यास गर्दा रक्तचापसँगै सेता रक्तकोषको गति पनि बढ्ने हुँदा रोगको प्रकृति अनुसार तिनीहरुले रोग लाग्नु पहिले नै सम्भावित सङ्क्रमणको पहिचान गर्ने उनले बताए । त्यसका अतिरिक्त शारीरिक अभ्यास गर्दा शरीरको तापक्रम पनि केही बढ्ने हुनाले सङ्क्रमणसँग जुध्न तथा हानिकारक जीवाणुको वृद्धिलाई समेत नियन्त्रण गर्न सघाउने चिकित्सकहरूको भनाइ छ । ३. पर्याप्त विश्राम र निद्रा आहार र शारीरिक व्यायाम मात्र प्रतिरक्षा प्रणालीमा सुधार गर्न पर्याप्त हुँदैनन्। शरीर जैविक यन्त्र भएकाले यसलाई विश्राम पनि चाहिन्छ। कम तनाव र पर्याप्त निद्रा भए प्रतिरक्षा प्रणाली पनि चुस्त हुने विज्ञहरू बताउँछन्। डा.कोइरालाले भन्छन्, ‘शरीर सधै एउटै अवस्थामा नरहने र उमेर बढ्दै जाँदा रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउने हुनाले पर्याप्त आराम वा नियमित सुत्ने बानी बसाले प्रतिरक्षा प्रणाली पनि निकै मजबुत हुन्छ।’ त्यसका अतिरिक्त योगाभ्यास र ध्यानले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्ने विज्ञहरूको मान्यता छ। अमेरिकाको प्रतिष्ठित योग जर्नलका अनुसार योगले निरासा पैदा गर्ने हार्मोन कम गर्न र शरीरमा पैदा हुने हानिकारक पदार्थलाई बाहिर निकाल्न निकै सहयोग पुग्छ। ४. धूमपान र मद्यपान नगर्ने जनस्वास्थ्यविज्ञ डा। अर्जुन कार्कीका अनुसार मदिरा र चुरोट सेवन गर्ने मानिसको तुलनामा नगर्ने मानिसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ। उनी भन्छन्, ‘तपाईँले मदिरा वा चुरोट सेवन गर्नुहुन्छ भने तत्काल छाड्नुहोस् वा कम गर्दै जानुहोस्। त्यसो गर्नुभयो भने आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो बन्दै गएको आफैँ अनुभव गर्न सकिन्छ।’ धूमपान र मद्यपान गर्ने मानिस र तीमध्ये पनि प्रौढ व्यक्तिमा धेरै सङ्क्रमक हुने सम्भावना धेरै हुने अध्ययनहरूले देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष संसारभरि चुरोट र सूर्तीजन्य पदार्थको सेवनका कारण सरदर ८० लाख मानिस र रक्सी सेवनका कारणले ३० लाख बढी मानिसको ज्यान जाने गरेको छ। ५. रचनात्मक बन्ने धेरै मानिस फुर्सद नभएकाले रचनात्मक बन्न नसकेको बताउँछन्। तर रचनात्मक वा सिर्जनात्मक बन्न सकेमा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास हुने डा. कोइरालाको भनाइ छ। चिकित्सकहरूका अनुसार सृजनात्मक कृयाकलापमा सहभागि हुँदा प्राप्त हुने खुसीले निराशा र एक्लोपनाको भावना कम गर्दछ ।डा.कोइरालाले भन्छन्, ‘फुर्सदको समय छ भन्दै एकै ठाउँमा बसिरहने गर्दा निराशाजस्ता मानसिक रोगको विकास हुन्छ।’ बगैँचामा काम गर्ने, चित्र वा अन्य कला बनाउने, घर सजाउने वा कथाकविता लेख्ने लगायतका काम गर्न उनको सुझाव छ। ६. उच्च मनोबल डा. कोइरालाका अनुसार धेरै मानिस आफ्नो उच्च मनोबलका कारणले गर्दा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास गरेको उदाहरणहरू प्रशस्त छन्। कोरोनाभाइरसले उमेरका हिसावले तुलनात्मक रूपमा वृद्धवृद्धाहरूको ठूलो सङ्ख्यामा ज्यान लिएको छ। तर केहीले भने उच्च मनोबलका कारण सङ्क्रमण भएरपनि त्यसमाथि विजयी प्राप्त गरेका घटना छन्। तीमध्ये एक बाग्लुङ नगरपालिकाकी मनकुमारी पौडेल हुन् जसले आफूमा उच्च मनोबल रहेका कारण कोरोनाभाइरसलाई पराजित गरेको बताएकी थिइन्। ७. रोग र खोप शरीरमा हुने हितकारी सूक्ष्मजीवले बाह्य आक्रमणकारी जीवाणुसँग सङ्घर्ष गरेर सङक्रमण हुन दिँदैनन्। तर श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, बाथ र मधुमेहजस्ता रोग लागेका व्यक्तिहरूमा भने यस्ता हितकारी जीवाणु तुलनात्मक रूपमा कम हुन्छन्। एन्टीबायोटिक खाएका मानिसमा हितकारी जीव पनि मर्छन्। तसर्थ पाका र दीर्घरोग भएका मानिसमा जोखिम बढी हुने हुनाले प्रतिरक्षा प्रणालीलाई सबल राख्न विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। त्यसका अतिरिक्त नियमित खोप लिँदा केही रोगसँग लड्ने क्षमता बलियो बनाउन सकिने डा. कार्कीको सुझाव छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न वा अपाङ्गताबाट बचाउन र गम्भीर रोग लाग्न नदिन बालबालिकालाई निर्धारित मात्रामा खोप दिने गरिन्छ। हाल नेपालमा भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस ‘बी’,धनुष्टङ्कार, निमोनिया, र दादुरा-रुबेला रोगबाट बचाउन खोप दिने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। (बीबीसी न्यूज नेपालीबाट साभार)